• ३२ जेठ २०८१, शुक्रबार

विकासका आधार खडा गरिसकेका छौँ

blog

कालीगण्डकी नदीको तटमा रहेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा समथर भूभागदेखि विकट पहाडी क्षेत्र समेटिएको छ । साबिकको श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेवी र चण्डीभन्ज्याङ गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । २०७९ सालको स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्षमा खिमबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । गाउँपालिका महासङ्घ नेपालको राष्ट्रिय महासचिवसमेत रहनुभएका अध्यक्ष थापासँग स्थानीय तहले गरेको विकास निर्माण, सम्भावना र चुनौतीलगायतका विषयमा गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

यहाँ निर्वाचित भइसकेपछि आफ्नो पालिकाको विकास र समृद्धिका आधारहरू के कसरी तय गर्नुभएको छ ?

हामीले कालीगण्डकीको विकास र समृद्धिका लागि यहाँको भूगोल, माटो सुहाउँदो हुने गरी विकास र समृद्धिका आधारहरू तय गरेका छौँ । कृषि, पर्यटन, ऊर्जा, स्वास्थ्य, खानेपानी, रोजगार, शिक्षा र कृषिमा आधारित उद्यमलाई हामीले हाम्रो विकास र समृद्धिको आधार भएकाले यी क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम निर्माण गरेका छौँ र सोही अनुसार सालबसाल कार्यक्रम कार्यान्वयन भइरहेका छन् । जसले गर्दा यहाँका बासिन्दाले प्रतिफल देख्न थालेका छन् । 

यहाँ लगातार दोस्रो कार्यकाल अध्यक्ष भएर काम गर्दै हुनुहुन्छ, पहिलो कार्यकालभन्दा यो पटक के फरक महसुस गरिरहनुभएको छ ?

पहिलो कार्यकालको सुरुवाती चरणमा ऐन, कानुन, कर्मचारी, प्रशासकीय भवनको अभावका साथै सूचना प्रविधिको यथेष्ट प्रयोग गर्न नसक्नुलगायतका समस्या थिए । त्यति हुँदाहुँदै पनि हामी अगाडि बढ्यौँ । पहिलो कार्यकालमा विकास र समृद्धिको जग बसाल्न हामी सफल भयौँ । शिक्षा, स्वास्थ्य, यातायात, व्यवसायमूलक कृषि र पशुपालनमा हामीले जग बसाल्यौँ । जसका कारण गाउँपालिकाभित्रका धेरै जनता लाभान्वित भएका छन् । फलस्वरूप स्थानीय सरकारको कार्यसम्पादनले मलाई पुनः दोस्रो पटक गाउँपालिका अध्यक्ष हुने अवसर प्राप्त भयो । पहिलो पटकको कामले यहाँ विकास र समृद्धिको आधार बनेको हुँदा थप काम गर्न पहिलेभन्दा सजिलो महसुस भएको छ ।

पूर्वाधार निर्माण र पर्यटन प्रवर्धनका लागि कस्तो काम भइरहेको छ ?

