• ७ भदौ २०८२, शनिबार

जयपृथ्वी बहादुरको १४९ औं जन्मजयन्ति

गोपका सम्पादक, भाषाविद् कुलिन भएर पनि निर्वासनमा पुगे

blog

काठमाडौँ, भदौ ७ गते । जयपृथ्वीबहादुर सिंहको जन्म अगस्त २३, सन् १८७७ मा चैनपुरमा रानी रुद्रकुमारीदेवी र राजा विक्रमबहादुर सिंहका छोराका रूपमा गोर्खा राज्यको पश्चिम सिमाना पारी राजाको शासन भएको बजाङ राज्यमा भएको थियो । उहाँकी आमा नेपालका प्रथम शक्तिशाली प्रधानमन्त्री जङ्गबहादुर राणाकी छोरी थिइन् ।

जयपृथ्वीले आफ्नो बाल्यकाल आफ्नो परिवारसँग बजाङमै बिताए । सन् १८८५ मा उनी काठमाडौँ आएर थापाथली दरबार पाठशालामा प्रारम्भिक शिक्षा सुरु गरे । राज्यको प्रशासनिक प्रमुख बनाउनका लागि राणाको जहानिया शासनले उनलाई प्रयोग गर्न चाहन्थे । पछि सन् १८८९ मा प्रधानमन्त्री वीरसमशेरले उनका बुवा विक्रमबहादुर सिंहलाई बजाङको राजाबाट हटायो र १२ वर्षको उमेरमा जयपृथ्वीलाई बजाङका बाल राजाको पद बहाली गरियो । उनले सन् १८९३ मा उच्च शिक्षा अध्ययनका लागि कलकत्ता प्रस्थान गरे । केही समयपछि सन् १८९४ मा उनको विवाह प्रधानमन्त्री चन्द्रसमशेरकी छोरी खग राज्यदिब्यश्वरी राज्य लक्ष्मीसँग भयो । आफ्नो स्नातक अध्ययन चलिरहेकै बेला एक वर्षका लागि उनि बजाङ आए । सन् १८९९ मा गोर्खा राज्यलाई प्रशासनिक सेवा दिन वीरसमशेरका शासनका बेला उनी फेरि काठमाडौँ आए (सन् १९०१ मा देवसमशेरको छोटो शासनकालमा जयपृथ्वीको द्रुत पदोन्नति भयो । उनी राज्य सल्लाहकार समितिको शैक्षिक सुधार हेर्ने सदस्यमा र मुलुकको पहिलो पत्रिका गोर्खापत्रको प्रमुख सम्पादकमा राखिए । त्यति बेलासम्म सर्वसाधारण जनताका लागि शिक्षा अति दुर्लभ थियो ।

शिक्षाको विशेषाधिकार शासकहरूका लागि मात्र थियो । थोरै मात्रामा भएका शैक्षिक संस्थाहरूमा अंग्रेजी, संस्कृत, पर्सियन र बङ्गाली भाषामा सञ्चालित हुन्थे । बोलचालको पर्वते भाषालाई महङ्खवहीन मानिन्थ्यो (पराजुली २०१२ः३००) । यस्ता चुनौतीहरुबाट आजित भएर जयपृथ्वीले विद्यालय स्तरीय पाठ्यपुस्तक लेखी प्रकाशित गरे र बोलचालको भाषामा काम लाग्ने शैक्षिक सामग्री पनि छपाए । उनको यो कार्यले नयाँ खोलिएका भाषा पाठशालाका माध्यमले ठुलो मात्रामा जनताले शैक्षिक ज्ञान प्राप्त गर्ने अवसर पाए । देवसमशेरको संरक्षकत्वमा रहेर, जयपृथ्वीको निर्देशनमा बहुसङ्ख्यक काठमाडौँमा साथै देशभर ५० वटा भाषा पाठशालाहरू खोलिए ।

