• १२ पुस २०८१, शुक्रबार

आहा ! नयाँ वर्ष

blog

दीपक श्रेष्ठ 

आहा ! वसन्त ऋतु । चैत र वैशाखलाई वसन्त ऋतु भनिन्छ । चिसो मौसमबाट अब गर्मीको समयतिर लाग्दैछौँ । बगैँचामा आँप फुल्यो । एभोकाडो फुल्यो । बगैँचातिर धेरैथरिका फूल फुलिरहेका छन् । रुख बिरुवामा पुराना पात झर्न थाले । नयाँ पालुवा चढ्न थाल्यो । रुख बिरुवाका हाँगामा नयाँ नयाँ पात लाग्न थाल्यो । यही समय नेपालमा नयाँ वर्ष वैशाख १ मनाइन्छ । 

अँ ! नेपालको महाभारत लेक र उच्च पहाडतिर यही बेला गुराँस पूmल देख्न पाइन्छ । तपाईंहरूमध्ये धेरैले गुराँस फूल देख्नुभएको पनि होला । विश्वमा पत्ता लागेका एक हजार १५७ प्रजातिका गुराँसमध्ये नेपालमा ३३ प्रकारका गुराँस पाइन्छन् । रातो, सेतो, गुलाबी, पहँेलो, नीलो, सुन्तलालगायत रङका गुराँस नेपालमा पाइन्छ । समुद्र सतहबाट एक हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा गुराँस पाइन्छ । गुराँस नेपालको राष्ट्रिय फूल हो । विक्रम संवत् २०१९ पुस १ गते नेपालको राष्ट्रिय फूल गुराँस घोषणा गरिएको हो ।

वसन्त भन्नाले वहार अर्थात् प्रकृतिको यौवनावस्था भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतिको वहार आउँछ । वसन्त ऋतुमा न गर्मी न चिसो ठिक्कको मौसम हुन्छ । वसन्त ऋतु सबैभन्दा रमाइलो, राम्रो र मनमोहक हुन्छ । यो ऋतुलाई सबैले मन पराउँछन् । त्यसैले यस ऋतुलाई ऋतुहरूको राजा अर्थात् ऋतुराज पनि भनिन्छ ।

वर्षको पहिलो महिनाको पहिलो दिनलाई नयाँ वर्षका रूपमा मनाइन्छ । साथीभाइ तथा आफन्तजनसँग भेटघाट, मीठा परिकार खाएर, घूमघाम, वनभोज गरेर नयाँ वर्ष मनाउने चलन रहेको छ । धार्मिकस्थलमा गएर पूजाआजा र भगवान्को दर्शन गर्ने, साथीभाइमा शुभकामना आदनप्रदान गर्ने कार्य गरिन्छ । प्रारम्भ वर्ष शुभ होस् भन्ने कामना र प्रतीक्षासमेत गर्ने गरिन्छ । नयाँ कामको योजना र थालनीसमेत गर्ने गरिन्छ । नयाँनयाँ ठाउँ घूमघाम गर्न र घरदेखि अलि टाढा साथीभाइ मिलेर वनभोज खान तपाईंहरूलाई पनि खुब मन पर्छ होला नि ? 

काठमाडौँ उपत्यकाका पुराना अभिलेखहरूमा धेरै संवत् प्रयोग भएको पाइन्छ । तीमध्ये कलिगत संवत्, विक्रम संवत्, शक संवत्, मानदेव संवत् र नेपाल संवत् प्रमुख हुन् । यी सबै संवत्का धार्मिक, सांस्कृतिक र ऐतिहासिक महìव छन् ।

विक्रम संवत् राजा विक्रमादित्यको सम्मानमा नामकरण गरिएको मान्यता छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा विक्रम संवत्लाई नेपालको सरकारी कामकाजमा प्रयोग गर्न थालिएको मानिन्छ । सोही संवत्को नयाँ वर्ष वैशाख १ हो ।

नेपालमा अङ्ग्रेजी पात्रोअनुसारको नयाँ वर्ष जनवरी १ पनि मनाइन्छ । नेपालमा धेरै जातजाति र भाषा बोल्ने मानिस बस्दछन् । विभिन्न जातजातिका आफ्नै नयाँ वर्षसमेत छन् । नेवार समुदायले नेपाल संवत्का रूपमा नयाँ वर्ष मनाउँछन् । 

कात्तिक शुक्ल प्रतिपदा तिथिका दिनदेखि नेपाल संवत् सुरु हुन्छ । नेवार समुदायमा नेपाल संवत्को सांस्कृतिक महìवसमेत छ ।

त्यस्तै हिमाली र पहाडी समुदायमा ल्होसार मनाउने परम्परा पनि छ । हिमाली जिल्लामा बसोबास गर्ने केही समुदायले पुस शुक्ल प्रतिपदामा तोला ल्होसार, तामाङ समुदायले माघ शुक्ल प्रतिपदामा सोनाम ल्होसार र शेर्पाहरूले फागुन शुक्ल प्रतिपदामा ग्याल्पो ल्होसार मनाउँछन् । गुरुङ समुदायले पुस १५ गते मितिका आधारमा तमु ल्होसार मनाउने गरेको पाइन्छ । किराँत समुदायको येल संवत्को नयाँ वर्ष माघ १ गते पर्छ । माघे सङ्क्रान्तिका दिन थारू समुदायले पनि माघी पर्वका रूपमा नयाँ वर्ष मनाउँछन् ।