• १४ जेठ २०८१, सोमबार

युक्रेनी अकाल होलोदोमोर

blog

जोसेफ स्टालिनको सत्ता मातहत समष्टिवाद लाद्न तथा युक्रेनी राष्ट्रवादलाई झट्का दिन अपनाइएको क्रुर प्रयासमा ३९ लाख मानिसको ज्यान गएको थियो । 

स्टालिन सत्तामा रहँदा सन् १९३२–३३ मा युक्रेनको चरम अकालले गर्दा भोकमरीमा परेका मानिस खान खोज्न चारैतिर भौँतारिन थालेका थिए । खान योग्य जे पायो त्यही खाने मानसिकता उनीहरूमा झाङ्गिएको थियो । 

स्टेभिस्च गाउँमा एक युवा किसानले उजाड बगैँचामा पथिकहरू आफ्ना हातले खनिरहेको देखे । तीमध्ये धेरै जना दुर्बल थिए, उनीले सम्झे– उनीहरूको शरीर फुल्न सुरु भएको र चरम कुपोषणले गर्दा गन्हाउन थालेको थियो । 

सन् १९८० को दशकको अन्त्यतिर अमेरिकी कङ्ग्रेसद्वारा गठित आयोगले तयार पारेको प्रतिवेदनमा ती किसानले भनेका थिए, “तपाईंले उनीहरूलाई मात्र यताउता हिँडिरहेको देख्न सक्नुहुन्थ्यो, अनि एक लड्यो, त्यसरी नै अरू पनि लड्न थाले ।” गाउँको अस्पताल बाहिर रहेको चिहानमा डाक्टरहरूको भीडले स्ट्रेचरमा शवहरू बोकेर त्यहाँ खनिएका खाल्डामा हुत्याइदिए ।  

होलोदोमोरका रूपमा परिचित युक्रेनी अकालले त्यहाँको कुल जनसङ्ख्याको १३ प्रतिशत अर्थात् लगभग ३९ लाख मानिसको ज्यान गएको थियो । युक्रेनीले भोकमरी र काललाई जनाउन प्रयोग हुने शब्दको संयोजन नै होलोदोमोर हो । विश्वमा अन्यत्र तुषारो र अनावृष्टिले भएका भोकमरी विपरीत युक्रेनी साना किसानको स्थानमा राज्य नियन्त्रित समष्टिवाद तथा आफ्नो अधिनायकवादी अधिकारमा खतरा उत्पन्न गर्ने तìवका रूपमा स्वतन्त्र विचारधाराका युक्रेनीलाई तह लगाउने कुत्सित मानसिकता बोकेका एक तानाशाहको सनकको नतिजा थियो ।

टफ्ट युनिभर्सिटीमा वल्र्ड पिस फाउन्डेसनका कार्यकारी निर्देशक तथा सन् २०१८ मा प्रकाशित पुस्तक मास स्टारभेसन ः दि हिस्ट्री एन्ड फ्युचर अफ फेमिनका लेखक अलेक्स डी वालले भनेका छन्, “युक्रेनी अकाल स्पष्ट रूपमा मानव सिर्जित थियो ।” उनले त्यस अकाललाई दुःखद आर्थिक–सामाजिक नीतिहरूको हाइब्रिड प्रभावका रूपमा व्याख्या गरेका छन् । तीमध्येको एक नीतिले खास जनसङ्ख्याको दमन गर्ने वा तिनलाई दण्डित गर्ने लक्ष्य राखेको थियो ।

ती दिनमा रुसको पश्चिम क्षेत्रमा ब्ल्याक सी अर्थात् कालो सागरसँगै अवस्थित युक्रेन सोभियत सङ्घको एक हिस्सा थियो । सोभियत सङ्घमा जोसेफ स्टालिन शासन गरिरहेका थिए । सन् १९२९ 

