• २ कात्तिक २०८२, आइतबार

३० वर्षमा प्रकोपको सङ्ख्यामा तीन गुणाले वृद्धि

blog

कार्यक्रमका सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज ३१ गते । विगत ३० वर्षमा मौसमसँग सम्बन्धित प्रकोप तीन गुणाले वृद्धि भएको छ । मानव अधिकार आयोग र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँमा आयोजित अपाङ्गता र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनमा सो प्रतिवेदन प्रस्तुत गरिएको हो । 

मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले कार्यक्रममा अन्तरक्रिया र छलफलपछिको निश्कर्ष सार्वजनिक गर्नुहुँदै विश्वव्यापी औसत तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले वृद्धि भइरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । 

खरेलले भन्नुभयो, “जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट सम्पूर्ण विश्व र मानव जीवन प्रत्यक्ष रुपमा प्रभावित भइरहेको छ । विश्वव्यापी औसत तापक्रम  १ दशमलव १ डिग्री सेल्सियसले बढिरहेको छ। तापक्रम १.५ डिग्री सेल्सियस्भन्दा बढी भयो भने स्वास्थ्य जीवन, उपार्जन, खाद्य सुरक्षा, परिस्थितिजन्य जोखिम तीव्र रुपमा बढ्नेछ।”

उहाँले विगत ३० वर्षमा जलवायु परिवर्तनको असरका कारण गर्मीको लहर, बाढी र खडेरीलाई गम्भीर बनाउँदै लगेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले २०३० र २०५० को बिचमा गर्मीको तनाव, कुपोषण, मलेरिया र झाडा पखलाबाट प्रतिवर्ष थप दुई लाख ५० हजारको मृत्यु निम्त्याउने अनुमान छ । सन् २०५० सम्ममा जलवायु परिवर्तनले थप दश करोड मानिसलाई गरिबीमा धकेलिने र त्यसको मूख्य कारण बालीनाली र खाद्य सुरक्षा रहनेछ ।”

उहाँले पृथ्वी र मानव जीवन बचाउन हालको विश्वव्यापी विकासको लक्ष्यले वातावरण जोगाउन दृढपूर्ण मान्यता दिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला महासंघका सल्लाहकार प्रतिमा गुरुङलगायत विषय विज्ञहरुले धारणा राख्नुभयो ।