• ७ भदौ २०८२, शनिबार

तातोपानी नाका आंशिक सञ्चालन

blog

अस्थायी रूपमा सडक सञ्चालन भएपछि चीनबाट नेपाल भित्रँदै कन्टेनर ।

चौतारा समाचारदाता 

चौतारा, भदौ ७ गते  । नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी आंशिक रूपमा सञ्चालनमा आएको छ । पहिरोका कारण तीन हप्तादेखि अवरुद्ध रहेको कोदारी सडकखण्ड बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको हो । अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित इको पहिरो क्षेत्रमा साउन १७ गते राति खसेको भीषण पहिरोले सडक भासिएको थियो । पहिरोका कारण नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानी ठप्प भएको थियो । 

वर्षायामका कारण निरन्तर पहिरो झर्ने इको क्षेत्र सडक अवरुद्ध हुने उच्च जोखिममा रहँदै आएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरीकोट, भोटेकोसी गाउँपालिका तथा व्यवसायीले निरन्तर प्रयास गर्दै आएका थिए । सडक अवरुद्ध हुँदा दसैँ, तिहार, छठ जस्ता चाडपर्वलाई लक्ष्य गरी चीनतर्फ रोकिएका सामान नेपाल भित्र्याउन नसक्दा व्यवसायी चिन्तित बनेका थिए । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार व्यवसायीले तीन हप्तादेखि सडक बन्द हुँदा ठुलो आर्थिक घाटा बेहोर्नु परेको छ । उहाँका अनुसार व्यापारीले केही सामग्री भरियालाई बोकाएर पहिरो पार गरिएको छ । अहिले सडक खुले पनि पानी पर्दा फेरि पहिरो जाने डर कायमै छ । बिहीबार मात्रै अड्किएका सामग्री बोकेका ३० वटा कन्टेनर भन्सार यार्डमा पुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।  

नेपालतर्फबाट हालसम्म छ वटा खाली कन्टेनर चीन पठाइसकिएको छ । थप २० वटा कन्टेनर मितेरी पुलको छेउमा पठाइने व्यवसायी विजय शेर्पाले जानकारी दिनुभयो । हाल नेपाल छिरेका कन्टेनरको सङ्ख्या ४५ छ । चिनियाँ भूभागतर्फ न्यालम, ढिङ्ग्रे, खासा र जाङ्बु पोर्टमा करिब पाँच सय कन्टेनर रोकिएका छन् । सडकको अवस्था सामान्य रहे ती कन्टेनर दुई दिनभित्र नेपाल भित्रिने अपेक्षा व्यवसायीको छ । चिनियाँ पक्षले जाँचपास प्रव्रिmयामा समय लिने भएकाले ढिलाइ हुन सक्ने व्यवसायी बताउँछन् । सरकारी निकाय, निजी क्षेत्र र सम्बन्धित व्यवसायीको सहकार्यमा पहिरो पन्छाएर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको कोदारी सडकखण्डको दीर्घकालीन समाधानका लागि थप पहल आवश्यक देखिएको छ ।

सञ्चालन भएन स्याफ्रुबेँसी–रसुवागढी सडक

रसुवा समाचारदाताका अनुसार गत साउन १४ गते आएको बाढीले क्षति पु-याएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड २२ दिन बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडक अवरुद्ध हँुदा यात्रु पैदल यात्रा गर्न बाध्य छन् भने टिमुरे बजारको व्यापार पनि ठप्प भएको छ । चीनतर्फबाट लेन्दे्रखोलामा आएको बाढीले करिब दुई किलोमिटर सडक कटान गरेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रूपनारायण पौडेलले कडा चट्टानका कारण काममा ढिलाइ भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “एउटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था भएकाले मर्मतसम्भारको गति सुस्त भएको हो तर पनि मर्मत कार्य नियमित भइरहेको छ ।” उहाँका अनुसार सडक पुनर्निर्माण सम्पन्न गर्न अझै एक सातासम्म लाग्ने देखिएको छ ।

स्थानीय व्यापारी र यात्रुले भने लामो समयदेखि अवरुद्ध सडकका कारण ठुलो असुविधा खेपिरहेका छन् । वैकल्पिक बाटो भएर गन्तव्य पुग्न निकै समय लाग्ने गरेको छ । गत असार २४ को बाढीमा पनि सो सडकको करिब एक किलोमिटर भागमा क्षति पुगेको थियो ।