• ७ भदौ २०८२, शनिबार

कान्तिराजपथ र त्रिभुवन राजपथ सञ्चालनमा

blog

स्मिता अर्जेल

मकवानपुरगढी, भदौ ७ गते । हेटौँडा–काठमाडौँ जोड्ने मुख्य राजमार्ग कान्तिराजपथ शनिबार बिहान ११:१५ बजेदेखि पुन: सञ्चालनमा आएको छ ।

शुक्रबार साँझ ५ बजेदेखि भीमफेदी–८, भर्याङडाँडास्थित सडक खण्डमा पहिरो खसेर यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय ठिंगनको पहल र सडक विभागको सक्रियतामा बिहानैदेखि पहिरो हटाउने कार्य तीव्र पारिएको थियो । करिब १८ घण्टापछि सडक सञ्चालनमा आएपछि यात्रुहरूले सहज महसुस गरेका छन् ।

यस्तै, भिमफेदी गाउँपालिका–१, बागझुरा नजिकै ५०० मिटर पश्चिमतर्फ त्रिभुवन राजपथ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गएराति करिब १०:१०बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक अबरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका थिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा पहिरो पन्छाइ भदौ ७ गते दिउँसो १२ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शुक्रबारको अविरल वर्षापछि कान्तिराजपथसँगै हेटौँडाबाट काठमाडौँ पुग्ने अन्य छोटा दूरीका मार्गहरू–सिस्नेरी सडकखण्ड र फाखेल सडकखण्ड पनि अवरुद्ध हुँदा यात्रुहरू घण्टौँसम्म अलपत्र परेका थिए । अहिले ती मार्गहरू क्रमश: खोल्ने कार्य जारी रहेको सडक विभागले जनाएको छ ।

यसैबिच, हेटौँडाको कमलमत्ता क्षेत्रमा खसेको ठुलो पहिरो अझै हटाउन बाँकी छ । त्यहाँ माटो र ढुङ्गाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ ।