• ३१ असोज २०८२, शुक्रबार

गोरखापत्र संस्थानको जनशक्तिलाई दक्ष बनाउन गर्दै–सिक्दै शृङ्खला

blog

गर्दै–सिक्दै शृङ्खलामा सहजीकरण गर्नुभएका विमलमान श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नुहुँदै महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिरः मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ३१ गते । गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीहरुका लागि आयोजना हुँदै आएको ‘गोरखापत्र : गर्दै–सिक्दै’ शृङ्खला आज पुनः आयोजना गरिएको छ । 

संस्थानका पत्रकार तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा समय अनुसारको ज्ञान र सीपमा अपडेट गराउन सो कार्यक्रमको आयोजना गर्ने गरिएको छ । आज ‘साइवर सुरक्षाका लागि डिजिटल साक्षरता’ शीर्षकमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका बिमलमान श्रेष्ठले सो बारेमा सहजीकरण गर्नुभयो । इन्टरनेटमार्फत हुने काम, अवसर र सुविधासँगै त्यसको चुनौतीबारे उहाँले जानकारी गराउनु भएको थियो । इन्टरनेटमार्फत व्यक्ति र संस्थाको डाटा सुरक्षा गर्नेबारे उहाँले सचेतनामूलक प्रस्तुति गर्नुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानमा कार्यरत जनशक्तिको क्षमता, सीप विकास वृद्धि गर्न ‘गर्दै–सिक्दै’ शृङ्खला जारी राखिएको बताउनुभयो । जनशक्तिको सीप र क्षमता वृद्धिविना संस्थानको कामलाई चुस्त बनाउन नसकिने भन्दै उहाँले समयअनुकूल कर्मचारीलाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो ।


इन्टरनेटमा आधारित सफ्टवयेर सञ्चालनको ज्ञान वृद्धि गर्न सके काममा सहज हुने भए पनि सँगसँगै चुनौती थपिँदै गएको र त्यसबाट बच्न के के विषयमा सावधानी अपनाउनुपर्छ भन्नेमा कार्यक्रममले सयहोग गरेको उहाँले बताउनुभयो । हरेक व्यक्तिको आफ्नो व्यक्तिगत र कार्यालयको डाटाहरु सञ्चालनमा रहेको र त्यसको सुरक्षाको प्रमुख चुनौती रहेकाले सुरक्षाबारे ज्ञान राख्नु अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो । 

डिजिटल शिक्षामा नेपालीहरु निकै कमजोर अवस्थामा रहेकाले त्यसबारेको ज्ञान समयअनुकुल सिक्दै र सिकाउँदै जानुपर्ने महाप्रबन्धक ऐरीले बताउनुभयो । संस्थानका कर्मचारी प्राविधिक रुपले दक्ष बनेमा हरेक काम गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यो शृङ्खला जारी राख्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । 


सो अवसरमा गोरखापत्र दैनिकको सम्पादकीय टोली, राइजिङ नेपालका सम्पादकीय टोली, गोरखापत्र अनलाइन विभागीय टोली, राइजिङनेपाल डेली डटकमका विभागीय टोली, संस्थानका विभागीय प्रमुख, शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो । 

कार्यक्रमको अन्त्यमा महाप्रबन्धक ऐरी र गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेतले सहजकर्ता श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।