देवसमशेरको शासनको अन्त्य पछि जयपृथ्वीका ससुरा सत्तारोहण भएपछि देशमा गरिएको शैक्षिक लगानी बन्द गरियो र सन् १९०२ मा जययृथ्वीलाई ब्रिटेनका लागि कलकत्तामा गोर्खाको प्रतिनिधि वकिलको रूपमा खटाइयो । नयाँ प्रधानमन्त्रीका रूपमा राज्यशक्ति सञ्चय गरिसकेपछि काठमाडौँको राजनीतिक अवस्था फेरियो र जयपृथ्वीलाई पुनः १९०५ को प्रशासनिक जिम्मेवारीमा फर्कन र बजाङको राज्य प्रशासन चलाउन भनियो । उनी बजाङ फर्किए र सन् १९०६ मा सत्यवादी पाठशालाको स्थापना गरे र काठमाडौँ नफर्केसम्म राज्य प्रशासन चलाए । त्यसै समयमा विस्तारै राज्य कर्मचारी तन्त्रमा अधिकारका लागि विभिन्न मागहरु उठ्न थाले, जस्तै राजस्व सङ्कलन, निजामती अदालत, कार्यालय आदि । आवश्यक तालिम दिनका लागि सन् १९०५ मा राणा शासकले श्रेस्ता पाठशाला खोलेका थिए, यसरी पहिले शैक्षिक सुधारहरु एकदमै रोक लगाइएका थिएनन् बरु यिनलाई आवश्यकतानुसार नयाँ स्वरुप दिई प्रशासनिक प्रयोगमा लिइन्थ्यो । काठमाडौँ फर्केको छोटो समयमै जयपृथ्वीले आप्नो इमान्दारी पुष्टी गरिसकेपछि उनी भारदारी सभाको प्रमुखमा नियुक्त भए । भारदारी सभा गोर्खा राज्यको मुख्य न्यायिक निकाय थियो । र गोर्खापत्रको प्रधान सम्पादकमा पनि पुनःस्थापित भए । यी कामहरुमा उनले आफ्ना ससुरालाई युरोप भ्रमणमा साथ दिँदै कूटनीतिक सहपाठीको रूपमा सन् १९०८ मा सँगै रहे (गृह विभाग १९०८) । त्यसपछिका वर्षहरूमा उनले राणा प्रशासनका अरू महत्त्वका पदूरुमा पनि काम गरी आफ्नो लेखन र प्रकाशन कलामा वृद्धि गरे, खासगरी शिक्षा क्षेत्रबाट उनले साहित्य र दार्शनिक धारणा बनाए ।

जयपृथ्वी र चन्द्रसमशेरको आपसी सम्बन्ध बढी जसो तनावयुक्त हुन्थ्यो र यो सम्बन्ध राणा शासकको विश्व युद्धमा ब्रिटेनका पक्षमा सहभागी हुने निर्णयले झन् बल्झियो । ब्रिटेनले पहिलेदेखि नै हिमाली क्षेत्रका युवालाई अंग्रेज गोर्खा युद्ध (सन् १८१४-१८१६) बाट नै गोर्खा राइफलको स्वरूपमा राखी सकेको थियो र निकै सङ्ख्याका सैनिक अभियानमा प्रयोग गरिसकेको थियो । प्रथम विश्वयुद्धका बेला सैनिक भर्ना अभियान,  बिना मतलव स्वयंसेवाका नाममा समेत उच्च स्थानमा पुग्यो सन् १९१४ देखि १९१८ सम्म यो हिमाली भेगबाट करिब दुई लाख युवाले एङ्लो भारतीय सेनामा काम गरी युरोप र एसियाका धेरै युद्ध मैदानमा भिँडे, २० हजार जति मारिए भने निकै अज्ञात सङ्ख्यामा घाइते, बेपत्ता र युद्धबन्दी बनाइए । यो स्थितिलाई पाश्च्यदृष्टि लगाउदा यस्तो देखापर्छ की यस्तो सैनिक विकास, गोर्खा राज्यले यो युद्धमा बलियो सहभागिता गरिनु पर्ने नीति र त्यसले निम्त्याएको दुर्दशा र यसले मध्य हिमालय भेगमा छोडेको असरले राजा जयपृथ्वी र चन्द्रसमशेरका बिचमा उल्लेखनीय ढङ्गले सम्बन्ध टुट्ने बाटो पहिल्यायो । राजा जयपृथ्वीले त्यतिबेला आफ्नो जीवनको मोड बदलिनुको प्रमाण, मैले यो सोधपत्रमा राख्न नसकेता पनि उनले आफ्नो जीवनको बाटो पक्कै बदलेको प्रस्ट छ । उनले राज्य प्रशासनका सम्पूर्ण पदहरू त्यागी तत्कालीन ब्रिटिस इन्डियाको कुमाउँको हिमाली भेगमा गई बस्न सुरु गरे । जो उनको सन् १९१८ सम्मको एक प्रकारको स्वघोषित निर्वासन थियो ।

