तिज नजिकिँदै गएपछि माइतीघरको सम्झना बेजोड आउने रहेछ । तिजको रौनक सहरमा बढ्दै गइरहेको थियो । एकदिन सासूआमाले भन्नुभयो, “यस वर्षको तिजमा तिमीलाई माइतीघर पठाइदिनु है भन्दै हुनुुहन्थ्यो, सम्धिनीले । लिनलाई भाइ पठाइदिन्छु भन्नुहुन्थ्यो तर हाम्रा त चेलीबेटी धेरै छन् । मिल्दैन नि !”
म चुपै लागेँ । उहाँ फेरि बोल्नुभयो, “के गछ्र्यौ त अब माइतीघर परै छ । आफ्नो, संस्कृति र चाडपर्व त जहाँ मनाए पनि भइहाल्छ नि !” सासूआमाले कुरालाई मोड्दै भन्नुभयो,
“ए ! साँच्चै छोरीहरूले त हिजै फोन गरेका थिए, बिहानै आउँछौँ भनेर । अलि छिटो छिटो गरेर भान्सा तयार पार है । अनि भोलिको दरको सुरसार पनि आजै गरेर राख । अलमल नगर ।”
उहाँले तिजबारे धेरै नै सकारात्मक धारणा पनि राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नो परम्परा र संस्कृति त जोगाउनै पर्छ । बरु अर्काको देखासिकी गर्ने भड्किलो प्रवृत्ति त्याग्नु पर्छ । तिजमा रमाइलो गर्नु पर्छ, गफगाफ गर्नु पर्छ । गीत गाउनु पर्छ, कम्मर हल्लाइहल्लाई घरभित्रै नाच्नु पर्छ ।”
मैले पनि सासूले अराए झैँ गरिदिएँ । झिसमिसे बिहानै जुरुक्क उठेर भान्सातिर लागेँ । बुहारीको दायित्व पूरा गर्न अघि बढे । अनि बिहानैदेखि मिठो बोल्दै र उज्यालो अनुहार बनाउँदै मिठोमसिनो खाना पस्किन लागेँ । एकाएक कान्छी नन्दले भन्नुभयो, “भाउजू, टलक्क टल्केकै छैनन् खाना राखेका प्लेटहरू के सफा गरेको त्यस्तो ।”
अमाजूले थप्नुभयो, “तरकारीमा त नुनै लागेको छैन, चिल्लो पनि अलि बढी भएछ, स्वास्थ्यको त विचार गर्नु पर्छ
नि ! हामीहरू तिज मनाउँदै छौँ, अझै रमाइलो गर्न बाँकी नै छ । के गरेको यस्तो ।”
मन खल्लो पार्दै आफन्ततिर हेरिरहेँ र खिस्स हाँसेँ तर एक शब्द नझारी भित्रभित्रै लामो सुस्केरा तानेँ र मनमनै भने, “कसलाई मन लाग्दैन र आफ्नो प्यारो माइतीघर जान, आफ्नै आमा र दिदीबहिनीसँग न्यानो तिज मनाउन ।”
मनभित्र कति रहर र उमङ्ग थिए होला आफन्तसँग बसेर नाच्ने, गाउने, हाँस्ने र रमाइलो गर्ने । आफ्नो मनको सुस्केरी बिसाउने, मनको बह पोख्ने तर त्यस्तो शब्दको मर्म बुझाउनै सकिनँ बरु त्यसै गरिदिएँ, जसो जसो उनीहरू चाहन्थे, उनीहरूले जे अराए । मन धेरै आत्तियो, एकदमै निरीह र एक्लो भएको महसुस गरेँ ।
भान्सामा काम गर्दागर्दै आमाको फोन बजेपछि म हर्षित भएँ, फुरुङ्ङ भएँ । सासूआमाले भन्नुभयो, “सबै जनालाई खाना खुवाएपछि आफू पनि खाएपछि कुरा गर्ने, खाना चिसो हुन्छ, काम बाँकी रहन्छ । कति बज्छ, तिम्रो फोन ट्वार ट्वार ।”
