आमाले पकाउनुभएको तिजको दर– त्यो मिठास, मगमग बास्ना आउने जेठोबुढो, झिनुवा, घिउ चुहिने गरी पकाएको अनदी चामलको दर, घिरौँला, चिचिन्डो, गाभा, तामाको तरकारी– कस्तो स्वादिलो हुन्थ्यो ! त्यसपछि गाउँका सबै चेलीबेटी जम्मा भएर आँगन र पिँढीमा गुन्द्रीमा बसेर निकालिएका तिजका भाकामा दुःखसुखका वेदना असरल्ल पोखिन्थे ।
आध्यात्मिक मान्यता नियाल्दा प्रेम तपस्या हो– तिज । शिवकालीन प्रेम प्राप्तिको समर्पण हो– तिज । नेपाली हिन्दु समाजमा संस्कृतिका रूपमा परापूर्वकालदेखि तिज मनाइँदै आएको छ । पौराणिक कथा अनुसार पार्वतीले शिव भगवान्लाई प्राप्त गर्न उपवास गर्दै आराधना गरेको दिनको संस्मरण हो– तिज पर्व ।
डा. भूपहरि पौडेलले ‘तिजको तरङ्गमा फक्रिएका परम्परा’ (२०८०) मा ‘पार्वतीको तपस्या र हरितालिका तिजको व्रतपरम्परा’ बारे चर्चा गर्नुभएको छ । ऋग्वेदका अनुसार भगवान् विष्णुसँग विवाहको कुरो उठेपछि पार्वतीले जङ्गलमा गएर कठोर तपस्या गरिन् । त्यस व्रतका निम्ति पार्वतीलाई सखीहरूले हरण गरेर जङ्गलमा पुर्याएका थिए । पार्वतीको प्रेममय, समर्पणमय र अध्यात्ममय कठोर तपस्याबाट महादेव खुसी भएर तथास्तु भन्दै वरदान दिनुभयो । केही समयपछि महादेवसँग पार्वतीको विवाह भयो । त्यसपछिका दिनमा तिज व्रत थालनी भएको धारणा डा. भूपहरिको छ ।
तिजका खास गरी तीन पक्ष छन्– चेलीबेटी माइतीमा जम्मा भएर मिठा मिठा परिकार बनाएर ‘दर’ खाने, भोलिपल्ट पानीसमेत नपिएर शिवको आराधना तथा व्रत बस्ने अनि लोकगायन/नाचगानसहित रमाइलो गर्ने । व्रत, मिठोमसिनो परिकार र भेटघाट एवं नाचगानको सामाजिक–सांस्कृतिक पक्षले तिजप्रति आकर्षण बढ्दो छ । तिजको यो सामाजिक पक्षले अन्य धर्म, समुदाय र संस्कृति मान्नेलाई समेत आकर्षित गरिरहेको छ । त्यसैले अहिले तिज पर्व अर्थ–संस्कृति बन्न पुगेको छ ।
तिजको महिना दिनअघि बजारमा चल्ने भोज, पहिरन र टेलिभिजनमा देखिने तिज भाकाले नै तिज–अर्थतन्त्र प्रस्ट हुन्छ । तिजको सांस्कृतिक महत्व र भावनात्मक सम्बन्धलाई भने यसले उजागर गर्न सक्दैन । लोकगायिका हरिदेवी कोइराला भन्नुहुन्छ, “तिज हाम्रो धार्मिक, सांस्कृतिक र साङ्गीतिक पहिचान हो । यसलाई मौलिक रूपमै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । भविष्यमा तिज आएर पनि हाम्रा मौलिक तिज गीत गुमे भने हाम्रो संस्कृति के बाँकी रहने छ ? यता सोच्नै पर्छ ।”
पाइनँ खबर
घर फर्की आउनुहोस्
मेरो हजुर
यिनै भाकाबाट ख्याति कमाउनुभएकी हरिदेवीका अनुसार गण्डक क्षेत्रमा ख्यातिप्राप्त ‘हम्केइलो’ भाका केही दशकअघिसम्म लोकप्रिय थियो । हजुरआमाको पालामा गाइने त्यो भाका अहिले लोप भइसक्यो ।
उहिलेको तिज
बाटोघाटोको उति विकास नहुँदा र प्रविधिले समाजलाई अँचेट्नुअघि तिज गीतका शब्द, लय र भाका बेग्लै थिए । तिजको महत्व र अपनत्व अर्कै थियो । चेलीबेटी लिन दाजुभाइ जानुपर्ने मान्यता र बाध्यता थिए । त्यसैले त त्यो बेला चेलीबेटीले दुःख र वेदनाका भाका तिजमा धेरै नै गाउँथे । गाउँघरका महिलाले आफ्ना पीडा, वेदना, सङ्घर्ष र जीवनका सपना गीतमार्फत पोख्थे । ती गीतमा समाज थियो, यथार्थ थियो –
शिरफूल लाएको घरबाट आएको
भित्र पनि आइनौ छोरी के छ मनमा ?