 स्याङ्जाको दुर्गम भनेर चिनिएको यो क्षेत्र पूर्वाधारको क्षेत्रमा निकै पछाडि रहेको थियो । हामी निर्वाचित भएर आइसकेपछि यहाँको पूर्वाधार क्षेत्रमा निकै ठूलो फड्को मारेका छौँ  । ४४ किमी पक्की सडक, २४ किमी ग्राभेल, १४० किमी कच्ची सडक थप भएका छन् भने वडा नं. २ बाहेक सबै वडा कार्यालयमा पक्की सडकको पहुँच पुगेको छ । वडा नं. २ मा पनि यस आर्थिक वर्षमा पुग्ने छ । हामी निर्वाचित हुनुपूर्व एक बेलिब्रिज मात्र रहेकोमा हाल यस क्षेत्रमा तीन वटा पक्की पुल सम्पन्न भएका छन् पाँच वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । नौ वटा झोलुङ्गे पुल रहेका छन् । आगामी आर्थिक वर्षसम्ममा प्रत्येक सामुदायिक माध्यमिक विद्यालयमा कालोपत्रेले जोड्ने योजना रहेको छ । वडा नं. ३ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । वडा नं. ३ को भवन पनि निर्माण सम्पन्न हुँदै छ । त्यस्तै खानेपानीका क्षेत्रमा एक घर एक धारा पूर्ण रूपमा कार्यान्वयन गरी सबै घरमा एक घर, एक धारा पु¥याउँदै छौँ । हालसम्म चार हजार २१५ घरमा धारा पुगिसकेका छन् । सिँचाइका कुलो निर्माण गरी टारहरूमा लिफ्टिङ सिँचाइमार्फत खेतीयोग्य जमिन सिञ्चित गर्ने गरिएको छ । जसअन्तर्गत बिर्घाटार लिफ्टिङ सिँचाइ सम्पन्न भएको छ भने प्युँघा, टङ्लेहवा, बारीचौर र मिर्मी फाँटको सिँचाइ सम्पन्न हुँदै छ, जसले कालीगण्डकीको मुहार फेरिने छ । पालिकाले सुरुवाती समयदेखि नै पर्यटन पूर्वाधार निर्माण, संरचनाको मर्मतसम्भारका कार्य गर्दै आइरहेको छ । पर्यटकीयस्थलमा सडक पहुँच पु¥याइएको छ भने पर्यटकीयस्थल आलमदेवी, कालीगण्डकी ए जलविद्युत्लाई रानीमहल, सेतीवेणी जस्ता स्थलसँग जोड्ने कार्य भएका छन् । त्यस्तै पर्यटकको बसाई लामो गराउने गरी हामीले वातावरण निर्माण गरेका छौँ । त्यसका लागि होटल व्यवसायीलाई हस्पिटालिटी र कुकिङ तालिम दिने काम भएको छ भने स्थानीय संस्कृतिको संरक्षणसँगै घरबास कार्यक्रम सञ्चालन गरिएको छ । साथै खेलकुदका क्षेत्रमा एक वडा, एक मैदान निर्माण गरिएको छ भने पालिकास्तरमा गुणस्तरीय खेल मैदान निर्माण गरेका छौँ । जहाँ नियमित खेलकुद गतिविधि हुने गरेका छन् । 

कृषि क्षेत्रमा कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ?

यहाँका किसानलाई व्यावसायिक बनाई आत्मनिर्भर बनाउन हामी केन्द्रित छौँ । करिब ६० हजार कागतीका बिरुवा शतप्रतिशत अनुदानका रूपमा किसानलाई वितरण गरिएको छ । जसमध्ये करिब ३० हजार बिरुवाबाट किसानले उत्पादन र आम्दानी गर्न सुरु गरिसकेका छन् । हामीले तीन वर्ष अगाडिदेखि किसानसँग साझेदारीमा व्यावसायिक फूल खेती कार्यक्रम सञ्चालन गरी प्रत्येक वर्ष लाखौँ रुपियाँको फूल निर्यात गरेका छौँ । करिब ४५ रोपनी क्षेत्रफलमा फूल खेती भइरहेको छ । नवप्रवर्तनका क्षेत्रमा हामीले पहिलो वर्ष करिब एक लाख केराका बिरुवा वितरण ग¥यौँ । केराका बहुउपयोगी प्रयोग गर्ने गरी हस्तकलाका सामग्री बनाउने अभ्यास ग¥याँ । त्यस्तै बाँझो तथा उपभोगविहीन कृषि भूमि उपयोग गर्ने गरी हामीले कार्यक्रम बनाएका छौँ । यसले रोजगारी सिर्जनासँगै उत्पादन बढ्ने अपेक्षा लिएका छौँ । अहिले हामी ७० रोपनी जग्गामा नगदे बालीको सामूहिक खेती सञ्चालन गरेका छौँ भने २३ रोपनी जग्गामा ड्र्यागन बगैँचा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने र आम्दानी गर्ने दुवै काम गरिरहेका छौँ  । सामूहिक खेती प्रणालीको अभ्यास पनि गरेका छौँ  । पशुपालनको क्षेत्रको कुरा गर्दा तीन वर्ष अगाडिसम्म मासु आयात गथ्र्यौं भने हाल खसीबोका निर्यात गरी बङ्गुर, कुखुरा र अन्डामा आत्मनिर्भर बनेका छौँ । 

प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहयोग भएको छ ?

