पुरुषोत्तम सुवेदी
परासी, चैत १२ गते । लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गरेका विक्रम खनाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम समयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्दै पश्चिम नवलपरासी–१ बाट भारी मतान्तरले निर्वाचित हुनुभयो । उहाँले आफ्नो पूर्वपार्टी नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई करिब ३६ हजार मतान्तरले पराजित गर्नुभयो । खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले नौ हजार ५०२ मत पाउनुभयो ।
१४ वर्षकै कलिलो उमेरमा नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीति थालेका खनाल २०५० मा नेविसङ्घ नवलपरासीको जिल्ला सभापति बन्नुभएको थियो । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट लुम्बिनी प्रदेश महामन्त्रीमा निर्वाचित भएका उहाँ २०७० सालमा संविधान सभा सदस्यको निर्वाचनमा विजयी हुनुभएको थियो ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा उपविजेतामा चित्त बुझाएका खनाल यो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मदेवार बन्न खोजे पनि टिकट नपाएपछि अन्तिममा रास्वपा प्रवेश गर्नुभएको थियो । स्नातक तहसम्मको शिक्षा हासिल गरेका ५५ वर्षीय खनालको यो दोस्रो संसदीय यात्रा हो ।
दोस्रो पटक संसद्को यात्रा तय गर्दैगर्दा खनालसामु एकातिर जनताको चुलिएको अपेक्षा छ भने अर्कातिर अलपत्र विकासका योजनाको चाङ । उहाँ हतोत्साहित हुनुभएको छैन । उहाँ भन्नुहुन्छ, “म कुनै आकाशको तारा झार्छु भनेर राजनीतिमा आएको होइन । मेरो सङ्कल्प जनताले दैनिक भोग्नुपर्ने साना तर आधारभूत समस्याको समाधान गर्नु हो ।”
चुनावी मौसममा मात्र गाउँ पस्ने र अरूबेला राजधानी हराउने मौसमी नेताभन्दा खनाल सधैँ सुखदुःखमा साथ रहने हुनाले उहाँलाई जनताले सहज र आफ्नो मान्छेका रूपमा स्वीकारेका हुन् ।
अव्यावहारिक र ठुला सपना बाँड्नुभन्दा खनालले धरातलीय यथार्थलाई समात्नुभएको छ । निर्माणाधीन क्षेत्रमा बर्सौंदेखि ढिलासुस्ती भएका पुल, सडक र खानेपानी आयोजनालाई पहिचान गरी गुणस्तरीय रूपमा सम्पन्न गर्ने काममा अब आफूले ध्यान दिने खनालले बताउनुभयो । त्यस्तै उहाँले कृषि विकासका लागि मल र बिउको सहज आपूर्ति, सिँचाइको समस्या समाधान र स्थानीय उत्पादनको उचित बजारीकरणमा सहजीकरण गर्ने बताउनुभयो । सरकारी विद्यालयको शैक्षिकस्तर सुधार्ने र स्थानीय स्वास्थ्य चौकीमा औषधी तथा चिकित्सकको उपलब्धता सुनिश्चित गर्ने काम आफूले प्राथमिकताका साथ अगाडि बढाउने भन्दै खनालले भन्नुभयो, “प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य गर्दै सरकारी सेवालाई पारदर्शी र जनमुखी बनाउनेतर्फ क्रियाशील हुन्छु ।”
उहाँले युवाको विदेश पलायन रोक्न स्थानीयस्तरमै सिपमूलक तालिम र साना उद्योगलाई प्रोत्साहन गर्ने काममा आफूले भूमिका खेल्ने पनि बताउनुभयो । आफ्ना वाचा पूरा गर्ने आधारबारे खनालको आफ्नै कार्यशैली छ । उहाँ केवल कुर्सीमा बसेर आदेश दिने शासकीय शैलीभन्दा कार्यकारी शैलीमा विश्वास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेट अभाव र सरकारी ढिलासुस्ती चुनौती पक्कै हुन् तर नेताको नियत सफा छ र जनताको साथ छ भने जुनसुकै काम पनि सम्भव हुन्छ । म आफैँ फिल्डमा खटेर योजनाको निगरानी गर्ने छु ।”
उहाँले आफ्नो कार्यान्वयन रणनीतिका रूपमा तिनै तहका सरकार (स्थानीय, प्रदेश र केन्द्र) सँगको समन्वय, पारदर्शी बजेट विनियोजन र विज्ञको प्राविधिक सल्लाहलाई मुख्य आधार बनाउनुभएको छ ।