काठमाडौं, वैशाख १२ गते । वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आज आयोगमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले सो जानकारी दिनुभयो । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेछ ।
निर्वाचन आयोगले जिल्लाहरूमा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ । आज ७७ जिल्लामा सामग्री पठाइएको प्रवक्ता पौडेलले जनकारी गराउनुभयो । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।
आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकोमा सो कार्य आज ५ बजेसम्म सम्पन्न भएको छ । निर्वाचन आचारसंहिता अहिलेसम्म गम्भीररुपमा उल्लङ्घन नभएको जानकारी दिनुहुँदै प्रवक्ता पौडेलले भन्नुभयो, “अहिलेसम्म गम्भीर उल्लङ्घनको सूचना आयोगलाई प्राप्त भएको छैन, सामान्य घटनालाई आयोगले नोटिसमा लिएको छ ।”
निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आव्हान गर्दैआएको छ । आचारसंहिताविपरित हुनेगरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, वैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३ ह ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह रहनेछ ।
उम्मेदवारको पहिचान खुलेको ए–फोर साइजको एक रङ्गमा छापिएको विवरण बाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिन्ह भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लङ्घन भएको कसूरमा उम्मेदवारलाई कारवाही हुने भएकाले सचेत रहन आयोगले सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराएको छ ।
साथै, जुलुस, आमसभा, ¥याली, बैठक आदिमा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरित हुनेगरी सम्बन्धित दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारवाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबैमा अनुरोध गरेको छ ।
आयोगको निर्देशन बमोजिम गत चैत १५ गतेभित्र सरुवा वा काज वा पदस्थापना भएका कर्मचारीहरु खटिएका तत्तत् निकायमा हाजिर हुन नगएको गुनासो आयोगमा प्राप्त भएकाले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि बैशाख १५ गतेभित्र अनिवार्य रुपमा तत्तत् निकायमा हाजिर हुन पठाउने व्यवस्थाका लागि सरोकारवाला सबैमा आयोगले पुनः निर्देशन दिएको छ ।
निर्वाचन पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेका छन् । ती संस्थाबाट करिब २० हजारभन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ । सो उपर आवश्यक चेकजाँच गरी आयोगले पर्यवेक्षकलाई पर्यवेक्षण गरिने मतदानस्थल समेत तोकी परिचयपत्र जारी गर्नेछ । पर्यवेक्षण अनुमति प्राप्त संघ संस्थाका प्रतिनिधिहरुका लागि आयोगले वैशाख १४ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ ।
निर्वाचनासँग सम्बन्धित सूचनाहरु आमसञ्चार माध्यम एवम् आमसरोकारहरुका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगका प्रवक्ता, सहप्रवक्तासहित सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु बाग्लेलाई पनि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोकेको छ ।
 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                