डाइनिङ टेबलमाथि बजेको फोन उठाउने आँट गर्नै सकिनँ, केही पनि बोल्ने आँट गर्नै सकिनँ । चुपचाप लागेर भान्सातिरै अल्झिएँ, भान्सामा नै आफूलाई पस्किएँ, अलमल्ल परेँ ।
पछि फेरि दिउँसो आमाले फोन गर्दा हाँस्दै भनेँ, “हेर्नु न, कति माया गर्ने घरपरिवार पाएकी छु, सबै आफन्तसँग रमाइलो गर्दागर्दै मैले त फोन गर्न पो बिर्सेछु ।” फोनमा आमा रुँदै भन्दै हुनुहुन्थ्यो, “यो लगातार तेस्रो वर्ष हो नानी तँ तिजमा माइत नआएको, राम्ररी तिज मनाएस् । घरपरिवारलाई सधैँ आफूभन्दा माथि राखेस् ।”
“हुन्छ हुन्छ नि ! आमा” म आँखाको डिलसम्म टलपल भएको आँसु लुकाउँदै अवरुद्ध आवाजलाई दबाउँदै भन्दै थिएँ, “हजुरले भने झैँ गरिरहेकी छु, सबैको माया र ममता पाइरहेको छु ।”
मन रोए पनि हाँसेर आमालाई सम्झाउँदै थिएँ, “तपाईंले चाहिँ आफ्नो स्वास्थ्यको ख्याल राख्नु, लामो समयदेखि निरन्तर सेवन गरिरहनुभएको उच्च रक्तचाप र सुगरको ओखती नटुटाउनु तिजको व्रत भनेर । आमा बुझ्नु भो नि !”
“अरू त राम्रै छ यहाँ, त्यताको खबर के छ सुनाउनुहोस्, बाबाको खबर के छ ?” भन्दै म एकछिन मौन हुन्छु । आमाको मनले थाहा पाएर हो कि, “एक पटक समय मिलाएर जसरी भए पनि भेट्न आइज नानी,” भन्दै रुनुभयो । आमाले मायालु पाराले आफ्नो मातृत्व प्रेम खन्याएपछि मैले भनेँ, “आमा ! तपाईं धेरै नसोच्ने, चिन्ता नलिने ।”
फोन राख्न नपाउँदै दुःखी हुँदै भक्कानिँदै धेरैबेर रुन्छु र मनमनै भन्छु, नरुनु आमा मलाई सम्झेर, मनको व्यथा पोख्ने तथा बिसाउने ठाउँ पाइनँ । माफ गरिदिनु आमा मैले हजुरसँग कति पटक झुटो बोलेकी छु किनकि मेरो विवाहको दिन गहभरि आँसु पार्दै अँगालोमा बेरेर हजुरले भन्नुभएको थियो, “सबैको मन जितेस् छोरी, नयाँ घर, नयाँ परिवार र आफन्तबाट सधैँ आफ्नोपन भेटेस् ।” त्यसैले असहज परिस्थितिमा पनि सहज वातावरणको सिर्जना गर्ने प्रयास गर्दै छु । सत्य आमा अर्को तिजमा नयाँ अठोटसाथ नयाँ ढङ्गले पुरानो परिपाटी त्याग्दै अगाडि बढ्ने छु । आफू जस्तै बुहारी, छोरी, आमा, दिदीबहिनी, काकी र साथीले भोगेका दुःखका भारीलाई छलफल गरी भलाकुसारी गर्ने प्रतिबद्धतासाथ लम्कने छु । सबैले आफूलाई समयबमोजिम रूपान्तरण गरे झँै म पनि आमा दिदीबहिनीसँग तिजको बत्ती बाल्न केही समयका लागि मेरो न्यानो माइतीघर बस्ने गरी आउने छु । यस्तै सोच्दै गर्दा बेलुकाको चार बजिसकेको पत्तै पाइनँ मैले ।