कस्तो हुन्छ मेरा बाबा तप्केनीको खेती
उस्तै हुन्छ मेरा बाबा सौते घरमा ।
विवाह गरेर दिएकी चेलीका वेदना, पीडा र घरपरिवारले दिएका पीडा पोख्ने थलो माइतीको आँगन, दोबाटा र चौताराहरू थिए । दाजुभाइ वा बाबाले लिन आए मात्र घरकाले माइत पठाउने चलन थियो । आमाले पकाउनुभएको तिजको दर– त्यो मिठास, मगमग बास्ना आउने जेठोबुढो, झिनुवा, घिउ चुहिने गरी पकाएको अनदी चामलको दर, घिरौँला, चिचिन्डो, गाभा, तामाको तरकारी–कस्तो स्वादिलो हुन्थ्यो ! त्यसपछि गाउँका सबै चेलीबेटी जम्मा भएर आँगन र पिँढीमा गुन्द्रीमा बसेर निकालिएका तिजका भाकामा दुःखसुखका वेदना असरल्ल पोखिन्थे । तत्कालीन समयमा पनि परिवेश, देशको परिस्थिति र समय अनुसारका गीत गाइन्थे । बाबासँग बिलौनाका यस्ता गीत हुन्थे–
कस्तो घर हेरेर दिनुभयो बाबाले
लाउन खान दिँदैनन् छुच्चा जाबाले
जेठाजु र जेठानी कुरा लाउँछन् फतुर
शिरको सिन्दूर दिने स्वामी भए सतुर
तिजका मेलामा भेला भएका महिलाले दुःख वेदना मात्र होइन, धार्मिक भावभक्ति र भावना पनि पोख्थे–
भगवान्लाई भेट्न के के पाहुँर कोसेली चाहिन्छ
एकुँमा चाहिन्छ श्रीखण्ड चन्दन
दुसरी बेलपत्र, हो नि बरिलै दुसरी बेलपत्र ।
कुनै समय थियो, तिज गीत भनेपछि हरिदेवी कोइरालाको प्रतीक्षा हुन्थ्यो । हरिदेवीको तिज भाका नघन्की तिज आएकै जस्तो नलाग्ने समय पनि थियो । तिज गीतलाई नियमितता दिँदै आएकी लोकगायिका हरिदेवी कोइराला भन्नुहुन्छ, “तिज मूलतः धार्मिक, साङ्गीतिक र सांस्कृतिक त्रिवेणी हो तर पछिल्ला वर्षका गीतले संस्कृति जोगाउन सकिँदैन कि भन्ने चिन्ता छ ।”
गायिका कोइरालाका तिज गीतमा समाज, संस्कृति र जनजीवनका त्यस्तै भाव, भावना र भाका पाइन्छ –
आफ्ना माइती मावली नआउने चेलीको
घुमी घुमी किन आयो तिज बरिलै ।
भृकुटी र सीता जस्तो नारीको यो देशमा
यो देशका चेलीबेटी बेचे विदेशमा ।
भोलिको पुस्तालाई तिजको महत्व हराउने खतराप्रति शङ्का छ– हरिदेवीमा । त्यसैले मौलिक गीतलाई प्राथमिकता दिनु पर्छ भन्ने मान्यता उहाँमा छ –
तिज भाकामा चेतना
दैलामुनि फूल फुल्यो चम्रीगाईले खाने छ
पञ्चायती व्यवस्थाको पैरो जाने छ ।
पञ्चायती व्यवस्थाको राज्यकाल खतरा
थरी थरी हडतालले हाने झटारा ।
तिज संस्कृतिमा टेकेर राजनीतिक जागरण र चेतनाको अभियान पनि विगतमा धेरै नै भएका थिए । खास गरी राजनीतिक दलका सांस्कृतिक फाँटमा लाग्ने कलाकारले तिज, माघेसङ्क्रान्ति, शिवरात्रिका जात्रा जस्ता मेला पर्वमा पुगेर जनताको दुःख, सुख, राज्यसत्ताको दमनविरुद्ध भाका हाल्न थाले । अन्याय, अत्याचार, महिलामाथि हुने विभेद, हिंसाका विरुद्ध र समानताका अधिकार, महिला सशक्तीकरणका स्वर त्यस्ता पर्वमा उरालिन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनपछि त्यो क्रम अझ तीव्र रूपमा अघि बढ्यो । तिज गीत मात्र होइन, अन्य कतिपय सांस्कृतिक चाडपर्वका बेला जनताका गीत सुनेर निरङ्कुश शासकहरू थर्कमान हुन्थे । आन्दोलनकारीले संस्कृतिलाई लोकतान्त्रिक चेतना र जागरणमा प्रयोग गर्थे । यस्तै एउटा उदाहरण हो– पिस्कर काण्ड ।
