हुम्ला समाचारदाता
हुम्ला, चैत १२ गते । सम्झौता भएको चार वर्षपछि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि धमाधम पक्की पुल निर्माण भइरहेको छ । हिल्सा–सिमकोट सडक योजनाले बारम्बारको ताकितापछि निर्माण कम्पनीले आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणलाई तीव्रता दिइएको हो ।
नुवाकोटसँग हिल्सा–सिमकोट सडक योजनाले पुल निर्माणको चार वर्षअघि सुरु गर्ने गरी स्वच्छन्द माउन्ट पुमरी जेभीेसँग सम्झौता गरेको थियो । अहिले कम्पनीले कामलाई तीव्रता दिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।
उहाँका अनुसार कम्पनीसँग २०७८ असोज १४ गते योजनाले सम्झौता गरेको थियो । त्यतिबेला काम सुरु भएपछि पूर्वतर्फको भागमा तातोपानी निस्किएपछि एक वर्ष काम रोक्नु परेको थियो । पछि मोटरबाट तातोपानी तानेर फाल्दै पुलको संरचना निर्माण निकै सुस्त गतिमा गर्दै आएको भए पनि यस वर्षदेखि भने कामले तीव्रता पाएको जानकारी दिनुभयो । हाल पुलको दुवैतर्फका संरचना निर्माण भइसकेको छ ।
पुलका लागि आवश्यक पर्ने स्टिल पार्टका सामान पनि पुल निर्माण स्थलमा ढुवानी भइसकेको छ । नदीको कटानबाट पुललाई जोगाउनका लागि दुवैतर्फ ग्याबिन लगाउने काम पनि भइसकेको छ । उहाँले निर्माण कम्पनीले बिहानदेखि बेलुकासम्म काम धमाधम गरिरहेको बताउनुभयो । पुलको दुवैतर्फ स्टिल पार्टको जडान पनि भइसकेको छ । योजना प्रमुख नेपालीले आगामी जेठ मसान्तसम्म सक्ने गरी काम भइरहेको बताउनुभयो । ५५ मिटर लम्बाइ भएको पुल निर्माणका लागि २०८० असोज ६ गत म्याद थप गरिएको थियो । पुल निर्माणका लागि कुल लागत ११ करोड ८३ लाख ९४ हजार रुपियाँमा कार्यालयले निर्माण कम्पनीसँग सम्झौता गरेकोमा हालसम्म २० प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । भौतिक प्रगति भने ५० प्रतिशत पुगेको छ । अबको दुई महिनाभित्र पुल निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । यसअघि सो पुलको निर्माण ढिलाइ भएको भन्दै हुम्लावासीले उक्त नदीमा बेलिब्रिज माग गरे अनुसार हाल निर्माण भइरहेको पुलभन्दा केही माथि बेलिब्रिज निर्माण गरिएको छ ।