हामीले सहकारितामूलक सङ्घीयता अवलम्बन गरेका छौँ । स्वाभाविक रूपमा सहयोग र समन्वय हुनु पर्छ र भइरहेको पनि छ । फेरि म आफैँ गाउँपालिका राष्ट्रिय महासङ्घको महासचिव भएको हुँदा निरन्तर समन्वय भइरहेको छ । विभिन्न मुद्दा र समस्याका सन्दर्भमा म आफू व्यक्तिगत र महासङ्घको संस्थागत रूपमा लागिपरेका छौँ ।

स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा कसरी काम गर्नुभएको छ ?

प्रत्येक नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरेका छौँ । यसबाट यहाँका नागरिकको वार्षिक २५ करोडभन्दा धेरै रकम बचत भएको छ । आफ्नै लगानीमा १५ शय्याको कालीगण्डकी अस्पताल सञ्चालन गरी सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ । गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । गर्भवती तथा सुत्केरी र कुपोषित बच्चालाई दैनिक एक वटा दरले अन्डा वितरण गरिएको छ । घर घरमा गएर ‘ल्याब इन ब्याग’ मार्फत २७ प्रकारका स्वास्थ्य मापदण्ड सूचक जाँच गरिएको छ । पोषणमैत्री स्थानीय तह घोषणाको तयारी गरिएको छ । स्थानीय पाठ्यव्रmम तयार गरी निःशुल्क उपलब्ध गराइएको छ । विद्यालयमा कालीगण्डकी पठनसिप विकास कार्यक्रम लागु भएको छ । सबै विद्यालयमा बालमैत्री पुस्तकालय र पठनसिप विकास कार्यक्रम लागु भएको देशभरिकै पहिलो पालिका कालीगण्डकी गाउँपालिका हो । जसका कारण कक्षा १ र २ का विद्यार्थीले प्रत्येक वर्ष २७४ वटा पुस्तक अध्ययन गर्दछन् । माध्यमिक तथा आधारभूत तहका विद्यालयमा आइसिटीको व्यवस्थापन, विद्यालयमा निःसर्त अनुदानको व्यवस्था गरिएको छ । समुदायमा टोल सिकाइ कार्यक्रम सञ्चालन गरी बालबालिकामा पढ्ने बानीको विकास गरिएको छ । 

सुशासन र पारदर्शितामा गाउँपालिकाको अवस्था कस्तो छ ?

पहिलो कुरा सबै कर्मचारी १० बजे कार्यालयमा आई राष्ट्रिय गान र पालिका गानमा सहभागी हुन्छन् । सुरुवातदेखि नै गण्डकी प्रदेशको हकमा सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये कालीगण्डकी हो । वित्त आयोगको मूल्याङ्कन जस्ता सूचकमा सधैँ अब्बल देखिएको छ । पारदर्शिताका सन्दर्भमा हामीले नियमित रूपमा सार्वजनिक सुनुवाइ गरेका छौँ । नियमित रूपमा आर्थिक विवरणहरू सार्वजनिक गर्ने गरेका छौँ । पालिका, वडा तथा सबै कार्यालयमा सबै सेवा अनलाइनमार्फत हुने व्यवस्था गरिएको छ साथै विद्युतीय टेन्डर प्रक्रियालाई पूर्ण रूपमा कार्यान्वयन गरिएको छ । हाम्रा सूचनाहरू नियमित रूपमा वेबसाइटमा अपडेट हुन्छन् । 

यहाँका भावी योजना के के छन् ?

यहाँ रहेको खेतीयोग्य जमिनमा लिफ्टिङ सिँचाइमार्फत सिँचाइ गरी कृषिमा आत्मनिर्भर बनाउने, कालीगण्डकी बृहत् खानेपानी योजना कार्यान्वयन गर्ने, पालिकाबाट कृषि क्षेत्रमा सहभागितामूलक र प्रविधियुक्त उत्पादन, प्रशोधन भण्डारण र प्याकेजिङ तथा बजारीकरण दीर्घकालीन भूउपयोग र सामुदायिक खेती प्रणालीको विकास गर्र्ने तयारीमा छौँ ।