धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर ८ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मधेश प्रदेश सरकारका मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख कर्णले मधेश प्रदेशका मन्त्रीहरुको कार्य जिम्मेवारी तोक्नुभएको हो । संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट कात्तिक २३ मा नियुक्त भएको नेकपा (एमाले) का लखनदास तत्मालाई उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, नेपाल संघीय समाजवादी पार्टीका विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय तोकिएको छ ।
त्यस्तै, राप्रपाका कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मधेश प्रदेशका बाँकी मन्त्रालयहरु मुख्यमन्त्री यादवसँगै रहनेगरी जिम्मेवारी तोकिएको छ ।
मुख्यमन्त्री यादवसँग भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी रहेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री लखनदास तत्माले आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव रामकुमार खंगले पदभार ग्रहण गराउनुभयो ।
पदभार ग्रहण गर्दै मन्त्री दासले मधेश प्रदेशभित्र एक पालिका एक सुरक्षित खानेपानी निर्माण गर्न आवश्यकताको पहिचान गरी खानेपानी सुधार निर्माण र सुरक्षित खानेपानीयुक्त समुदाय निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सबैसँगको समन्वय सहकार्यमा जनमुखी काम गर्ने बताउनुभयो ।