काठमाडौँ, वैशाख २० गते । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि आयोगले मतपत्र छपाइको काम लगभग सकेको छ । विगतको तुलनामा यस पटकको मतपत्र निकै ठूलो आकारको हुने भएको छ । के हो मतपत्र ?
नागरिकले स्वतन्त्र रूपमा आफ्नो प्रतिनिधि छान्न पाउने अधिकारको प्रयोग गर्ने माध्यम निर्वाचन हो । त्यसका लागि व्यक्तिले मत जाहेर गर्छ । मतदान गर्न मतपत्र प्रयोग गरिन्छ । आफ्नो रोजाइको प्रतिनिधि चयन गर्न साङ्केतिक रूपमा उम्मेदवारको चिह्न अङ्कित कागज मतपत्र हो ।
मतपत्रको डिजाइन र मतपत्रमा रहने चुनाव चिह्न जति कम भयो मतदान गर्न त्यत्ति नै सहज हुन्छ । मतपत्र र त्यसपछिका जटिलता तथा प्रविधिको विकास दुवैका कारण कागजको मतपत्रलाई विद्युतीय मतदान उपकरण (इभीएम)ले विस्थापित गर्दै छ । यद्यपि कागजको मतपत्रझैँ इभीएममा पनि उम्मेदवारको चुनाव चिह्न अङ्कित हुन्छ ।
नेपालमा प्रजातान्त्रिक निर्वाचन पद्धतिको प्रयोग हुनुपूर्व परम्परागत रूपले नेतृत्व चयन गर्ने प्रणाली प्रचलनमा थियो । २००४ साल जेठ २९ गते भएको स्थानीय निकायअन्तर्गत काठमाडौँ म्युनिसिपिलिटीको निर्वाचन पहिलो स्थानीय निर्वाचन हो ।
मतपत्रको सुरुवात
अमेरिकामा सबैभन्दा पहिले सन् १६२९ मा मासाच्युसेटको बेय कोलोनीमा चर्चको प्रमुख (पास्टर) चयन गर्न कागजको मतपत्रको प्रयोग गरिएको थियो तर त्यसको करिब २५० वर्षपछि मात्रै जनप्रतिनिधि चयनका लागि निर्वाचनमा मतपत्रको प्रयोग सुरु भएको हो ।
बीचको अवधिमा भने दलले आफैँ मतपत्र (ब्यालेट) प्रकाशन गरी मतदातालाई दिने गर्दथे । मतदाताले घरबाटै मतपत्र बोकेर मतदान गर्थे । दलले आफ्नो इच्छाअनुसारको रङको मतपत्र डिजाइन गर्थे ।
तर उक्त प्रक्रिया झन्झटिलो र अविश्वासिलो हुँदा सन् १८५८ मा अस्ट्रेलियामा नयाँ मतपत्रको डिजाइन गरियो । अब भने मतदाताले दलले दिएको मतपत्रबाट मतदान गर्ने नभई सरकारी अधिकारीले नै मतपत्र दिने व्यवस्था गरियो । प्रत्येक मतदातालाई मतदान स्थलमा एकै आकार–प्रकार र रङका एक–एकवटा मतपत्र दिइन्थ्यो । पछि मतपत्रको लोकप्रियता बढ्न गई सन् १८७० मा बेलायतमा र सन् १८८८ मा संयुक्त राज्य अमेरिकामा अस्ट्रेलियाली डिजाइनको मतपत्रको प्रयोग सुरु गरियो ।
नेपालमा मतपत्र
२००४ जेठ २९ गते भएको पहिलो स्थानीय निर्वाचनअन्तर्गत काठमाडौँमा पहिलो पटक मतपत्रको प्रयोग गरिएको हो । उक्त मतपत्र मतदानको अघिल्लो दिन नै परिवारका पुरुष मतदाताको सङ्ख्याबमोजिम घर–घरमै दिइएको थियो । उक्त मतदानमा उम्मेदवारअनुसार अलग–अलग रङको ढ्वाङ छुट्याइएको र मतपेटिका खुला ठाउँमा राखिएकाले कसले कुन मतपेटिकामा मतपत्र खसाल्यो छर्लङ्ग देखिन्थ्यो ।
मतदानमा ६८ हजार ११८ मतदाता रहेकामा सोभन्दा बढी सङ्ख्यामा मतपत्र छापिएको अनुमान गरिएको छ । काठमाडौँमा २१ ब्लक विभाजन गरी मतदान गरिएकोमा चारवटा ब्लकमा एकल उम्मेदवारी परेकाले १७ प्रकारको अलग–अलग मतपत्र प्रयोगमा ल्याइएको थियो ।
स्थानीय निर्वाचनको सुरुवात
२००४ मा निर्वाचित प्रतिनिधिको म्याद २००७ मा सकिएपछि वि.सं. २०१० मा काठमाडौँ नगरपालिकाको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा २१ वडाबाट घटाएर १८ वडा कायम गरियो । भदौ १७ गते भएको मतदानमा महिलालाई पहिलोपटक मताधिकार प्रयोग गर्ने र उम्मेदवार हुने अवसर दिइयो । उक्त मतदानमा मतदातालाई एक–एक जनाका हिसाबले वडा नं. उल्लेखित मतपत्र दिइएको थियो ।
