• १३ कात्तिक २०८२, बिहिबार

हिमाली भेगमा अलपत्र दुई हजार पर्यटकको उद्धार

blog

काठमाडौँ, कात्तिक १३ गते । वर्षा र हिमपातका कारण देशका हिमाली भेगमा अलपत्र परेका करिब दुई हजार आन्तरिक तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । 

पदयात्राको मुख्य सिजनमै भएको भारी हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाका उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा अलपत्र परेका स्थानीय, आन्तरिक र बाह्य पर्यटक गरी बुधबारसम्म एक हजार पाँच सय जना स्थानीय र आन्तरिक पर्यटक तथा दुई सयभन्दा बढी विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको हो । हिउँमा फसेका केही पर्यटकको उद्धार जारी छ । 

मनसुनजन्य विपत्का बेला राज्य संयन्त्र तत्काल उद्धार कार्यमा खटिँदा मनाङबाट सबैभन्दा बढी पर्यटकको उद्धार गरिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार बुधबारसम्म मनाङका तिलिचो, खाङ्गसार, पिसाङ्ग, उपल्लो मनाङलगायत क्षेत्रमा अलपत्र परेका सबै पर्यटकको उद्धार सम्पन्न भएको छ ।

उहाँले भन्नुभयो, “तिलिचो, उपल्लो मनाङलगायत ठाउँमा उद्धारको पर्खाइमा रहेका एक हजार पाँच सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटकको उद्धार गरिएको छ । उपल्लो क्षेत्रका हरेक होटलमा सोधपुछ र चेकजाँच गरेर पर्यटकको उद्धार गरिएको हो । अहिले उपल्लो क्षेत्रमा आफ्नै खुसीले बसेका केही पर्यटक र स्थानीयबाहेक अरू सबैको उद्धार गरिएको छ । उद्धार गरिएका पर्यटक बुधबार चामे, बेँसीसहरलगायत गन्तव्यमा पुगिसकेका छन् ।” 

हिमपातका कारण बाटो अवरुद्ध भएपछि जिल्लामा सवारीको समेत अभाव भएको जनाउँदै उहाँले मनाङबाट सकुशल पर्यटकलाई १५ वटा जिप र दुई वटा बसबाट गन्तव्यतर्फ पठाइएको उहाँले जानकारी दिनुभयो । मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार सफल भएको उहाँले बताउनुभयो ।

उद्धारमा संयुक्त टोली

हिमपातका कारण म्याग्दीको धौलागिरि सर्किट हुँदै मुस्ताङ जाँदै गरेका पर्यटकको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले धौलागिरि चक्रीय पदमार्गको हिँड्न भ्यालीमा रोकिएका तीन जना विदेशी र १२ जना नेपाली नागरिकको उद्धारका लागि टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिमपातका कारण बाटो बन्द भएपछि हिँड्न भ्यालीमा अलपत्र १५ जनाको उद्धार सुरु भएको छ । उद्धारको पर्खाइमा रहेका सबै पर्यटक सकुशल छन् । उहाँहरूको उद्धारमा खटिएको टोलीले मुस्ताङको लेकखर्कमा अलपत्र अवस्थामा भेटिएका सात जना जापानी र पाँच जना नेपालीको पनि उद्धार गरेको छ ।”

म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ जना नेपाली र तीन जना बेलायती पर्यटक सो भ्यालीमा रोकिएका हुन् । सेनाले उनीहरूको बिहीबार उद्धार गर्ने तयारी गरेको छ ।

२५० भन्दा बढीको स्वास्थ्य परीक्षण

सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङले २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ, जसमा ९० जना महिला र ६० जना पुरुषको अक्सिजन लेभल र ६० जना महिला र ४० जना पुरुषको रक्तचाप परीक्षण गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण गरिएकाहरूमा रिँगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासलगायतका समस्या देखिएको थियो । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उत्तरी गोरखामा उद्धार समस्या 

उत्तरी गोरखा र चीनको सिमानामा रहेको पाङबारी हिमाल आरोहणका क्रममा तीन जना इटालेली नागरिक र तीन जना नेपाली पर्वतारोहीलाई उद्धार गर्न कठिन भएको छ । पर्वतरोहणका लागि गएको छ जनाको टोलीसँग सोमबार बेलुकादेखि सम्पर्क हुन नसकेपछि उद्धार गर्न कठिन भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । सम्पर्कविहीन भएका टोली ११ दिनअघि पातबारी हिमालको आधार शिविरतर्फ प्रस्थान गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरू निर्धारित मितिमा आधार शिविर फर्कनुपर्नेमा हालसम्म स्याटेलाइट फोनले काम नगरेका कारण वा अन्य कारणले सम्पर्क हुन नसकेको हो । त्यसबारे बुझ्ने कोसिस भइरहेको छ ।”

पर्वतारोही टोलीको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा रहे पनि मौसम खराबीका कारण उडान भर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।