• १५ कात्तिक २०८१, बिहिबार

मुख्यमन्त्रीसँग‘मुना’ संवाद

blog

सन्तोष सुवेदी 

भाइबहिनीहरू, तपाईंहरूको आफ्नै प्यारो ‘मुना’ पत्रिका ३२ वर्षको भयो । मुनाको जन्मोत्सवको अवसरमा हामीले गण्डकी प्रदेशलगायत पोखराका विभिन्न विद्यालयमा अध्ययन गर्ने भाइबहिनीहरूसँग मुनाका विषयमा कुराकानी गरेका थियौँ । भाइबहिनीहरूले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग र मुना पत्रिकाका टिमसँग विभिन्न विषयमा सोधपुछ गरेका थिए । 

पोखराको फिस्टेल एकेडेमीकी कक्षा ११ मा पढ्ने प्राप्ति लस्सालले मुना पत्रिका दुर्गम ठाउँका भाइबहिनीसम्म पु¥याउन के कस्तो प्रयास गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभएको थियो । उहाँले पहिले त्यति नपढे पनि अबदेखि मुना पढ्ने प्रतिबद्धता जनाउनुभयो । प्राप्तिले मुनामा समावेश सामग्री हामीजस्तै भाइबहिनीहरूका लागि निकै फलदायी भएकोले यस्तो पत्रिका सबै ठाउँमा पु¥याउन आग्रहसमेत गर्नुभयो । 

गण्डकी बोर्डिङ स्कुलका समिर कार्कीले मुना अन्य भाषामा पनि अनुवाद हुन्छ कि हुँदैन ? भनेर प्रश्न गर्नुभएको थियो । 

सोही विद्यालयकी सेलिया थापाको प्रश्न थियो,  मुना प्रकाशनको उद्देश्य पूरा भयो कि नाई ? त्यस्तै ग्लोबल कलेजकी कृसा कोइरालाले मुना बालपत्रिका हो । यसमा पढ्नै पर्ने विशेष के छ ? के कारणले बालबालिकाले मन पराउँछन् भनी जिज्ञासा राख्नुुभएको थियो ।

यसैगरी ग्लोबल कलेजकी साक्षी क्षेत्रीलाई पनि मुना पत्रिका मन परेको सुनाउनुभयो । उहाँले बालबालिकाका लागि मुुनामा ज्ञानगुनका कुरा रहेकाले हरेक विद्यालयमा मुना पत्रिका उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो । 

मुना मासिकका सम्पादक हरिप्रसाद भट्टराईलाई गण्डकी प्रदेश एवं पोखराका विभिन्न विद्यालयमा अध्ययन गर्ने भाइबहिनीले व्यक्त गरेको जिज्ञासा एवं उनीहरूले सोधेको प्रश्नको उत्तर दिनुभएको थियो । 

उहाँले अध्ययन गर्ने भाइबहिनीको माग भएबमोजिम र आवश्यक परे भाषा अनुवाद गरी उनीहरूका रचनालाई प्राथमिकता दिने कुुरा बताउनुुभएको थियो । त्यस अवसरमा सम्पादक भट्टराईले मुुनालाई थप आकर्षण ढङ्गले प्रकाशन गर्ने योजना रहेको पनि सुनाउनुभयो । उहाँले नेपाली भाषा, संस्कृति जोड्ने काम मुना पत्रिकाले गरेको बताउनुभयो । 

