• १० फागुन २०८१, शनिबार

युरोपमा बनेका वायुयान आयातमा नियन्त्रण

blog

काठमाडौँ, फागुन १० गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपमा बनेका हेलिकोप्टर र जहाज आयातमा नियन्त्रण सुरु गरेको छ । 

हालसम्म नेपालमा भएका हवाई दुर्घटनामध्ये अधिकांश दुर्घटना युरोपमा बनेका जहाजबाट भएको भन्दै प्राधिकरणले तत्कालका लागि युरोपबाट आयात हुँदै आएका एयरबस कम्पनीका वायुयान आयातमा नियन्त्रण सुरु गरेको हो ।

नेपालमा ल्याइने अधिकांश जहाज र हेलिकोप्टर युरोपेली युनियन (इयु) अन्तर्गतका कम्पनीका छन् । इयुले नेपाली आकाशलाई विगत एक दशकदेखि कालो सूचीमा यथावत् राखेपछि प्राधिकरणले तत्कालका लागि एयरबसका जहाज र हेलिकोप्टर आयातमा नियन्त्रण गर्न थालेको जनाएको छ । तर उक्त निर्णयले आधिकारिकता भने पाइसकेको छैन ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “अहिले नेपालमा रहेका ३४ हेलिकोप्टरमध्ये ३० वटा युरोपियन कम्पनीका छन् । त्यस्तै जहाजमा पनि अधिकांश एयरबस कम्पनीकै जहाज रहेकाले बोइङलगायत अन्य कम्पनीका जहाज भिœयाउन तत्कालका लागि एयरबसबाट वायुयान भिœयाउन लागेको माउन्टेन एयरको अनुमति रोकेका हौँ ।”

प्राधिकरणले यसअघि अन्नपूर्ण, अल्टिच्युड एयर र एयर डाइनेस्टीले युरोपेली कम्पनी एयरबसबाट ल्याउन लागेका हेलिकोप्टरलाई रोकेको थियो । हालसम्म भएका घटना र दुर्घटनाको अध्ययन गर्दा एयरबसका उत्पादनमा इन्डिकेटर, ल्यान्डिङ गेयरलगायतका प्राविधिक समस्या देखिन थालेपछि सुरक्षित हवाई सेवाका लागि अन्य कम्पनीका जहाज खरिदलाई प्रोत्साहन गर्न लागिएको उहाँले बताउनुभयो । 

बजार प्रतिस्पर्धाका लागि सबै हेलिकोप्टर कम्पनीले एयरबसकै हेलिकोप्टर ल्याउन लागेको र एयरलाइन्सले पनि एटिआर जहाज ल्याउने प्रतिस्पर्धा गर्न लागेपछि एयरबसभन्दा बोइङलगायतका कम्पनीका जहाज भिœयाउन हवाई कम्पनीसमेत तयार रहेको उहाँले प्रस्ट पार्नुभयो । 

प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घबिच शुव्रmबार भएको बैठकमा इयुले नेपाललाई अझै कालो सूचीमा निरन्तरता दिए नेपालको भूगोल सुहाउँदो वायुयानको पहिचान गरी वायुयान खरिद, मर्मतका लागि वैकल्पिक खोल्नेबारे छलफल भएको छ ।

इयुले नेपालको उड्डयन क्षेत्रलाई विगत एक दशकदेखि कालो सूचीमा राख्दै आएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले कालो सूचीबाट हटाउँदासमेत इयुले हटाउन मानेको छैन ।

प्राधिकरण स्रोतका अनुसार नेपालको हवाई उड्डयन सुरक्षामा सन् २०१३ अगाडिको अवस्थाबाट सुधार भइसक्दा र पटक पटक कालो सूचीबाट हटाउन गरेको आग्रहलाई इयुले बेवास्ता गरेपछि प्राधिकरणले युरोपेली वायुसेवालाई नेपालमा नियन्त्रण गर्ने नीति लिएको देखिन्छ । 

सकारले प्राधिकरणलाई टुक्य्राएर नियामक र सेवाप्रदायक छुट्टाछुट्टै बनाउने गरी दुई वटा विधेयक प्रतिनिधि सभामा पेस गरिसकेको छ ।

इयुले पनि हालको प्राधिकरणले गर्दै आएको सेवाप्रदायक कार्य नेपाल हवाई सेवा प्राधिकरण र नियमनको कार्य नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने गरी छुट्टाछुट्टै दुई वटा संस्थाको व्यवस्था गर्न सर्त राख्दै आएको थियो ।

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।