• ३ साउन २०८१, बिहिबार

काभा यु–२० महिला भलिबल

अग्रजको छवि कायम राख्ने चुनौती

blog

नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबिच सेमिफाइनल खेलाइने छ । 

काठमाडौँ, असार ३१ गते । नेपालको राष्ट्रिय महिला भलिबलले पछिल्ला केही वर्ष आफ्नो छवि राम्रो बनाउँदै आएको छ । सन् २०१९ र २०२१ मा एसियन सेन्ट्रल जोन (काभा) भलिबलमा लगातार दुई स्वर्ण, पछिल्लो दक्षिण एसियाली खेलकुदमा रजत तथा घरेलु भूमिमा भएको काभा महिला च्यालेन्ज कपमा पनि कांस्य पदक केही उदाहरण हुन् । नेपालको राष्ट्रिय खेल भलिबलमा पुरुषको तुलनामा महिलाको प्रदर्शन अन्तर्राष्ट्रियस्तरमा राम्रो छ ।

अब सिनियर टिमको छविलाई कायम राख्ने सोचाइ अनुरूप नेपालको यु–२० महिला भलिबल टिमले माल्दिभ्समा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिप खेल्दै छ । साउन ३ देखि सुरु हुने प्रतियोगितामा सहभागी हुन नेपाली युवा महिला टिम मङ्गलबार माल्दिभ्स प्रस्थान गर्दै छ । नेपालको उमेर समूहको महिला भलिबल टिमको यो पहिलो प्रतियोगिता पनि हो । त्यसैले खेलाडीसँगै प्रशिक्षक र समग्र नेपाली भलिबल नै उत्साहित बनेको छ ।

काभा महिला च्यालेन्ज कपका लागि यही महिना काठमाडौँमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरी टिम तयार पारिएको हो । प्रमुख प्रशिक्षक कुमार राईले पहिलो पटकको सहभागिताले सबै उत्साहित बनेका र स्तरीय खेलाडी भएकाले नेपाल उपाधिको दाबेदारमध्ये एकमा पर्छ भन्नुभयो । उहाँले ओपन स्पाइकर सलिना बुढामगर, स्नेहा थकुन्नन तथा अलराउन्डर निशा महर र आरती चौधरी टिमको बलियो खम्बा भएको बताउनुभयो । “सेटर र मिडल ब्लकमा केही कमजोरी तथा अनुभवको कमीको चुनौती हटाउन सक्यो भने नेपाल च्याम्पियन हुन्छ,” उहाँको भनाइ छ । प्रशिक्षक राईले भलिबलको विकास गर्ने उमेर समूहबाटै हो भन्नुभयो । “नेपाल भलिबल सङ्घले राम्रो सुरुवात गरेको छ । यु–१५, यु–१८, यु–२० जस्ता प्रतियोगिता भइरह्यो भने सिनियर टिम बलियो हुन्छ,” उहाँको भनाइ छ ।

नेपाली टिमकी ओपन स्पाइकर तथा कप्तान जेनिशा विश्वकर्माले कप्तानको जिम्मेवारी पाउनुभएको छ । उहाँले यु–२० को पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले आफूहरू उत्साहित भएको र प्रशिक्षणका लागि कम समय भए पनि खेलाडीले धेरै मेहनत गरेको जानकारी दिनुभयो । प्रतियोगिताको तयारीस्वरूप सिनियर टिमसँग भएको मैत्री खेलले पनि माल्दिभ्समा धेरै फाइदा पु¥याउने विश्वास जेनिशाको छ । “सिनियर टिमसँग खेल्दा हामीले आफ्नो टिममा रहेका कमीकमजोरी बुझ्ने मौका पायौँ । ब्लकमा अलि ध्यान दिनु पर्छ,” कप्तान जेनिशाले भन्नुभयो । सहप्रशिक्षक अर्जुन घिमिरेले पनि सिनियर खेलाडीसँग खेल्दाको अनुभव काम लाग्ने बताउनुभयो ।  

अभ्यास खेलमा सिनियर टिमसँग यु–२० टिम पराजित भएको थियो । सिनियर टिमले दुई पटक काभा महिला भलिबल जितिसकेको छ । त्यसैले पनि यु–२० महिला भलिबल टिमसमक्ष सोही विरासत कायम गर्ने चुनौती पनि छ ।

प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविनका आधारमा पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबिच सेमिफाइनल खेलाइने छ । नेपालले पहिलो खेल साउन ३ गते श्रीलङ्कासँग खेल्ने छ । त्यसपछि नेपालले साउन ४ गते किर्गिस्तान र साउन ५ गते माल्दिभ्सको सामना गर्ने छ ।

प्रशिक्षक राईले श्रीलङ्कासँगको पहिलो खेल महत्वपूर्ण हुने बताउनुभयो । “श्रीलङ्का राम्रो टिम हो । पहिलो खेलमा चुनौती हुने छ । त्यसपछिका प्रतिस्पर्धी किर्गिस्तान र माल्दिभ्सभन्दा हाम्रो टिम तुलनात्मक रूपमा राम्रो छ,” प्रशिक्षक राईको भनाइ छ ।

नेपाल भलिबल सङ्घका उपाध्यक्ष भरत शाहले नेपालले अब उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न पाउनु गौरवको कुरा भएको धारणा व्यक्त गर्दै नयाँ प्रतिभावान् खेलाडीले यसबाट राम्रो अवसर पाउने विश्वास व्यक्त गर्नुभयो ।