• ११ कात्तिक २०८२, मङ्गलबार

उच्च हिमाली भेगमा हिमपात

blog

ताप्लेजुङको उच्च हिमाली क्षेभमा भएको हिमपात । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । सोमबार रातिदेखि मौसममा आएको बदलीसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो ।

स्थानीयका अनुसार करिव चार हजार मिटरभन्दा माथि उचाइ रहेको हिमाली क्षेत्रमा हिमपात भएको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङका अनुसार बस्तीभन्दा माथिका उच्च हिमाली भेगमा सेताम्मे हिउ पर्न थालेको छ । गोला बस्तीदेखि देखिने उच्च हिमाली क्षेत्रमा हिउँ पर्न थालेको वालुङले बताउनुभयो ।

उहाँकाअनुसार सोमबार रातिदेखि निरन्तर वर्षा भइरहेको र वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मङ्गलबार दिनैभर वर्षा भइरहेको र अझै वर्षा अर्थात पानी पर्ने क्रम नरोकिएमा गोला बस्तीसम्म नै हिउँ पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । गएरातिदेखि निरन्तर वर्षा भइरहेको र उच्च हिमाली भेगमा हिमपात हुँदा जाडो निकै बढेको पनि उहाँले बताउनुभयो ।

यस्तै सोही गाउँपालिका वडा ६ लेलेपको फले र घुन्सामा पनि वर्षा निरन्तर भइरहेको छ । फलेकी स्थानीय फुटी शेर्पाका अनुसार सोमबार मध्यरातिदेखि निरन्तर वर्षा हुँदै आएको र वर्षासँगै बस्ती नजिकसम्म हिउँ परेकाले चिसो निकै बढेको छ । त्यस्तै घुन्साका स्थानीय पेमा शेर्पाले पनि सोमबार रातिदेखि सुरु भएको वर्षा नरोकिएकाले घुन्सामा चिसो (जाडो) निकै बढेको बताउनुभयो ।

शेर्पाले पानी पर्ने क्रम नरोकिएमा बस्तीसम्म नै हिउँ पर्नसक्ने र चिसो अझै बढ्ने बताउनुभयो । वर्षा र हिमाली क्षेत्रमा भएको हिमपातका कारण चिसो बढेपछि बालबालिका, वृद्धवृद्धासँगै कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउजाउ गर्ने पर्यटकहरु प्रभावित भएको स्थानीयको भनाइ छ । ओलाङ्चुङगोला बस्ती तीनहजार २०० मिटरको उचाइमा रहेको छ भने फले तीन हजार २३२ मिटर र घुन्सा बस्ती तीन हजार ४७५ मिटरको उचाइमा रहेको छ ।

यता सदरमुकाम फुङ्लिङ बजारमा पनि मङ्गलबार दिउँसो फाट्टफुट्ट वर्षा भएको छ । दिनैभर मौसम धुम्मिएर घाम नलागेका कारण फुङ्लिङ बजारमा पनि जाडो बढेको छ । दिउँसो घाम नलागेकाले जिल्लाभर नै जाडो महशुस गरिएको स्थानीयले बताएका छन् ।