उम्मेदवारले आफूलाई मनपरेको चुनाव चिह्न रोज्न पाउने व्यवस्था थियो । उक्त निर्वाचनमा ५६ हजार मतदाता थिए । पाँच दलका सहित स्वतन्त्र गरेर ७३ जनाले उम्मेदवारी दिएका थिए ।
त्यसपछि काठमाडौँ नगरको निर्वाचन २०१४ साल माघ ७ गते भएको थियो । उक्त साल नै नेपालका अन्य नगरपालिका भद्रपुर, तानसेन र विराटनगरमा समेत निर्वाचन भएको थियो । मतपत्र पनि विगतको झैँ प्रयोग गरिएको थियो ।
२०१८ सालमा भएको गाउँ पञ्चायतको चुनावमा भने मतपत्र प्रयोग गरिएन । मतदातालाई एउटा बन्द कोठामा राखेर हात उठाउन लगाएर पक्ष वा विपक्षमा खसेको मत गणना गरिएको थियो । यस प्रकारको मतदानमा गोपनीयता कायम नभएको र अव्यवस्थित देखिएकाले गाउँ पञ्चायन ऐन, २०१८ खारेज गरी गाउँ पञ्चायत ऐन, २०२० लागू गरियो ।
जसमा निर्वाचन प्रक्रियामा सुधार गरी मतदाताको गोप्य मतदान गर्न पाउने तथा एक पटकमा एक जना मतदाता मात्रै मतपेटिका भएको कोठामा गएर मतदानपत्र खसाल्ने प्रक्रिया अपनाइएको थियो । उक्त निर्वाचनमै प्रधानपञ्च र उपप्रधानपञ्चका लागि मतपत्रको ढाँचा तयार गरियो । उम्मेदवारको नाम वर्णानुक्रमले राख्ने व्यवस्था गरी नामका अगाडि रेजा लगाउने प्रकारले मतपत्र डिजाइन गरिएको थियो ।
गाउँ पञ्चायत निर्वाचन, २०३१
स्थानीय निकाय निर्वाचन गर्ने पद्धतिमा व्यापक फेरबदल गरी प्रत्यक्ष निर्वाचन पद्धति नअपनाई अप्रत्यक्ष प्रणाली अपनाएर जनप्रतिनिधि छनोट गर्ने व्यवस्था गरियो । उक्त व्यवस्थाबमोजिम देशभरि चार चरणमा सम्पन्न भएको निर्वाचनको पहिलो चरणमा उम्मेदवारले रङ छान्ने व्यवस्था थियो भने दोस्रो चरणमा चुनाव चिह्न छान्ने व्यवस्था लागू गरियो । र, यसरी विभिन्न चिह्न अङ्कित एउटै मतपत्रको सुरुवात भयो ।
गाउँ विकास समिति निर्वाचन, २०४९
२०४७ सालमा संविधान जारी भई स्थानीय निकाय गठन तथा निर्वाचनसम्बन्धी ऐन नियम जारी भए । पूर्वमा कायम रहेको चार हजार १५ पञ्चायतको सङ्ख्या घटाएर तीन हजार ९९५ कायम गरियो । ३३ नगर पञ्चायतलाई बढाएर ३६ नगरपालिका कायम गरियो । दुई चरणमा निर्वाचन भएकोमा पहिलो चरणको निर्वाचन २०४९ साल जेठ १५ गते दुई हजार ३० गाविस र ११ नगरपालिकाको मतदान सम्पन्न भयो । जेठ १८ गते १९६५ गाविस र २५ नगरपालिकाको चुनाव सम्पन्न भयो ।
गाविस÷नगरपालिकाको निर्वाचनमा मतदाताले तीन पदका लागि एउटै मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा मतदान गर्नुपर्दथ्यो ।
२०४९ को स्थानीय चुनावमा प्रयोग गरिएको मतपत्र ।
गाविसका लागि १४ र नगरपालिकाका लागि १३ चुनाव चिह्नसहितको मतपत्र व्यवस्था गरियो ।
एक करोड २० लाख मतदाता रहेको उक्त निर्वाचनमा तीन लाख ५० हजार मतदाता रहेका थिए । गाविसमा ४३ हजार ९४५ र नगरपालिकामा ५९३ गरी कुल ४४ हजार ५३९ पदमा निर्वाचन भयो । उक्त चुनावमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा, सद्भावना, संयुक्त जनमोर्चा गरी पाँच राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारले भाग लिएका थिए ।
गाउँ विकास समिति निर्वाचन, २०५४
स्थानीय निर्वाचन २०५४ मा प्रयोग गरिएका मतपत्र ।
स्थानीय निर्वाचन, २०५४ पूर्व अध्यादेश जारी गरी गाविस गठन प्रक्रियामा परिवर्तन गरियो । जसमा प्रत्येक वडामा एक वडाध्यक्ष र एक महिला सदस्य गरी चार जना वडा सदस्य रहने व्यवस्था गरियो । तीन हजार ९१३ गाविस र ५८ नगरपालिका कायम गरियो ।
