खलङ्गा समाचारदाता
दार्चुला, भदौ ७ गते । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलास्थित तुसारपानी–तिङ्कर सडकखण्ड अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा दुईतिरबाट सडक निर्माण गर्ने भएको छ ।
सरकारले चालु आवका लागि तुसारपानी–तिङ्कर सडक निर्माणका लागि विनियोजन गरेको बजेट छ करोड ३१ लाख रुपियाँमा व्यास गाउँपालिका–१, छाङ्रुबाट तल तथा वडा नम्बर २ को तम्बाकुबाट सडक निर्माण गर्ने योजना रहेको नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख प्रमुख सेनानी राजेश कटवालले जानकारी दिनुभयो ।
विसं २०७७ मा मन्त्रीपरिषद्ले निर्णय गर्दै तुसारपानीदेखि तिङ्कर भन्ज्याङसम्मको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । आव २०७७/७८ देखि गत आव २०८१/८२ सम्म नेपाली सेनाले तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटरमध्ये १७.५ किलोमिटर सडकको ट्रयाक खोलेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । आयोजना प्रमुख प्रमुख सेनानी कटवालका अनुसार नेपाली सेनाद्वारा व्यास गाउँपालिका–३, तुसारपानीदेखि तम्बाकुभिरसम्मको १५.५ किलोमिटर र वडा नम्बर १ को छाङरुदेखि तिपुलच्याक्तीसम्मको दुई किलोमिटर गरी १७.५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य भएको छ ।
यस वर्ष प्राप्त बजेटको सीमाभित्र रहेर सडकको नयाँ ट्र्याक खोल्ने र स्तरोन्नति गर्ने योजना रहेको उहाँले बताउनुभयो । व्यास–२, आतुङ्तीदेखि कल्जुसम्मको करिब दुई सय मिटर सडक जोडिएपछि तम्बाकुभिरमा पुग्ने र त्यहाँबाट माथि तथा वडा नम्बर १ को तिपुलच्याक्तीदेखि तल नयाँ ट्र्याक निर्माणको काम गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो । नेपाली सेनाले आव २०८१/८२ देखि छाङरुबाट तल सडकको नयाँ ट्र्याक खोल्ने कार्य गरिरहेको छ ।
गत वैशाख तेस्रो साता व्यासको सुन्सेराबाट छाङरुमा हेलिकोप्टरमार्फत मेसिन ढुवानी गरी सडक निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । सेनाले हाल तुसारपानीदेखि तम्बाकु र छाङरुदेखि तिपुलच्याक्तीसम्मका विभिन्न स्थानमा सडक निर्माण गरिरहेको छ । नेपाली सेनाले दार्चुला–तिङ्कर सडकलगायत कर्णाली कोरिडोर, बेनी–आरुघाट–लार्केभन्ज्याङ र खाँदबारी–किमाथाङ्का सडक आयोजनामा समेत कार्य गरिरहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।