काठमाडौँ, साउन ३ गते । गत वर्ष साउन ९ गते भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई कम्पनी दुवैको कमजोरी देखिएको छ ।
सरकारले जहाज दुर्घटनालगत्तै बनाएको जाँचबुझ आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको अन्तिम प्रतिवेदनले दुर्घटनामा सौर्य एयरलाइन्स र प्राधिकरणको कमजोरी औँल्याएको हो ।
दुर्घटनाको विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि तयार पारिएको प्रतिवेदनले सी चेकका लागि पोखरा उड्न लागेको जहाजमा पाइलट र कोपाइलटबाहेकलाई उडान अनुमति दिनु, प्राधिकरणको निरीक्षण क्षमतामा मानव संसाधनको कमी र प्रभावकारी अनुगमन तथा नियमनकारी कार्यमा कमजोरी रहेको औँल्याएको छ ।
त्यस्तै जहाजमा तौलको सन्तुलन नमिलाइएको, जहाजले तौल अनुसार उडानका बेला गति नलिएको, जहाजमा सामान राख्दा ती सामानलाई यताउता नसर्ने गरी बाँध्नुपर्ने मापदण्ड पूरा नगरेको, दुर्घटना हुनुभन्दा पहिले ३४ दिनसम्म जहाज ग्राउन्डेड अवस्थामा रहेकोलगायतका कमजोरी प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले हतारमा उडानको तयारी गर्नु, प्राधिकरणले जहाजभित्र लुब्रिकेन्ट र कन्ट्याक्ट क्लिनर जस्ता ज्वलनशील पदार्थ बोकेर उडान भर्न अनुमति दिनु, दुर्घटनास्थलमा रहेका प्रमाणलाई सौर्य एयरलायन्सको कार्यालयमा पुर्याउनु प्रमाण नष्ट गर्नेसम्मको लापरबाही भएको निष्कर्ष निकाल्दै सुरक्षाका लागि सबै वायुसेवा प्रदायक कम्पनीलाई तत्काल आफ्ना स्पिड कार्ड र चार्टको समीक्षा गर्न सुझाव दिएको छ ।
जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले हस्तान्तरण गरेको उक्त प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले कुनै पनि पूर्वाग्रह वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालयले त्यसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रै भएको दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । उक्त दुर्घटनामा क्याप्टेन मनिष शाक्य भने बाँच्न सफल हुनुभएको थियो । जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सौर्य एयरको उक्त विमान मर्मतका लागि पोखरा उडेको थियो ।