ऐतिहासिक कागजबाट अगाडि देखिएको छ की उनले ब्याङ्लोरको सिभिल र सैनिक केन्द्र निर सन् १९२१ मा जमिन खरिद गरी सन् १९२४ मा वाटरफ्रन्ट अल्सुर तालसँगै जय भवनको निर्माण गरी स्थायी रूपमा बस्न थालेको देखिन्छ (विदेश र राजनीतिक विभाग सन् १९२१) । त्यहाँ रहँदै बस्दै गर्दा उनको सेन्ट जोसेफ कलेजका इतिहासका प्राध्यापक पि. आर. सिङ्गाराचारीसँग परिचय हुन गयो, राजा जयपृथ्वीका दार्शनिक  कार्यहरूको उनले अंगे्रजीमा रुपान्तरणको काम गरे । यी दुई जनाको आपसी सम्बन्ध मधुर र फलदायी भयो र उच्चतम् विन्दुमा पुगी सन् १९२८ मा मानववादका तीन वटा ग्रन्थहरु प्र्रकाशित भई जयपृथ्वीको अध्यक्षतामा मानववादी क्लबको स्थापना भयो । सन् १९२९ मा जयपृथ्वीले मुम्बईको जिन्ना हलमा प्रवचन दिदै मानववादी क्लबको विचार, नाम, उद्देश्यहरु माथि व्याख्या गरे । यी विषयबस्तु र विचारले वैयक्तिकरुपमा शान्ति र सद्भावनाका लागि काम गर्न मैले ब्याँङ्लोरमा मानववादी क्लबको स्थापना गरेको छु । यो क्लबको नाममा दुई शब्द ह्यूमनिष्टिक र क्लब दुई पाटोले जोडिएका छन् । कुनै पनि जाति वा रङ्गभेदविरुद्धको अभियान र अर्को मानवता, शान्ति र सद्भावलाई मानव जातिले सजिलै पाउन सकोस् र कुनै पनि जात, धार्मिक मत, समूह र रङ्गका हिसाबले विभेदको अन्त्य होस् । यो क्लबको मुख्य उद्देश्य सबैलाई प्रत्यक्ष ज्ञानको अवसर, जो सबै मानवका लागि जरुरी छ, उपलब्ध स्रोत र साधनअनुसार ब्यापकरुपमा फैलाउनु यो क्लबका सदस्यहरुको काम हुने छ । यो ज्ञानको प्रभावकारिता पुष्टी गर्नुपर्ने छ (सिंह १९९७ः १९३०ः ४१,४२) ।

