• ७ भदौ २०८२, शनिबार

दार्चुलामा चट्याङ लागेर तीन जना घाइते

blog

कृष्णबहादुर धामी

दार्चुला, भदौ ७ गते । दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । 

शुक्रबार राति ९ बजेतिर घरको आगनमा चट्याङ पर्दा शैल्यशिखर नगरपालिका‐३, लुइटाका २४ वर्षीय बिमला लावड, चार वर्षीय रिया लावड र तीन महिने शिशु दिपेश लावड घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । 

घाइतेलाई मालिकार्जुन गाउँपालिका‐७, जोलजिवीमा चट्याङ लागेको उहाँले बताउनुभयो । जोलजिवीका मनीराम टमटाको घरको आगनमा चट्याङ पर्दा भित्र कोठामा रहेका उनीहरूलाई समेत चट्याङको छिटा परेको बताइएको छ । 

उनीहरूको अवस्था सामान्य रहेको तथा अहिले घरमै रहेको उहाँले बताउनुभयो । घाइते रिया र दिपेश बिमलाका छोरा छोरी हुन् । बिमला माइती घरमा आएको बेला चट्याङ लागेको बताइएको छ । चट्याङ लागरे उक्त घरको गोठमा रहेको एक गोरुको मृत्यु भएको प्रहरी निरिक्षक रावतले जानकारी दिनुभयो ।

यसैबिच शुक्रबार रातिको अबिरल वर्षाका कारण महाकाली नगरपालिका‐१, लास्कुस्थित दशरथनगर आधारभुत विद्यालयको अगाडितर्फ रहेको खेल मैदानको पर्खाल भत्किएर सो ठाउँका बिरसिंह धामीको एक तले घरमा क्षति पुगेको छ । 

पर्खाल भत्किदा घर भित्र माटो सहितको लेदो पसेर घरमा क्षती भएको हो । मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । सोही पहिरोका कारण रिना साहुको एक तले पाँच कोठाको पक्की घरको पछाडिको पर्खाल चर्केको तथा मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।

धामीको पाँच जनाको परिवार र साहुको छ जनाको परिवारलाई स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नजिकै रहेको आफन्तको घरमा सुरक्षित सारिएको उहाँले जानकारी दिनुभयो ।