मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), चैत १२ गते । यस वर्ष उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरकी छिमी ल्हामो गुरुङ यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा व्यस्त हुनुहुन्छ । अत्यधिक चिसो बढेसँगै कात्तिक महिनामा घुम्ती कक्षाका लागि पोखरा जानुभएकी छात्रा गुरुङसँग परीक्षामा सहभागी हुने आफ्नै विद्यालयका साथी छैनन् ।
तिब्बतको सिमानामा पर्ने दिव्यदीप माध्यमिक विद्यालय, छोसेरबाट यस वर्ष छात्रा गुरुङ मात्रै परीक्षामा सहभागी हुनुहुन्छ । पोखरा नगरपालिका–२६, विजयपुरमा रहेको आफ्नै विद्यालयको भवनमा मङ्सिरदेखि फागुनसम्म पढेर गुरुङ शिक्षकसँगै सदरमुकाम जोमसोममा जाने विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ८५ जना छात्रा रहेकोमा गुरुङ उपल्लो मुस्ताङबाट सहभागी हुने एक मात्रै छात्रा हुन् । त्रिपाठीले भन्नुभयो, “यस वर्ष विद्यालयबाट एक जना मात्रै विद्यार्थीले एसइई दिँदै हुनुहुन्छ । हामीले परीक्षाका लागि नियमित र अतिरिक्त कक्षासहित तयारीमा कुनै पनि कमी हुन दिएका छैनौँ ।”
उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एक मात्रै माविस्तरको सामुदायिक विद्यालयबाट छात्रा गुरुङ एक्ली परीक्षार्थी भएको उहाँले बताउनुभयो । जनसङ्ख्या कम रहेकाले विद्यालयमा ल्होमन्थाङ गाउँपालिकाबाहेक म्याग्दी, बागलुङ, धनुषा, रूपन्देहीलगायतका विद्यालयका विद्यार्थी अध्ययनरत छन् ।
यसैबिच यस वर्ष मुस्ताङबाट नियमिततर्फ १८६ र ग्रेड वृद्धितर्फ १२ जना गरी १९८ विद्यार्थी सहभागी परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङका सूचना अधिकारी चन्द्रसिंह विकले मुस्ताङमा नौ सामुदायिक, एक निजी र दुई धार्मिक विद्यालयबाट नियमितमा छात्र १०१ जना र छात्रा ८५ जना रहेका छन् ।