मा तीव्र रूपमा कम्युनिस्ट अर्थव्यवस्था सिर्जना गर्ने मनसायबाट स्टालिनले समष्टिवाद लागू गरे । जसअन्तर्गत व्यक्तिगत खेतबारी र फार्मलाई राज्य नियन्त्रित सङ्गठनमा आबद्ध गरियो । अधिकांश जीवन निर्वाहका लागि खेतीपाती गर्ने युक्रेनका साना किसानले चाहिँ आफ्नो जमिन र रोजीरोटी सरकारलाई बुझाउन मानेनन् ।

प्रतिउत्तरमा सोभियत सङ्घका शासकले प्रतिवाद गर्नेहरूलाई कुलेक्स भन्यो । जसको अर्थ थियो सम्पन्न किसानहरू । सोभियत विचारधारामा ती राज्यका शत्रु थिए । सोभियत अधिकारीहरूले जबरजस्ती ती किसानबाट उनीहरूको खेतबारी खोसे तथा स्टालिनका गुप्तचर प्रहरीले थप ५० हजार युक्रेनी किसान परिवारलाई साइबेरिया लखेट्ने योजना बनाए । यस बारेमा एन एप्पल बमले सन् २०१७ मा प्रकाशित आफ्नो पुस्तक रेड फेमिन ः स्टालिन्स वार अन युक्रेनमा विस्तृत जानकारी दिएकी छन् ।

इतिहासवेत्ता तथा आधुनिक युक्रेन विषयका विशेषज्ञ र युनिभर्सिटी अफ पिटर्सवर्गको सेन्टर अफ रसियन, इस्ट युरोपियन एन्ड युरेसियन स्टडीका एकेडेमिक एड्भाइजर ट्रेभर इलाखको भनाइ यस्तो छ, “युक्रेन राष्ट्रलाई आफ्नो आधुनिक, सर्वहारा, समाजवादी राष्ट्रको विचारधारामा रूपान्तरण गर्ने लक्ष्यबाट स्टालिन अभिप्रेरित रहेको देखिन्छ, भलै यसबाट आफ्नो जनसङ्ख्याको ठूलो हिस्सामा भौतिक विनाश अपरिहार्य किन नहोस् ।” 

एप्पल बम लेख्छन्– यति हुँदा समेत युक्रेनी किसानसँग भोजनका लागि पर्याप्त अन्न रहेको हुनुपर्छ तर उत्पादनको लक्ष्य पूरा गर्न नसकेका कारण स्टालिनले उनीहरूसँग धेरथोर भएको अन्नसमेत दण्डका रूपमा जफत गर्न लगाए ।  

अमेरिकाको ओहियोमा रहेको मियामी युनिभर्सिटीमा रुसी इतिहासका प्राध्यापक स्टेफन नोरिस भन्छन्, “सन् १९३२–३३ को अकाल स्टालिन सरकारले गरेको पछिल्लो निर्णयले झनै विकराल हुन पुग्यो । सन् १९२९ मा तयार पारिएको योजना सोचे जसरी अगाडि बढ्न नसकेका कारण खाद्य सङ्कट र भोकमरी पैmलिएको स्पष्ट छ ।” 

नोरिसको भनाइमा सन् १९३२ डिसेम्बरको ‘अन द प्रोक्युरमेन्ट अफ ग्रेन इन युक्रेन, द नर्थ ककेसस एन्ड दि वेस्टर्न ओब्लास्ट’ दस्तावेजमा पार्टीका कार्यकर्तालाई लक्ष्यअनुसार उत्पादन गर्न नसक्ने क्षेत्रबाट बचेखुचेको अन्नसमेत जफत गरी भरपाई गर्न निर्देशन दिइएको थियो । युक्रेनी किसानमाथि यति अन्यायले समेत पुगेन, प्रतिरोध गर्ने सामूहिक खेती किसानीका मुखियालाई पक्राउ गर्ने तथा नयाँ कोटा पूर्ति गर्न नसक्ने पार्टीका सदस्यसमेत स्टालिनको कोपभजनको सिकार भए । 

