• १२ साउन २०८१, शनिबार

तनावपूर्ण जीवनले बढाउँदै छ निःसन्तान हुने समस्या

blog

काठमाडौँ, जेठ ७ गते । पछिल्लो समय निःसन्तान हुने समस्या बढ्दै गएको छ । केही वर्ष अघिसम्म नेपालमा ८ देखि १० प्रतिशतमा रहेको निःसन्तानको समस्या अहिले बढेर १३ देखि १५ प्रतिशत पुगेको छ ।  

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालमा दैनिक ५० जना निःसन्तान हुने समस्या लिएर अस्पतालमा आउने बताउनुहुन्छ । 

आइभिएफ तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाका अनुसार निःसन्तान हुने  समस्या महिला र पुरुष दुवैको कारणले हुने गर्छ । खानपान, तनाव, तनावपूर्ण काम गर्ने वातावरण, ढिलागरी विवाह गर्ने, बच्चा ढिला जन्माउने कारणले गर्दा यस्तो समस्या बढ्दै गएको डा. थापाले बताउनुभयो ।  

त्यो, बाहेक खाडीमा तातो तापक्रम काम गर्ने र सरसफाइको कमीले पुरुषको शुक्राणुमा समस्या देखिने गर्छ । उहाँ भन्नुहुन्छ, ‘खाडीमा काम गर्नेमा तातो तापक्रममा र सरसफाइको कमीले पुरुषको शुक्राणुमा समस्या लिएर आउने गर्छन् । खाडी गएका युवामा शुक्राणु न्यून वा हुँदै नहुने समस्या बढी लिएर अस्पतालमा आउने गर्छन् ।’ 

त्यो बाहेक महिलामा पाठेघरको नली बन्द भएर, अण्डाको उत्पादन कम भएमा पाठेघरमा सिस्ट, मासु पलाएर यस्तो समस्या देखिने डा. थापाले बताउनुभयो । महिला तथा पुरुषले विवाह गरिसकेपछि एक वर्षसम्म कुनै पनि साधन प्रयोग नगरी बच्चा भएन भने नियमित शारीरिक सम्पर्क गर्दा पनि बच्चा भएन भने निःसन्तान समस्या भएको मान्न सकिने डा. थापाको तर्क छ । 

९० प्रतिशत निःसन्तान भएका दम्पतीका समस्या मेडिकल उपचार र परामर्शबाट समाधान हुनेगर्छ । १० प्रतिशतमा आईयूआई, आईभिएफ आवश्यक पर्ने डा. थापा बताउनुहुन्छ ।

उमेर कटिसकेका महिला, महिनावारी गडबडी हुने समस्या भएका, पुरुषमा शुक्राणु सम्बन्धी समस्या छ भने यस्ता दम्पतीले ६ महिना नियमित शारीरिक सम्पर्कमा बस्दा पनि बच्चा भएन भने तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने डा. थापाको सुझाव छ । 

अस्पतालमा जाँच गरेर हेर्दा महिला तथा पुरुषलाई दुवैमा बराबर समस्या लिएर आएको उहाँ बताउनुहुन्छ । १५ देखि २० प्रतिशतमा महिला तथा पुरुषमा सबै ठिक हुँदाहुँदै पनि बच्चा नबस्ने समस्या देखिन सक्ने डा. थापा बताउनुहुन्छ । यस्तो अवस्थामा जाँच गरेर त्यहीअनुसार उपयुक्त हुने उपचार गरिने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, ‘कतिजना दम्पतीलाई बच्चा बस्ने समय थाहा नहुँदा पनि बच्चा नबसेका धेरै उदाहरण छन् । सो समयको विषयमा अस्पतालको परामर्शपछि बच्चा बसेका पनि छन् ।’ 

९० प्रतिशत निःसन्तान भएका दम्पतीका समस्या मेडिकल उपचार र परामर्शबाट समाधान हुनेगर्छ । १० प्रतिशतमा आईयूआई, आईभिएफ आवश्यक पर्ने डा. थापा बताउनुहुन्छ । निःसन्तान सम्बन्धीमा समस्याको विषयमा केन्द्रित भई आईभिएफ तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापासँग गरिएको भिडियो संवाद :

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।