नेपालगन्ज समाचारदाता
नेपालगन्ज, चैत १२ गते । बाँकेका विभिन्न नदी र खोलामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र ओसारपसार गर्ने कार्य निरन्तर जारी रहेको पाइएको छ । प्रहरीले पटक पटक अवैध उत्खननमा संलग्न सवारीसाधनलाई नियन्त्रणमा लिँदै आए पनि सो कार्य नरोकिएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य बालुवा, गिट्टीलगायतको उत्खनन गरेर ओसारपसार गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिए पछि अवैध उत्खनन निरन्तर भइरहेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लाका विभिन्न स्थानबाट नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न आठ वटा सवारीसाधन नियन्त्रणमा लिएको बताउनुभयो ।
उहाँका अनुसार प्रहरीले कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न एउटा जेसिबी, दुई वटा टिप्पर र एउटा ट्याक्टर गरेर चार वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई आवश्यक कारबाहीका लागि कोहलपुर नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।
त्यस्तै बैजनाथ गाउँपालिका–२, मकैबारी क्षेत्रबाट जेसिबी एक, टिप्पर दुई र ट्याक्टर एक गरी चार वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयमा बुझाइएको छ ।
उहाँले नदीजन्य स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको जानकारी गराउँदै विभिन्न खोला र नदीमा निगरानी बढाइएको बताउनुभएको छ ।