पञ्चायतकालको पिस्कर काण्ड नेपालको इतिहासमा एक दुःखद र सम्झनायोग्य घटना हो । यो घटना २०४० सालको माघेसङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्कर गाउँमा भएको थियो । तत्कालीन नेकपा (माले) का कार्यकर्ताले पिस्कर महादेवस्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए; जसको उद्देश्य पञ्चायती शासनको विरोध गर्नु र जनचेतना फैलाउनु थियो ।
त्यस कार्यक्रममा प्रहरीले गोली चलाउँदा पाँच जनाले ज्यान गुमाएका थिए । धेरै घाइते भएका थिए । त्यसपछि धेरैलाई गिरफ्तार गरी यातना दिइएको थियो । पिस्कर काण्डलाई पञ्चायती शासनको दमन र ग्रामीण जनताको सांस्कृतिक प्रतिरोधको प्रतीकका रूपमा स्मरण गरिन्छ ।
सदाबहार गायन
हरिदेवी कोइराला ४० को दशकदेखि तिज गायनमा निरन्तर हुनुन्छ । तिज गायनमा ठेट शब्द र लयका लागि विष्णु माझी पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । यसपालि माझीको ‘म त नराउरी’ लोकप्रिय बनेको छ । माझीका ‘बलमा’, ‘चरी जेलैमै’ र ‘चरी जेलैमै–२’ धेरैले मन पराएका थिए । ‘मै छोरी, आइनँ ओ यो तिजमा आइनँ आमा’ बोलको माझीको गीतलाई अघिल्लो वर्ष लाखौँ दर्शकले भ्युज मात्र होइन; मौलिकताको उदाहरणका रूपमा हेरेका थिए । गायिका बिमाकुमारी दुरा, शीला आले, लक्ष्मी न्यौपाने, देवी घर्ती, सिन्धु मल्ल, शर्मिला गुरुङ, मधु गुरुङलगायत गायिकाका तिज गीतले लोक रुवाउँथ्यो, कहिले हँसाउँथ्यो । तिजको सामाजिक एवं सांस्कृतिक परिवेशलाई जुरुक्क उचाल्थ्यो । ४० को दशकमा निर्माण भएको चलचित्र ‘कन्यादान’ मा तिजको एउटा गीत छ; जुन अहिलेसम्म पनि उत्तिकै रुचिपूर्वक गाइन्छ –
सम्भवतः सबैभन्दा बढी भ्युज गएको तिज गीत यही होला । चेतन कार्कीको शब्द र मनोहरि सिंहको सङ्गीत रहेको यो गीत हरेक तिजमा बजेकै हुन्छ ।
गायिका हरिदेवी कोइराला तिजको वास्तविक भाकाबारे पछिल्लो पुस्तामा चेतना बढाउनुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “तिजको तीन वटा पाटा छन्– धार्मिक, सांस्कृतिक र साङ्गीतिक । यी सबैको संयोजन त्रिवेणी हो– तिज । नयाँ पुस्ताले यसको महत्व बुझोस् भन्ने उद्देश्यले मौलिक गीत बनाइरहनु पर्छ ।”
लोकगायिका शर्मिला गुरुङ भन्नुहुन्छ, “म त सधैँ तिजको मौलिकता बचाउनु पर्छ भन्नेमा छु, सस्तो लोकप्रियता होइन ।”
बरालिँदै तिज लय
तिज गीतमा व्यावसायिकता बढेसँगै तिज गीतका लय बरालिएको छ । अर्थ न बर्थका शब्द र उच्छृङ्खल भिडियोका बाढी मिडियामा छ । दोहोरो अर्थ लाग्ने शब्द, बोल, उत्ताउला नृत्य र अनावश्यक ग्ल्यामर दृश्य तिज गीतमा थोपरिन थालेका छन् ।