मानववादी क्लबको हरेक हप्ता जय भवनमा बैठक राखिन्थ्यो र यस क्षेत्रसँगका सरोकारका विषय तथा समाजका विविध समस्या र दर्शनका विषयमा बहस हुन्थ्यो । आगन्तुक अतिथि प्राध्यापकहरुका विचारहरु समेतको अङ्गे्रजीमा द ह्यूम्निस्ट नामक मासिक पत्रिकामा प्रकाशित गरिन्थ्यो, जसमा मानववादी क्लबका गतिविधि, साप्ताहिक बैठकमा भएका भाषण, दर्शनतिरको सक्रियता, क्षेत्रगत गतिविधि, समाज, मानसिक स्मृतिका घटनाबारे प्रकाशन हुन्थे । यसरी अगाडि बढ्दै गर्दा जयपृथ्वी मानववादको विचार दक्षिण एसियाली उपमहाद्वीपका सीमित मानिसका लागि मात्र नभई पूरै आन्तरिक विश्वमा फैलाउनु पर्छ भन्ने कुरामा सहमत भए । यो योजनामा उनलाई समस्या भनेको वजेटको अभाव थियो, यसका लागि उनले ससुरा चन्द्रसमशेरसँग असफल प्रयास गरे, त्यसबाट उनी पूरै हतास भए र पूरै कमजोर देखिए । अपहरित व्यक्ति जस्तै अभिनय गरेर आफ्ना परिवारसँग रकम माग गरे (विदेश तथा राजनीति विभाग, १९२८,१९२९) ।

यद्यपि उनको यो बनावटी चालको सत्यतापछि पत्ता लागेता पनि उनको भ्रमणक लागि बजेट बन्ने भयो र सन् १९२९ मा उनले युरोपको आन्तरिक भ्रमण गरे, पछि उत्तर अमेरिका र दक्षिण पूर्व एसिया पनि पुगे । उनले जेनेभा, बर्लिन, पाराग्वे, भियना, बुढापेष्ट, बेलग्रेट, बार्सा, पेरिस र लन्डनमा विभिन्न खालका मानिस माझ भाषण दिए (सिंह १९३०) । सन् १९३३ मा जयपृथ्वीलाई अमेरिकाको सिकागोमा आयोजित “विश्व आस्था मैत्री संघ” नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आमन्त्रण गरियो । सिकागोबाट भारत फर्कदै गर्दा उनले धेरै ठाउँमा अन्य बौद्धिक ब्यक्तित्वकासाथ रही सम्बोधन गरे । उनले टोकियो, संघाई र रंगुनमा मानववादी क्लबको स्थापना पनि गरे ।

अविसिनियाको युद्धमा सन् १९३० को मध्यतिर जयपृथ्वीले एक अधिकारकर्मीका रूपमा संलग्न हुने अवसर पाए । यो कुरा त्यसताका नियमित रुपमा प्रकाशित हुने पत्रिका “गोर्खा सेवक”ले १२ फ्रब्रुवरी सन्१९३६ मा प्रकाशित गरेको थियो, जसमा यस्तो खबर थियो “प्राप्त खबर अनुसार नेपालका जयपृथ्वीबहादुर सिंह अहिले अविसिनियामा छन्, योभन्दा पहिले उनी जापानमा थिए । उनी जब अविसिनिया र इटलीबिच युद्ध सुरु भएपछि त्यहाँ गए र उनले जापानबाट दुई जना डाक्टर र चार जना नर्सहरूलाई निम्ता गरी बोलाएका छन् (गुरुङ, गोर्खा सेवक, १९३६)२१ तेतिखेर उनले ब्रिटिस राहदानी पनि प्राप्त गर्न सफल भएका थिए भन्ने कुरा पनि अन्य कागजातबाट खुलेको छ । यो कुरा मैसुर राज्यको “प्रोटेस्टेड अबजेक्ट” ले जनाएको थियो । (विदेश तथा राजनीति विभाग, १९३२) भनिन्छ की उनले जापानबाट मेडिकल सहयोग मात्र हैनकि अविसियनहरूको पिडा कमगर्ने अभियानका लागि ग्यास मास्क पनि झिकाएका थिए ।

