• १२ चैत २०८२, बिहिबार

युवाविहीन लिमीका गाउँ

blog

लिमीबाट चीनको ताक्लाकोट जाने क्रममा बाटोमा हिँड्दै लिमीका युवा ।

हुम्ला समाचारदाता

हुम्ला, चैत १२ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटा बस्ती युवाविहीन भएका छन् । गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न आएका अधिकांश युवा कामका लागि फेरि चीनको ताक्लाकोट र केही काठमाडौँ फिर्ता भएपछि हाल ती बस्ती युवाविहीन भएका हुन् । 

लिमीका तीन बस्ती तिल, हल्जी र जाङका गरी २१७ जना रोजगारी तथा कामका लागि चीनको ताक्लाकोटतर्फ लागेका छन् भने ४२ जना लिमीबाट काठमाडौँ फिर्ता भएपछि हाल लिमी युवाविहीन अवस्था रहेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । ताक्लाकोटबाट मतदानकै लागि लिमी आएको र हाल उतै फिर्ता भएको उहाँको भनाइ छ । हल्जीगाउँमा ४० वर्षमाथिका १२ जना मानिस गुम्बाको कामको कारण गाउँमै रहेको बताउँदै उहाँले तिनै गाउँ युवाविहीन अवस्थामा रहेको जानकारी दिनुभयो । 

लिमीका तीन बस्तीका अधिकांश घरमा एक÷दुई जना ज्येष्ठ नागरिक मात्रै रहेका छन् । तिल र जाङगाउँमा बालबालिका पनि छैनन् । हल्जीगाउँमा भने सुनखानी प्रावि सञ्चालनमा रहेका कारण २७ विद्यार्थी छन् । यता हिउँदभर मानिसविहीन भएको लिमीकै जाङगाउँका तीन घरधुरी भने गाउँमा फिर्ता भएर बस्न थालेका छन् । सो गाउँ मानिसविहीन अवस्थाबाट मुक्त भएको छ ।