• १७ भदौ २०८२, मङ्गलबार

दस वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क

blog

काठमाडौँ, भदौ १७ गते । सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ । पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका हिमाल आरोहण अनुमति लिन सोमबारदेखि नयाँ कायम गरिएको शुल्क बुझाउनुपर्ने छ ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०५९ अनुसार सोमबारदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ सलामी दस्तुर लागु भएको छ । जस अनुसार सगरमाथा र अन्य हिमालमा याम अनुसार फरक फरक आरोहण शुल्क तोकिएको छ ।” 

सरकारले राजस्व बढाउन, हिमाल आरोहणमा बढेको भिड नियन्त्रण गर्न वा प्रदूषण नियन्त्रणका लागि उक्त व्यवस्था नगरेको बताउँदै उहाँले आरोहणलाई व्यवस्थित बनाउन एक दशकपछि उचाइ अनुसार आरोहण शुल्क बढेको जानकारी दिनुभयो ।

सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क एक दशकपछि परिवर्तन भएको उहाँले बताउनुभयो ।

बढाइएको शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्तयाममा सगरमाथाको नियमित मार्ग (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्ने छ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर बुझाउनुपर्ने छ । हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिने गरिएको थियो ।

त्यस्तै सगरमाथाको दक्षिणपूर्वी मार्गबाहेक अन्यतिरबाट आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर तथा वर्षा ऋतुको दुई हजार पाँच सय डलर बुझाउनुपर्ने छ ।

त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपियाँ बुझाउनुपर्ने छ । शरद ऋतुमा ७५ हजार रुपियाँ र बाँकी याममा ३५ हजार रुपियाँ कायम गरिएको छ ।     

सगरमाथाबाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार पाँच सय र ७५० डलर शुल्क निर्धारण गरिएको छ । हालसम्म यस्तो शुल्क एक हजार आठ सय, नौ सय र ४५० डलर रहेको छ । त्यस्तै सात हजार ५०१ देखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहणका लागि एक हजार, पाँच सय र २५० अमेरिकी डलर तोकिएको छ । हालसम्म यो दर छ सय, तीन सय र १५० अमेरिकी डलर रहेको छ ।

विभागका अनुसार सात हजारदेखि सात हजार पाँच सय मिटरसम्म उचाइ भएका हिमाल आरोहण गर्न आठ सय, चार सय र दुई सय डलर पु¥याइएको छ । हाल यो उचाइको हिमाल चढ्न पाँच सय, २५० र १२५ डलर लाग्दै आएको छ । 

त्यस्तै छ हजार ५०१ देखि छ हजार ९९९ मिटरसम्मका लागि पाँच सय, २५० र दुई सय अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । अहिले ती हिमाल आरोहण गर्न चार सय, दुई सय र एक सय अमेरिकी डलर लाग्ने गरेको छ । छ हजार पाँच सय मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पु¥याइएको छ । हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर रहँदै आएको थियो ।

 

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।