गायिका कोमल वलीका ‘पोइल जान पाम् शिव पोइल जान पाम्’ जस्ता गीतले तिज लयलाई विगतमा बराल्न थालेको हो । त्यसपछि विवादित बोलका गीतहरू झन् बढ्दै गए । ‘डिस्कोमा तिज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’, ‘तिजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीतले यसको मौलिकतालाई आघात पुर् याउँदै गएको पाइन्छ । हालैका वर्षमा दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ जस्ता गीतले तिजलाई दोहोरी, र्याप र पपसम्म पुर्याएको छ । त्यति मात्र होइन, तिजको दर खाने र नाचगानको परम्परालाई ‘घर आँगन’ बाट उठाएर पार्टी प्यालेससम्म पुर्याएको छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गः तिजको परिवर्तनबारे भन्नुहुन्छ, “समय अनुसार परिवर्तन भए पनि संस्कृति हराउनु हुँदैन । केही परिमार्जन भए पनि मौलिकता जोगिनु पर्छ ।” समय अनुसार परिवर्तन स्वाभाविक भए पनि संस्कृति आयातित हुन नहुने धारणा उहाँको छ ।
तिज गीतमा अश्लीलता र भड्किलोपन बढेको अनुभूति गायिका हरिदेवीमा पनि छ । उहाँ भन्नुहुन्छ, “सस्तो लोकप्रियताले तिज भाकाको बदनाम गरेको छ ।”
लोकगायक पुरुषोत्तम न्यौपाने सस्तो लोकप्रियताको लोभमा बनाइएका गीतले भोलि आफ्नै इज्जत ध्वस्त पार्ने बताउनुहुन्छ । लोकगायिका शर्मिला गुरुङ तिज गीतलाई मौलिक भाकामै गाउनुपर्ने धारणा राख्नुहुन्छ । गायिका लक्ष्मी न्यौपाने तिजको मौलिकता र पर्वको महत्वलाई ख्याल राख्दै नयाँ गीत सिर्जना गरिनुपर्ने बताउनुहुन्छ ।
यस्ता शब्द कस्ता भिडियो
शब्द नै यस्तो भएपछि भिडियो कस्तो होला ? शब्दको मर्म केलाउँदा ‘अर्थको अनर्थ’ लाग्ने यस्ता गीतले नेपाली सङ्गीतको दरिद्रता झल्किन्छ । ‘रननन रन्काउँदै ए होइ मादलु घन्काउँदै’, ‘हेर्नीले हेर्छ, मलाई सुन्नेले सुन्छ’, ‘टिकटकमा भाइरल भा हल्लाएरै हो’, ‘काले के के बोल्यो बोल्यो, मलाई बिस्ताराले पोल्यो’ बोलका गीतले तिज गायन परम्परा धान्नुपर्ने अवस्था छ । ‘बिस्ताराले पोल्यो’ गीत गत वर्ष विवादित भएसँगै गायिका शान्तिश्री परियारले माफी नै माग्नु परेको थियो । ‘जसरी हुन्छ चर्चित हुने’ मनोरोग नेपाली गीतसङ्गीतमा बढ्दो छ । ‘डिस्कोमा तिज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’, ‘तिजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीत पनि शब्द र ‘भिडियो’ का कारण विवादमा परेका थिए तर सुधार होलाभन्दा झन् भड्किलो, उत्ताउलो, उच्छृङ्खल बन्दै गएको छ । गायिका कोइराला पुराना गीतले गाउँका जीवन, पीडा र भावनालाई समेटेको तर नयाँ गीत अक्सर उच्छृङ्खल र भ्युजको व्यापारमा आधारित रहेको बताउनुहुन्छ ।
भ्युजमा भुल्दै स्रष्टा