नेपालमा भएका विभिन्न भाषा, जाति, धर्म, संस्कृति र संस्कारका बारेमा र हिमाल, पहाड, तराईको चालचलन सम्बन्धमा पनि भाइबहिनीले आफ्नो पढाइसँगै जानून्, सिकूून् भन्ने नै मुना प्रकाशनको उद्देश्य रहेको भट्टराईले सुनाउनुभयो । ३२ वर्षदेखि निरन्तर मुुना प्रकाशन भएकोले यसलाई भाइबहिनीको पहुुँच हुुने गरी मुुलुुकका सुदूर गाउँठाउँमा पु¥याउने दायित्व पनि प्रकाशनको रहेकोमा उहाँले भाइबहिनीलाई आश्वस्त पार्नुभयो । नेपालभरिको कुनाकाच्चासँग मुुनालाई जोड्ने प्रयास गरेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, तपाईंहरू स्वयंले भन्दा पनि  अभिभावक र  शिक्षकहरूले नै मुना पत्रिका किनेर लैजाने दायित्व हो भन्दै उहाँले भन्नुुभयो, “कोभिडले गर्दा सबै ठाउँमा पु¥याउन सकिएन होला तर हाम्रो प्रयास सबै भाइबहिनीको हातहातमा मुना पत्रिका पुुगोेस् भन्ने हो । हाम्रो चाहना पनि यही हो ।” उहाँले अगाडि भन्नुुभयो, “दुर्गम जिल्लाहरू  हुम्ला, जुम्ला, मुगुमा पनि मुुना जान्छ । त्यसमा पनि व्यवस्थापकीय हिसाबले कमजोर भए सुझाव दिनुहोला । नपुगेको ठाउँ छ भने हामी प्रयास गर्दैछौँ ।” 

मुना वार्षिकोत्सवका अवसरमा पोखरामा भएको एकदिने कार्यक्रममा दुईवटा सेसन चलेको थियो । पहिलो सेसनमा पोखराका मुनाहरूले मुना प्रकाशन टिमसँग संवाद गरेको थियो । त्यस्तै दोस्रो सेसन गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग मुना संवाद रहेको थियो । 

भाइबहिनीहरूले गुणस्तरीय शिक्षा, स्वास्थ्य र प्राकृतिक चिन्तन फेवाताललगायतको विषयमा प्रदेशको सरकारको भूमिकाबारेमा मुख्यमन्त्रीसँग प्रश्न गरेका थिए । भाइबहिनीहरूले सोधेका केही प्रश्नहरू आजको अङ्कमा समावेश पनि गरेका छौँ । समता शिक्षा निकेतनका सुसान लुइँटेलले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारको भूमिका के रहेको छ ? भनेर मुख्यमन्त्री पोखरेललाई प्रश्न गरेका थिए । 

ग्लोबल कलेजकी साक्षी क्षेत्रीले निःशुल्क नभए पनि हरेक विद्यालयमा सेनिटरी प्याड बनाउन प्रयास के भइरहेको छ भन्ने प्रश्न राख्नुुभएको थियो ? 

उक्त प्रश्नमा जिज्ञासा मेटाउँदै मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार सम्भावना बोकेको प्रदेश भएकोले बालबालिकाको उचित शिक्षा, स्वास्थ्य, पोषणलगायतमा बजेट छुट्याउने बताउनुभयो । उहाँले भाइबहिनीहरूको पढाइलाई सुधार गर्नका लागि बजेट समावेश गरी बालबालिकामैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भाइबहिनीहरूलाई भन्नुभयो, “तपाईंहरूको गुणस्तरको शिक्षा दिनका लागि कटिबद्ध लागिपरेका छौँ । प्रदेश प्रमुख शिक्षा कार्यक्रममार्फत पनि प्राविधिक कुरामा ज्ञान हासिल गर्न सक्ने बनाउने छौँ ।”

उहाँले प्रदेशभरका कोही पनि बालबालिका अभिभावकविहीन भएर बस्न नपर्ने व्यवस्था रहेको सुनाउनुभयो । बुबाआमा नभएका बालबालिकाका लागि मानवसेवा आश्रम लगेर स्याहारसुसार गरी पढाइने व्यवस्था प्रदेश सरकारले गर्दै आएको उहाँले पोखराका विद्यालयमा पढ्ने भाइबहिनीमाझ बताउनुभयो । 

