काठमाडौँ, कात्तिक ११ गते। नेकपा (माओवादी केन्द्र)का संयोजक, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएको छ।
देशका सामु अहिले देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै संयोजक दाहालले आज सामाजिक सञ्जालमार्फत उक्त आह्वान गर्नुभएको हो।
राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहने पनि उहाँले बताउनुभएको छ।
उहाँले भन्नुभएको छ, “देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।”
संयोजक दाहालले उक्त सत्यलाई आत्मसात् गर्दै देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन पनि अपिल गर्नुभएको छ। रासस