पहिलो चरणको मतदान जेठ ४ गते र दोस्रो चरणको मतदान जेठ १३ गते भएको थियो । उक्त निर्वाचनमा एक करोड २५ लाख ३८ हजार २७३ मतदाता थिए । गाविसको निर्वाचनमा दश लहरको मतपत्र प्रयोग गरिएको थियो । जसमा चार राजनीतिक दलले भाग लिएका थिए ।
नगरपालिकाको निर्वाचनमा भने १४ लहरका मतपत्र प्रयोग गरिएकोमा चार राजनीतिक दल र बाँकी स्वतन्त्र उम्मेदवारका लागि छुट्याइएको थियो । स्वतन्त्र उम्मेदवारका लागि षटकोण, झाडु, कोदालो, बन्चरो, गाग्री, ढाकाटोपी लगाएका पुरुष, कैँची, टेलिफोनलगायतका चुनाव चिह्न थिए ।
स्थानीय निर्वाचन, २०७४
स्थानीय निर्वाचन, २०७४ तीन चरणमा सम्पन्न भएको थियो । उक्त निर्वाचनमा कुल ८० वटा राजनीतिक दल आयोगमा दर्ता भएकामा ५७ वटा दल मात्रै स्थानीय निर्वाचनमा भाग लिएका थिए । देशभरि छ आकारका मतपत्र प्रयोगमा थिए ।
पहिलो चरणको मतदान २०७४ वैशाख ३१ गते ३४ जिल्लाका २८३ पालिकामा सम्पन्न भएको थियो भने असार १४ गते ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान भयो । तेस्रो तथा अन्तिम चरणमा असोज २ गते आठ जिल्लाका १३६ स्थानीय तहमा मतदान भएको थियो ।
उक्त निर्वाचनमा एक लाख ५१ हजार २०१ जनाले मनोनयन दर्ता गराएकोमा दुई हजार ७२३ जनाले मनोनयन फिर्ता लिएका थिए । ३५ हजार २२१ पदमा निर्वाचित हुनुपर्ने भए पनि दलित महिला सदस्यको १७६ पद रिक्त हुन पुगेको थियो ।
स्थानीय निर्वाचन, २०७४ मा मतदानका लागि योग्य मतदाताको सङ्ख्या एक करोड ४० लाख ७२ हजार ४२४ थियो ।
स्थानीय निर्वाचन, २०७९
स्थानीय निर्वाचन, २०७९ वैशाख ३० गते हुँदै छ । गएको निर्वाचनदेखि उम्मेदवारको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुँदा निर्वाचन आयोगलाई मतपत्रको डिजाइन र मतपत्र छाप्ने कार्यसमेत पेचिलो बन्दै गएको छ ।
दलको सङ्ख्या बढ्दा सोहीबमोजिम मतपत्रमा चुनाव चिह्नसमेत थप्नुपर्ने हुँदा विगतको भन्दा मतपत्रको आकार ठूलो भएको छ । अनुमानकै भरमा आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुअघि नै मतपत्र छापिसकेको हुनाले करिब दश जिल्लाका केही स्थानीय तहको मतपत्र फेरि छाप्नुपर्ने देखिएको छ ।
वि.सं. २०५४ पछि निर्वाचनमा भाग लिने दलको सङ्ख्या दस गुणाले बढेको छ । आयोगले यसअघि छापेर पठाएको मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न अटाउन नसक्ने भएको छ । जसले गर्दा जिल्ला र पालिकाअनुसार नै मतपत्रको डिजाइन फरक हुने र आठ जिल्लाको पालिकामा प्रयोग हुने मतपत्र पुनः छाप्नुपर्ने देखिन्छ । निर्वाचन आयोगले मतपत्र छपाइ झन्झटिलो हुँदै जाँदा परम्परागत मतपत्र प्रयोग नगरी विद्युतीय मतदान उपकरणको प्रयोगमा जोड दिएको छ ।
स्थानीय चुनाव, २०७९ मा प्रयोग हुने मतपत्र २३ समूहमा ७७ प्रकारका छन् । आयोगले यसअघि निर्णय गरेबमोजिम मतपत्र सेतो कागजमा हरियो चुनाव चिह्नसहितको हुनेछ । मतपत्रमा न्यूनतम १६ र अधिकतम ५६ चुनाव चिह्न रहनेछन् ।
आयोगले स्वीकृत गरेको मतदाताको अन्तिम नामावलीबमोजिम एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता स्थानीय चुनावमा मतदानमा भाग लिन पाउनेछन् । जुन स्थानीय चुनाव २०७४ को भन्दा करिब ३६ लाखले बढी हो । स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि करिब एक लाख ४५ हजारभन्दा बढी उम्मेदवार छन् ।