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री माननीय मेखलाल श्रेष्ठले मुना पत्रिकाबाट बालबालिकाले उपयोगी ज्ञान हासिल गर्न सकेको हुँदा यसलाई गाउँगाउँका विद्यालयमा पु¥याएर लुकेको प्रतिभालाई बाहिर ल्याउने काम गर्न आग्रह गर्नुभयो । उहाँले उचित शिक्षा र संस्कार बालबालिकालाई दिन सकिए मात्र देश विकास हुने बताउनुभयो ।  

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले मुना पत्रिका सबैको लोकप्रिय बनेकोले अझै परिस्कृत गर्दै पछिल्लो पुस्तालाई पनि समावेश गर्ने खालका सामग्री राख्न अनुरोध गर्नुभयो । 

नेपाली लेखक सङ्घका अध्यक्ष एवं साहित्यकार तीर्थ श्रेष्ठले मुनाहरू भोलिका दिनमा मुलुक धान्न सक्ने बनाउनका लागि अभिभावक र शिक्षकको भूमिका रहने बताउनुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मुना पत्रिकाको गतिविधि काठमाडौँमा मात्र नभएर मौफसलमा पनि साझेदारी हुनुपर्छ भन्ने मान्यताले प्रदेश सरकार र पोखरासँग जोडिन आएको बताउनुभएको थियो । उहाँले बालबालिकाको क्षमता वृद्धि गर्नका लागि निरन्तर मुना प्रकाशन गर्दै जाने प्रतिबद्धता पनि जनाउनुभयो । 

गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पोखराका प्रतिभाशाली मुनाहरूसँग वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । सामाजिक रूपान्तरण र समृद्धिका विषयमा चासो दिन थाल्नु भनेको बच्चाहरूमा हुनुपर्ने अद्भूत गुण भएको उहाँले बताउनुभयो ।

संस्थानका निमित्त प्रधान सम्पादक शिवप्रसाद भट्टराईले पोखराका बालबालिकालाई मुना पत्रिका आफ्ना प्रतिभा लेखेर पठाउन आग्रह गर्नुभएको थियो । उहाँले भाइबहिनीका लागि मुना प्रकाशन हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो इच्छा के छ लेखेर पठाउनुहोस् । कथा, कविता, चित्र, हामीलाई पठाउनुहोस् ।’’

वार्षिकोत्सव कार्यक्रममा सहभागी केही भाइबहिनीले आफ्नो प्रतिभासमेत सुनाएका थिए । सानो उमेरमा साङ्गीतिक क्षेत्रमा ड्रमसेट सार्वजनिक रूपमा बजाएर विश्व कीर्तिमान कायम गरेका बालप्रतिभा उत्प्रेम जोजिजूले कार्यक्रममा गीत प्रस्तुत गर्नुुभएको थियो । केही भाइबहिनीले सामूहिक नृत्य र एकल कविता वाचन पनि गरेका थिए । कार्यक्रमको सञ्चालन मुना मासिकको सह–सम्पादक लक्ष्मी खतिवडाले गर्नुभएको थियो । 

मुना दूत प्रेन्सा



मुनाको ३२औँ वार्षिकोत्सवको अवसरमा ‘मुना दूत घोषणा’ गरिएको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत प्रेन्सा रेग्मीलाई गण्डकी प्रदेशका लागि मुना दूत घोषणा गरी सम्मान गरिएको थियो । 

उनले कोभिडले गर्दा मास्क अभाव भएको बेलामा पोखराका सडकपेटीमा बसेर मास्क बेच्ने गर्थिन् । मास्क बेचेर आएको पैसा विपन्न बालबालिकालाई सहयोग गर्दै आएकी हुन् । उनले लकडाउनको बेलामा सामाजिक सञ्जाल युट्युबमार्फत विभिन्न सन्देशमूलक सामग्रीहरू प्रस्तुत गरेकी थिइन् ।