जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको राधाकृष्ण फुटबल मैदानलाई रङ्गशाला बनाउने योजना वर्षौदेखि अलपत्र रहेको छ ।
नगरपालिका कार्यालय र फुटबलसँग सम्वद्ध निकायले लालबन्दीको यो ऐतिहासिक फुटबल मैदानलाई रङ्गशाला बनाउन लामो समयदेखि प्रयास गर्दै आइरहेका छन्, तर वन कार्यालयले रङ्गशालाका लागि संरचना निर्माण गर्न अनुमति नदिँदा बारम्बार विनियोजन गरिएको बजेट फ्रिज भएर गइरहेको छ ।
दुई वर्षअघि लालबन्दी नगरपालिकाले रङ्गशालाका लागि ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । त्यसबेला निर्माण सामग्री खसालेर काम सुरु गर्नासाथ डिभिजन वन कार्यालयले हस्तक्षेप गरेर काम अघि बढाउन दिएन ।
दर्जनौँ स्थानीय तथा राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना भएका मैदानलाई रङ्गशाला बनाउन छेउछाउका केही रुख कटान गर्नुपर्ने अवस्था छ । खेल मैदान रहेको जग्गा राधाकृष्ण सामुदायिक वनभित्र पर्छ ।
फुटबल मैदानको संरक्षण भने सर्लाही जिल्ला फुटबल सङ्घले गर्दै आइरहेको छ । सङ्घका निवर्तमान उपाध्यक्ष विभुसिंह थापाले रङ्गशाला बनाउन विभिन्न निकायबाट बारम्बार बजेट प्राप्त भए पनि वन कार्यालयबाट अनुमति नपाउँदा समस्या परेको बताउनुभयो ।
यस क्षेत्रमा दर्जनौँ खेलाडी जन्माएको ऐतिहासिक फुटबल मैदानलाई रङ्गशाला बनाउन सके ठुलो उपलब्धि हुने थापाको भनाइ छ । “पूर्वपश्चिम राजमार्गबाटै देखिने मैदानलाई रङ्गशाला बनाउन पाए त यस क्षेत्रको बेग्लै इज्जत, प्रतिष्ठा हुने थियो,” थापाले भन्नुभयो, “धेरै पटक बजेट ल्यायौँ तर वनको जग्गा भएकाले काम गर्नै नपाएर पटकपटक फ्रिज भएर गइरहेको छ ।”
वर्षौदेखि प्रयास गर्दा पनि रङ्गशाला बनाउन नसक्दा खल्लो महसुस भइरहेको थापाले बताउनुभएको छ । लालबन्दी फुटबल मैदानलाई विस्तार गरी मकवानपुरको पिप्ले रङ्गशाला झैँ बनाउने योजना बनाइएको थियो ।
फुटबल मैदानले अहिले ओगटेको भू–भागमा फुटबल गतिविधि गर्न कुनै समस्या नरहे पनि छेउछाउका केही रुख कटान गरेर रङ्गशाला नै निर्माण गर्न भने वन कार्यालयले अनुमति दिएको छैन् । रङ्गशाला निर्माणका लागि राजनीतिक खिचातानीसमेत देखा परेको फुटबलप्रेमीले गुनासो गरेका छन् ।
सर्लाही जिल्ला फुटबल सङ्घका महासचिव कुलप्रसाद गौतम (शिवहरि) ले फुटबल मैदानको जग्गा आफूहरुको स्वामित्वमा नहुँदा योजना अनुसार काम गर्न नपाएको गुनासो गर्नुभयो । डिभिजन वन कार्यालयले वनको जग्गामा संरचना निर्माण गर्न मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने जनाएको छ ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले फुटबल मैदानलाई रङ्गशाला बनाउन अब सङ्घीय सरकारबाटै निर्णय गराउन पहल गरिने बताउनुभयो । कृषि विश्व विद्यालयका लागि लालबन्दी नगरपालिका १६ परवानीपुरमा वनको खाली जग्गा रहेको क्षेत्र प्राप्तीका लागि प्रक्रिया अघि बढाइको र यो प्रक्रिया पुरा भएपछि फुटबल मैदानका लागि जग्गा प्राप्तीको काम अघि बढाइने नगर प्रमुख अधिकारीको भनाइ छ ।
नगर प्रमुख अधिकारीले भन्नुभयो,“एकैपटक दुईतिरको जग्गा लिने प्रक्रिया अघि बढाउन नमिल्ने रहेछ, त्यसैले पहिले विश्व विद्यालयको काम सकौँ अनि रङ्गशालाका लागि प्रक्रिया अघि बढाउने योजनामा छौँ ।”