(सिंह १९७८ वि.सं. : , २०३५ः६५) युद्ध पिडितको उद्धारमा उनको सक्रियता देखेर इटालियन सेनाले उनलाई पक्राउ गरी थुनामा राखे पछि रोकिएको थियो । यो घटनामा ब्रिटेनले हस्तक्षेप गरेपछि उनी मुक्त भइ ब्याङ्लोर फर्किए । यो घटनाक्रम पछि उनको ब्रिटिस पासपोर्ट खारेज गरियो र उनलाई ब्रिटिस राज भएको क्षेत्रबाट बाहिर जान नपाउने गरियो । (विदेश तथा राजनीति विभाग १९३६) दोस्रो विश्व युद्धको सुरुआतसँगै उनको स्थिति खराब हुन थाल्यो । उनले सुरुमा बेलायती अधिकारीहरुसँग सम्पर्क गरी एउटा सानो रेडक्रसको आकस्मिक सेवा टोलीलाई गोर्खा राईफलका मानिसहरुको सहयोगमा संचालन गर्न अनुमति दिन आग्रह गरे । तर दिल्लीस्थित विदेश विभागका अधिकारीहरु र संयुक्त राज्य सरकारका मुख्य सचिवले मार्च सन् १९४०मा उनको गोप्य पत्राचार ठेगाना अनुसार उनी धेरै वर्षदेखि अवांन्छित गतिविधिमा लागेको, जापानी एजेन्ट भएको शङ्का व्यक्त गरे, त्यसपछि भारत सरकारले उनको सेवा लिन इन्कार गरिदियो । (विदेश विभाग १९३९) यसका साथसाथै भारतीय प्रशासनले सन् १९४०मा उनलाई उनी बसेका घरबाटनै पक्राउ गर्न आदेश दियो ।

उनले ब्रिटिश प्रशासनलाई आफ्नो निर्दोषताबारे मनाउन गृह विभागका सचिवलाई आफ्ना तर्कसहित पत्र लेखे । “कुनै पनि मानिसले भन्न सक्दैन कि म कुनै पनि राजनीतिक गतिविधि र कुनै प्रचारित फन्डामा कहिले पनि सङ्लग्न रहेको छु र मेरो नाम कहिले पनि कुनै पनि बिध्वंसक, क्रान्तिकारी, प्रतिक्रियावादी र कुनै बदमाशी आन्दोलनमा जोडिएको छैन । वास्तबमा केही लामो समयदेखि लगभग १५ वर्ष यता मेरा गतिविधिहरू बेजोडसँग साहित्य, दर्शन, मानववादको खोजमा सीमित छन् । सन् १९३८ देखि तिनीहरू झन बढी सीमित र झन सीमाबद्ध भएर मानववाद र परोपकारी विषयमा सीमित छन्”(विदेश विभाग १९४०ः१९५) ।

दुर्भाग्यवस ब्रिटिस अधिकारीहरूले उनको तर्कप्रति कुनै प्रतिक्रिया जनाएनन्, त्यही कारणले जयपृथ्वीको स्वास्थ्य छिटो बिग्रिन थाल्यो र सन् १९४० सेप्टेम्बरमा जय भवनमा उनको देहान्त भयो ।

प्रस्तुत आलेख जयपृथ्वीबहादुर सिंहका बारेमा हाइडेलवर्ग विश्वविद्यालयका सहायक प्राध्यापक डा. स्टेफन लुइडरले आफ्नो पीएचडी थेसिस लेख्नु भएको र सो थेसिसमा आधारित रहेर तयार गरिएको विश्वबौद्धिक इतिहासमा जयपृथ्वीबहादुर सिंह नामक पुस्तकको अंशमा आधारित छ । सो पुस्तक आज उहाँको जन्मस्थान बझाँङमा सार्वजनिक गरिँदै छ ।