• ४ जेठ २०८१, शुक्रबार

भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट

blog

भारोत्तोलनको छनोटमा भार वहन गर्दै सन्जु चौधरी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १७ गते । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा शनिबार भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट हुनुभयो ।

नेपाल भारोत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगिता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सन्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिनुभयो ।

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष-महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभयो । पुरुषमा विकास भट्टले उक, विशालसिंह विष्टले दुई, सुभाष उपाध्यायले तीन र सागर भण्डारीले एक कीर्तिमान बनाउनुभयो । महिलामा सन्जु चौधरीले एक तथा तारादेवी पुन र विद्या राईले समान तीन तीन राष्ट्रिय कीर्तिमान रच्नुभयो । 

कुस्तीमा १५ खेलाडी छनोट 

कुस्तीमा सात पुरुष र आठ महिला गरी १५ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक समेत रहेका कुस्तीका पूर्व मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जनाएका छन् ।   

 सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगिताको पुरुष ८६ केजीमा आर्मीका आदित्यराज यादव, प्रहरीका दीपेश राउत कंकर र आर्मीका वीरेन्द्रसिंह साउद तथा ७४ केजीमा आर्मीका सुरेश चुनारा, प्रहरीका गंगाराम चमार, बाँकेका फजिल राउत अहिर र प्रहरीका धर्मेन्द्रप्रसाद यादवले सफलता हात पार्नुभयो । 

महिला ६२ केजीमा आर्मीकी सुशिला चन्द, आर्मीकै निर्मला जागरी, कञ्चनपुरका कोमल खत्री र विमला सुनार तथा ५७ केजीमा आर्मीकी शिवाङ्गी दुवे, एपीएफकी अम्बिका भण्डारी, कञ्चनपुरकी मनीषा सिंह र आर्मीकी लक्ष्मी तामाङ पहिलो चरणमा प्रवेश गर्नुभयो । एकदिने छनोट प्रतियोगिताको पुरुषमा आठ र महिलामा १२ गरी २० खेलाडीले प्रतिस्पर्धा गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।