एप्पल बमका अनुसार यसबीच स्टालिनले हजारौँ युक्रेनी शिक्षक तथा बुद्धिजीवीलाई गिरफ्तार गरिसकेका थिए । विद्यालय र पुस्तकालयबाट युक्रेनी भाषाका पुस्तक हटाइसकिएको थियो । सोभियत अधिकारीहरूले अन्नको कमीलाई युक्रेन विरोधी दमनका रूपमा समेत प्रयोग गरे । नोरिसले उल्लेख गरेअनुसार, ‘युक्रेनी विध्वंशकारीलाई लक्ष्य’ बनाएर सन् १९३२ मा जारी गरिएको राजाज्ञाले स्थानीय अधिकारीहरूलाई आफ्नो बोली व्यवहारमा युक्रेनी भाषाको प्रयोग नगर्ने तथा सन् १९२० को दशकमा विकसित भएको युक्रेनी सांस्कृतिक नीतिहरू खारेज गर्न भनेको थियो । 

जब स्टालिनका अन्न सङ्कलकहरू गाउँमा पुगे, सन् १९८८ को अमेरिकी कङ्ग्रेस कमिसनको रिपोर्टले भन्छ, खोज्दा फेला नपरोस् भनी किसानले आफ्नो वरिपरिको जमिनमा अन्न गाडेर त राखेका छैनन्, सोचेर सोभियत अधिकारीहरूले किसानको घरमा माटोको भुईंमा घोच्न टुप्पोमा फलामे ठिन्को जोडिएको काठका लामा पोल साथमा लिएर गएका थिए । अन्न सञ्चय गरेको आरोप लगाएर किसानलाई जेल हाल्ने काम समेत गरियो । कहिलेकाहीँ त अन्न सङ्कलकहरूले दण्ड दिन प्रतीक्षा समेत गर्दैनथे । 

उदाहरणका लागि आफूले समातेका माछा र भ्यागुता लुकाएका दुई युवा पक्राउ परे र उनीहरूलाई सोभियत गाउँमा लगियो । जहाँ उनीहरूलाई बेस्सरी पिटियो तथा हात बाँधेर खेतमा लछारियो । अधिकारीहरूले मुख र नाक थुनिएको अवस्थामा उनीहरूलाई निसासिएर मर्न त्यहीँ छाडिदिए । 

अकालले विकराल रूप लिँदै जाँदा खानाको उपलब्धता बढी भएको क्षेत्रमा मानिसहरू पलायन हुने कोसिस गर्न थाले । यस दौडधूपमा कोही सडक किनारमै मरे भने कोही चाहिँ गुप्तचर प्रहरीद्वारा लखेटिए तथा राज्य सत्ताको आन्तरिक पासपोर्ट प्रणालीका अगाडि विवश भए । अमेरिकी कङ्ग्रेस कमिसनको रिपोर्टअनुसार युक्रेनी किसानले बाँच्नका लागि खतरनाक विधिको सहारा लिए । उनीहरूले पाल्तु पशुलाई मारेर खाए तथा फूल, पात, रुखका बोक्रा र जरासमेत खान उनीहरू पछाडि परेनन् । केही सुकेका गेडागुडी फेला पारेकी एक महिला धेरै भोकाएकी थिइन् र नपकाएरै उनले तुरुन्त ती गेडागुडी खाइन्, ती गेडागुडीले पेट ढाँडिएर उनको मृत्यु भयो ।   

युक्रेनका ग्रामीण भेगमा अकालले विकराल रूप लिँदै जाँदा प्रतिउत्तरमा स्टालिन र उनका सहयोगीले अपनाएका नीति नै त्यो अकाल इच्छानरूप भएको बलियो प्रमाण हुन्, इलाखको यस्तो मत छ । उनका अनुसार, स्थानीय बासिन्दा र अधिकारीहरूले राज्यसँग सहयोगको याचना गरे । खानाको खोजीमा गाउँबाट शरणार्थीहरूको हुल सहरहरू त्यहाभन्दा पर युक्रेन र सोभियत गणतन्त्रको सीमासम्म पुग्यो तर राज्यको प्रतिक्रिया भने समस्या विकराल बनाउन लक्षित रह्यो ।   

