• ८ जेठ २०८१, मङ्गलबार

सीमान्तकृत वर्गको आवाज ‘उलार’

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख १८ गते  । आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’ यति बेला कौसी थियटरमा मञ्चन भइरहेको छ । ‘उलार’ तराईका सीमान्तकृत वर्गको आवाज हो । नेपालगञ्जका प्रेमललवाको राजनीतिसँग जोडिएको जीवनलाई नाटकले उजागर गरेको छ । २५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा लेखिएको स्थानीय नागरिकको सङ्घर्षको कथा हो । दुई दशकअघि प्रकाशित उपन्यासमा २०४६ सालको परिवर्तनपछि देखिएको राजनीतिक चरित्र र सीमान्तकृत वर्गको भोगाइलाई नेपालगञ्जको परिवेशमा बुन्न खोजिएको छ । 

देश चुनावी माहोलले तातेको छ । राजेन्द्रराज र शान्तिराजाबीच चुनावी प्रतिस्पर्धा छ । यी दुईबीच कसको जित होला भनेर सर्वसाधारणमा कुतूहलता जागेको छ । यो हुनु स्वाभाविक पनि हो । यी दुई नेतासँगै नाटकको मुख्य पात्रमा देखिएका छन् प्रेमललवा, कलुवा, ननकौउ र द्रौपदी । चुनावमा राजेन्द्रराजको हार र  शान्तिराजाको जितबाट नै प्रेमललवाको दुःख सुरु हुन्छ र अन्त्यसम्म नै नाटक उनकै सेरोफेरोमा घुमिरहन्छ । शान्तिराजाको विजय जुलुस निकालिन्छ र त्यसमा कार्यकर्ताको भीडले टाँगा उलार भएर प्रेमललवाको घोडी वसन्तीको मृत्यु हुन्छ ।

यसपछि नाटकले नयाँ मोड लिन्छ । सबै कुरा घोडा वसन्तीमाथि नै निर्भर भएका प्रेमललवाको वसन्तीको मृत्युपछि कस्तो अवस्था हुन्छ र उनको जीवनशैलीमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा नाटकको मुख्य विषय हो । उनी आर्थिक सङ्कटमा पर्छन् । उनलाई थाहा छैन अब के गर्ने भनेर ।  प्रेमललवा सहयोग माग्दै राजेन्द्रराजकहाँ पनि पुग्छन् । उनले शान्तिराजालाई भेट्न भनेर एउटा चिठी थमाइदिन्छन् । उनको शान्तिराजासँग भेट पनि हुन्छ तर शान्तिराजाले उनलाई काठमाडौँ आऊ अनि केही गरुँला भनेर आश्वासन दिन्छन् । 

काठमाडौँ त जाने तर कसरी ? खल्तीमा एक पैसा छैन । उनको वियोगान्त यहाँबाट सुरु हुन्छ । जसोतसो गरेर आफूसँग भएको केही पैसा, कलुवाको दम्पतीले गरेको केही सहयोग र द्रौपदीको कानको सुन लिएर उनले काठमाडौंको बाटो तय गर्छन्  । शान्तिराजाले मद्दत गर्छन् भन्ने उनलाई ठूलै आशा र भरोसा छ । उनी शान्तिराजालाई भेट्न मन्त्रीक्वार्टर पुल्चोक, सिंहदरबार, बालुवाटार र पार्टी कार्यालय भौँतारिन्छन् तर उनी भेटिँदैनन् । होटल, पार्टी कार्यालय र सडकमा रात बिताएका प्रेमललवालाई शान्तिराजाको सहायकले अन्त्यमा घोडाको क्षतिपूर्तिका लागि यातायात मन्त्रालयमा जान सुझाउँछिन् । त्यसपछि कतैबाट केही नभएपछि उनी एक्लो र रित्तो कोरियनपुर फर्कन्छन् । उनीसँग आधा कट्ठा जमिनको लालपुर्जा थन्किएको एउटा थोत्रो टिनको बाकसबाहेक घर, टाँगा केही छैन । उनी रित्तो भएका छन् । 

पहिला पनि एक लाख रुपियाँमा ल्याप्चे लगाएर ३० हजार हात पारेका प्रेमललवाले कोरियनपुरको घर बेच्दा पनि ३० हजार नै हात पारेर परस्पुरमा नयाँ घोडा, टाँगा लिएका थिए भने यस पटक पनि जम्माजम्मी ९० हजारबाट उनको हातमा केवल ३० हजार मात्र पर्छ र उनी राजनीतिज्ञलाई प्रश्न गर्छन्, “हामी गरिब सधैँ किन पछाडि पर्छौं, हामी धनीसँग सधैँ किन दबिएर बस्नुपर्छ । किन–किन ?” उनी एकपछि अर्को प्रश्न गर्छन् । यिनै कुराको सेरोफेरो हो नाटक ‘उलार’ । कहिले पीडा त कहिले मन छुने प्रेम । नाटकमा प्रेमललवा र द्रोपदीको प्रेमलाई बेजोड ढङ्गबाट प्रस्तुत गरिएको छ । बीच–बीचमा कथाकारको भूमिकाले नाटकमा भएका कुरा प्रस्ट्याउँदा दर्शकलाई नाटक बुझ्न केही सजिलो अवश्य नै हुन्छ  । बादी समुदायलाई प्रतिनिधित्व गर्ने द्रोपदी पात्र एकदमै सशक्त छिन् । उनीमार्फत बादी महिलाका पीडा र समाजको चरित्रलाई दर्शकले नजिकबाट बुझ्न सक्छन् । 

नाटकमा शेखर चापागाईं, सरिता गिरी, सबिर चुरौट, अरुण शर्मा, दुरा सञ्जय गुप्ता, विजय आन्नद ताम्राकार, ऋषिकेश बस्याल, मारुती सापकोटा, निर्भीक भट्टराई, नवीनचन्द्र अर्याल, रेवन राई, ब्रिन्द्र बस्नेत, विशाल केसी, विम्ब अधिकारी, एडेन बात्री, कृति गजुरेल, गीता सोब र विवेकनाथ कुँवरको अभिनय रहेको छ । चे शङ्करको निर्देशन रहेको नाटकलाई गार्डेन थियटरले कथा घेरासँग मञ्चनमा सहकार्य गरेको छ । नाटकमा कथाकारको भूमिकामा शेखर चापागाईं रहेका छन्, नाटक वैशाख १८ सम्म मञ्चन हुनेछ ।