“केहो प्यारी मलाई सम्झेर टोलाएको हो कि अरू नै कुरा मनमा खेलाएको हो ?” श्रीमान्को आवाजले एकाएक झसङ्ग हुन्छु । “ल हजुर लुगा फेर्दै गर्नू खाजा लिएर आउँछु” भन्दै भान्साकोठातिर निस्किन खोज्दै थिएँ । श्रीमान्ले मेरो हात समाउँदै मायालु पाराले मलाई आफूतिर तान्नुभयो । “के नचाइँदो पारा हो हजुरको” म अलि रिसाए झैँ गर्छु साच्चिकै । “ल त्यसो भए म पनि तिमीलाई एउटा विशेष कुरा सुनाउँदिन,” मतिर कर्के लगाउँदै मलाई नै जिस्काउँदै हुनुहुन्छ, श्रीमान् । चुपचाप म फेरि कोठाको सोफामा टुसुक्क बस्छु । “अलिक नजिक आउन प्यारी, तिमीलाई प्यारो उपहार दिनु छ, भोलिका लागि” हाँस्दै बोल्नुहुन्छ । आफूलाई भने कामैको चटारो छ भ्याइनभ्याई, म मनमनै बोल्छु । त्यसैले एकाएक केही नबोली म भान्साको कामतिर लाग्छु । एताउता गर्दागर्दै पकवानहरू तयार पार्छु । सबैको फरमाइस अनुसार केही न केही बनाउँदा त परिकार त धेरै नै बनाए झैँ लाग्छ आफूलाई । सबै कुरा पकाइसक्दा नसक्दै सासूआमा भान्सामा चियाउन आउनुहुन्छ, फेरि । म चुपचाप थाकेर टाउको हल्याउँछु । “सबै मिलेर खाएपछि नाच्नु पर्छ, भान्सा छिट्टै सक है ! तिमीले,” आमाले आदेश दिनुहुन्छ मलाई ।
प्यारो सौगात लिन्नौ तिमी, मैले ल्याएको ‘साच्चै हो’ श्रीमान् मतिर एक टकले हेरिरहनुहुन्छ, चुपचाप भान्साकोठामा । “के गर्नु त अब मेरी बुढीको बानी नै यस्तो छ,” श्रीमान् पुनः मलाई चिड्याउँदै हुनुहुन्छ । अब भने मेरो पनि रिसको पारो बिस्तारै बढ्दै छ । भान्सामा हामी दुईबाहेक कोही छैन । “आफूलाई भने काम कै मारामार” म खिन्न हुँदै बोल्छु । ल त्यसो भए तिमीलाई आजदेखि नै छुट्टी, मुसुक्क हाँस्दै अँगालोमा कस्दै छन् प्रिय मान्छे मेरो । फकाउनु पर्दैन, कुन जादुको छडी छ र । आदेश मात्र दिन्छिन् । म रिसाउँदै चुपचाप हुन्छु ।
“अस्ति अफिसबाट पाँचदिने कार्यक्रममा सहभागी हुन विराटनगर जानुपर्ने थियो तर तिमीसँग जानका लागि त्यो कार्यक्रमलाई नै पछाडि सारेको थिएँ,” श्रीमान्जीले यसोभन्दा फेरि ठट्टा ठानेँ ।
उहाँले हाँस्दै सोध्नुभयो, “तर तिमी त माइतीघर न जाने हो क्यारे । आज जानै पर्छ, मलाई त । मेरो त अहिले नै ९ बजेको फ्लाइट छ । के गर्छौ ?”
कति धेरै समयपछि आमाको काखमा निदाउने कल्पनाले मात्र पनि मन फुरुङ्ङ भएको थियो, बालक झैँ एकाएक । बाल्यकालका साथीसँग कति पछिको भेटले सम्झनायोग्य क्षणको मिठास बोकेको थियो, त्यो समयको पलले । आत्मीयताको पुनः आगमनले समय नै भरिएको थियो । दिदीबहिनी र आमाको साथले सौगातको कोसेली बनेर मन नै आनन्दित पार्दै छ ।