‘युट्युब भ्युज’ को लोभले हेर्ने गीतको बाढी छ । ‘ग्ल्यामर कन्टेन्ट’ बिक्छ भन्ने लोभले ठेट शब्दको ठाउँमा विकृत, बेढङ्गी र द्विअर्थी शब्दको प्रयोग बढ्दो छ । पुरुष गायकले समेत अन्टसन्ट शब्द राखी तिजमा गीत निकाल्न थालेका छन् । गाउन थालेका छन् । तिज गीतलाई दोहोरी बनाउन थालेका छन् । दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ जस्ता गीत यसका उदाहरण हुन् । तिज भाका संस्कृतिभन्दा पनि ‘मनोरञ्जन व्यवसाय’ तर्फ बढी उन्मुख हुँदै गएकाले युट्युबमा करोडौँ भ्युज आउने लोभमा कलाकारले मौलिकतालाई बेवास्ता गर्न थालेको पाइन्छ । यसले गर्दा मौलिक भाकालाई भड्किला गीतले विस्थापित गर्दै लगेको अवस्था छ । लोकगायक प्रजापति पराजुली भन्नुहुन्छ, “युट्युब डोको र भ्युजको दौडले यसको वास्तविकता हराएको छ । यसले नयाँ पिँढीलाई गलत सन्देश दिन्छ ।” उहाँका अनुसार सेन्सर बोर्ड नहुँदा विकृत गीत बजारमा सजिलै आउँछन् । नियमन गर्न सरकार र सम्बन्धित निकायले पहल गर्नु पर्छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आपत्तिजनक, उच्छृङ्खल र असामाजिक शब्द प्रयोग भएका पाँच वटा गीतको प्रसारण रोक्न सरकारै गुहार्नु परेको घटनाले नेपाली लोकगीत र तिज गीतको अवस्था प्रस्ट पार्छ । लोकगायक पराजुली भन्नुहुन्छ, “जसरी पनि कमाऊँ भन्ने मानसिकताले तिजको मौलिकता हराएको छ । छोरीचेली आमासँग बसेर हेर्न नसकिने गीत बजारमा आउन थालेका छन् ।”
गायक खुमन अधिकारी चर्चामा आउन परिवारसँग बसेर हेर्न नसकिने खालका गीत बजारमा ल्याइएको बताउनुहुन्छ ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरका अनुसार उच्छृङ्खल शब्द राखिएका तिज गीतका सर्जक र कलाकारलाई प्रहरीको साइबर ब्युरोले बोलाएर केही शब्द हटाउन लगाएको थियो । अन्य केही गीतलाई पनि सच्याएर मात्र बजारमा ल्याउने सहमति भएको थियो । सरकारले गीतको वर्गीकरण गरी कडा नियमनको व्यवस्था गर्नुपर्ने धारणा प्रतिष्ठानको छ । “अश्लील र भड्किला गीत रोक्न गीत सेन्सर बोर्ड आवश्यक छ,” गायिका कोइरालाको धारणा छ । लोकगायक पुरुषोत्तम न्यौपाने पनि कलाकारले आफैँ सुधार गरेनन् भने कानुनी दायरामा ल्याउनैपर्ने धारणा राख्नुहुन्छ ।
सरकारी अधिकारीहरूको भने केही फरक धारणा पाइन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछाने भन्नुहुन्छ, “चलचित्रका लागि त सेन्सर बोर्ड छ तर गीत नियमन गर्ने संरचना छैन । सचेतना र स्वनियमन नै मुख्य बाटो हो ।” सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर सेन्सरभन्दा पनि सर्जकमै स्वनियमन आवश्यक रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समाजमा यस्ता धेरै विषयवस्तु छन् । कलाकार आफैँले बुझेर जिम्मेवारीसाथ गीत प्रस्तुत गर्नु पर्छ । सरकारको काम केवल मार्गदर्शन र सूचित गर्नु हो ।”