• १३ असार २०८१, बिहिबार

‘बलिङलाई ब्याटिङ र फिल्डिङको साथ भएन’

blog

काठमाडौँ, असार ७ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा ब्याटिङ र फिल्डिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा जितको नजिक पुगेर पनि हार बेहोर्नु परेको बताउनुभएको छ । टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ राम्रो भए पनि ब्याटिङ र फिल्डिङले साथ दिन नसकेको बताउनुभयो ।

आइसिसी विश्वकपमा नेपाल समूह ‘डी’ मा दक्षिण अफ्रिका र बङ्गलादेशसँग जितको नजिक पुगेर ब्याटिङ र फिल्डिङमा पनि निराश बनेको थियो । श्रीलङ्कासँगको खेल वर्षाले अनिर्णीत हुँदा नेपालले एक अङ्क जोडेको थियो । उहाँले दक्षिण अफ्रिका र बङ्गलादेश जस्ता ठुला टिमविरुद्ध मौका मिलेर पनि जित हासिल गर्न नसक्दा समर्थकलाई पीडा भएको अनुभव आफूले गरेको बताउनुभयो ।

कप्तान रोहितले भन्नुभयो, “हारको दोष कहिलेकाहीँ कुनै एक खेलाडीलाई मात्र दिइन्छ तर क्रिकेटमा एकै खेलाडीका कारणले टिम हार्छ भन्ने सही होइन । हारमा टिमकै जिम्मेवारी हुन्छ ।” उहाँले अमेरिका र वेस्ट इन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताउनुभयो । 

उहाँका अनुसार अमेरिकाको डालास र वेस्ट इन्डिजको किङ्स्टनमा रहेका दुवै मैदान बलिङमैत्री थिए । ब्याट्सम्यानलाई धेरै चुनौती थियो । त्यसैले ब्याट्सम्यानलाई दोष दिन मिल्दैन । यी मैदानमा कुनै पनि टिमले राम्रो स्कोर गर्न सकेको थिएन । फिल्डिङमा पनि कमजोरी रह्यो । त्यसैले यी दुवै पक्षमा सुधार जरुरी छ ।

उहाँले भन्नुभयो, “बलिङमा राम्रो प्रदर्शन भयो । हाम्रो बलिङ आक्रमणले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई टक्कर दिएकै हो तर ब्याटिङ र फिल्डिङले जित्ने खेल पनि हा¥यौँ । ठुला टिमविरुद्ध खेल्ने अनुभवको पनि कमी भयो ।” उहाँले नेपाली टिमको फ्लड लाइट्समा खेल्ने बानी नभएकाले पनि दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्दा नेपाललाई बेफाइदा भएको बताउनुभयो । सहायक प्रशिक्षक वसन्त शाहीले विश्वकपमा सहभागिता हुनु नै ठुलो कुरा हो भन्नुभयो । “हामीभन्दा राम्रो टिमसँग खेल्नु भनेकै सिक्ने हो । जितको नजिक हुदाँहुदै पनि हार्न बाध्य भयौँ तर विश्वकपसम्म पुग्नु नै महत्वपूर्ण कुरा हो,” उहाँले भन्नुभयो ।

इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिका विजयी

इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकपको सुपर आठमा जित हात पारेका छन् । इङ्ग्ल्यान्डले बिहीबार सहआयोजक वेस्ट इन्डिजलाई आठ विकेटले पराजित ग¥यो । दक्षिण अफ्रिकाले अर्को सहआयोजक अमेरिकालाई १८ रनले निराश बनायो । प्रारम्भिक ब्याट्सम्यान फिल साल्टले ४७ बलमा अविजित ८७ रनको पालि खेलेपछि इङ्ग्ल्यान्डले सहज जित हात पा¥यो । दुई पटकका विश्व च्याम्पियनबिच भएको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले चार विकेटको क्षतिमा १८० रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । उपाधि रक्षा अभियानमा रहेको इङ्ग्ल्यान्डले १५ बल बाँकी छँदा दुई विकेटको क्षतिमा १८१ रन बनाएर लक्ष्य हासिल ग¥यो । पछिल्ला आठ टी–२० खेलमा वेस्ट इन्डिजको यो पहिलो हार हो । चालु प्रतियोगितामा पनि इङ्ग्ल्यान्डसँग हार्नुअघि वेस्ट इन्डिज अपराजित थियो ।

इङ्ग्ल्यान्डका लागि जोनी बेरिस्टो पनि २६ बलमा अविजित ४८ रनको महìवपूर्ण पालि खेल्नुभयो । यसअघि वेस्ट इन्डिजका लागि जोन्सन चाल्र्सले ३८, निकोलस पुरनले ३६, कप्तान रोभमन पावेलले ३६, सरफेन रुथरफर्डले अविजित २८ र ब्रेन्डन किङले रिटायर्ड हर्ट हुनुअघि २३ रन बनाउनुभएको थियो ।

अर्का खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरी चार विकेटको क्षतिमा १९४ रन बनाएको थियो । तेज बलर कागिसो रबाडाले १८ रनमा तीन विकेट निकालेपछि अमेरिकाले जवाफमा छ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि एन्द्रिज गाउजले ४७ बलमा अविजित ८० रन बनाउनुभयो । यसै गरी दक्षिण अफ्रिकाको पालिमा क्विन्टन डी ककले ४० बलमा सर्वाधिक ७४ रन बनाउनुभएको थियो ।