• २१ कात्तिक २०८२, शुक्रबार

नेपाली सेनाको स्वास्थ्य शिविरबाट तीन सय बढीले लिए सेवा

blog

शिविरमा आएका बिरामीहरुको स्वास्थ्य जाँच गरिँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २१ गते । रुकुमपश्चिमस्थित नेपाली सेनाको चण्डीदल गणले चौरजहारीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा पाएका छन् । बिहिबार चौरजहारी नगरपालिका-२ मा भएको एक दिने शिविरबाट ३०४ जनाको स्वास्थ्य परीक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ । 

चण्डीदल गणले श्री नं. १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा चौरजहारी नगरपालिका, जिल्ला अस्पताल रुकुमपश्चिम र साझा मुराल अस्पताल रुकुमपश्चिमको सहयोगमा शिविर सम्पन्न गरेको जनाएको छ । 

चण्डीदल गणका सेनानी प्रमोद थापाका अनुसार शिविरबाट २१६ जना महिला र ८८ जना पुरुषले सेवा लिएका छन् । जसमध्य २३ जना भूतपूर्व सैनिक, १२ जना बहालवाला सैनिक, २६८ जना सर्वसाधारण तथा सैनिकका आफन्तजन र एक जना प्रहरी छन् । शिविरबाट स्त्रीरोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो । 

गाउँमै शिविर मार्फत निःशुल्क सेवा पाउँदा यहाँ सर्वसाधारण खुसी भएका छन् । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको स्वास्थ्य जाँच र उपचार गरेको बताउनुभयो । 

उहाँले चिकित्सकसहितको टोलीबाट भएको निःशुल्क स्वास्थ्य जाँच र औषधि समेतको व्यवस्थाबाट सर्वसाधारणमा ठुलो राहत भएको उल्लेख गर्नुभयो । यस खालका शिविरहरु अझै दुर्गम र ग्रामीण क्षेत्रमा अत्यावश्यक रहेको उहाँको भनाइ छ । 

श्री नं. १९ बाहिनी गुल्मका डा.मिलन भण्डारीको नेतृत्वमा रहेको मेडिकल टोली शिविरमा परिचालन भएको थियो । शिविरमा डा. भण्डारी, डा. दीपक पुन लगायतको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो । 

चण्डीदल गणका गणपति बिनिश श्रेष्ठको मुख्य उपस्थितिमा सम्पन्न शिविरमा रुकुमपश्चिमसँगै सल्यान र जाजरकोटका सर्वसाधारणले सेवा पाएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ रुकुमपश्चिमले शिविरको व्यवस्थापनमा सहयोग गरेको थियो ।