सन् १९३३ को ग्रीष्मकालसम्म केही सामूहिक फार्ममा एक तिहाइ मात्र बासिन्दा बाँकी रहन गए तथा श्रम शिविर खचाखच भरियो । खेती गर्ने मानिस नै नरहेपछि स्टालिनको सत्ताले श्रमिक कमी पूर्ति गर्न सोभियत सङ्घका अन्य क्षेत्रबाट ल्याएर रुसी किसानलाई युक्रेनमा बसोबास गराउने काम ग¥यो । खाद्य सङ्कट झनै व्यापक हुने सम्भावना देखेर स्टालिन सरकारले सन् १९३३ को शरद ऋतुदेखि अन्न सङ्कलन नीति हटाउन सुरु त ग¥यो तर भोकमरीले विकराल रूप लिइसकेको थियो । 

सोभियत सङ्घ विघटन भएर स्थापना भएको रुसी सरकारले युक्रेनमा अकाल परेको कुरा स्वीकार त ग¥यो तर त्यसलाई जनसंहार मानेन । संयुक्त राष्ट्रसङ्घको ‘यूएन कन्भेन्सन अन द प्रिभेन्सन एन्ड पनिस्मेन्ट अफ दि क्राइम अफ जिनोसाइड (१९४८)’ को दफा २ मा नरसंहार बारेमा यसो भनिएको छ, “समग्रमा वा कुनै भागमा राष्ट्रिय, जातीय, वंशीय वा धार्मिक समूहको नाश गर्ने उद्देश्यले गरिएको कुनै पनि कृत्य ।” 

सन् २००८ अप्रिलमा रुसको तल्लो सदनले जातीय मनसायलाई पुस्ट्याउने गरी अकाल योजनाबद्ध भएको बताउने कुनै ऐतिहासिक प्रमाण नभएको सङ्कल्प प्रस्ताव पारित गरेको थियो । जे भए पनि १६ देशले युक्रेनको होलोदोमोरलाई यथार्थ मानेका छन् तथा अमेरिकाले समेत स्टालिनको युक्रेनमा अकालका रूपमा जनसंहार गरेको बताएको छ । 

स्टालिनका नीतिले लाखौँ मानिसको ज्यान गए पनि अन्ततः ती नीति युक्रेनीको स्वायत्तताको आकाङ्क्षालाई दमन गर्न असफल हुन पुगे तथा दीर्घकालीन रूपमा तिनले प्रतिघात नै हुनेछ । अकाल इतिहासवेत्ता डी वालको भनाइ छ, “अकालले प्रायः सामाजिक–आर्थिक वा सैन्य उपलब्धि हासिल हुन्छ । जस्तै भूमिमाथिको स्वामित्व हस्तान्तरण वा कुनै क्षेत्रबाट जनसङ्ख्या हटाउनु, किनभने मर्नुभन्दा धेरैजसो त्यहाँबाट भाग्छन् तर राजनीतिक विचारधाराका रूपमा यी कदम कर्ताका लागि बढी प्रत्युत्पादक बन्छन् । युक्रेनको मामिलामा जे जस्तो भयो यसले धेरै विरोध र आक्रोश जन्मायो, जसले युक्रेनी राष्ट्रवाद झनै मौलाउन पुग्यो ।”

जब सन् १९९१ म सोभियत सङ्घ विघटन भयो युक्रेन अन्ततः एक स्वतन्त्र राष्ट्र बन्यो तर होलोदोमोर अभैm पनि युक्रेनीहरूको मनमा पीडादायी एक साझा पहिचानका रूपमा  स्थापित छ । 


–हिस्ट्रीबाट उमेश ओझाद्वारा  अनुवादित र सम्पादित