• ४ कात्तिक २०८२, मङ्गलबार

त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता

blog

गुणबहादुर रोका 
सुलीकोट, कात्तिक ४ गते ।
गोरखाको गण्डकी गाउँपालिका – १ मकैसिङ निवासी ४२ वर्षीय दिनेश अधिकारी त्रिशुली नदीमा हामफाले बेपत्ता हुनुभएको छ ।

शहिद लखन गाउँपालिका – ४ राईनास र चितवनको ईच्छाकामना गाउँपालिका – ३ जोड्ने झलुङ्गे पुलबाट सोमबार दिउँसो १ बजे त्रिशुली नदीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

झलुङ्गे पुलमा बेपत्ता अधिकारीले प्रयोग गर्ने मोबाइल र कपडा समेत फेला पारेको र काका भिमसेन अधिकारीले पहिचान गरेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले खबर प्राप्त हुनसाथ प्रहरी टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सप्रनि अस्मित चौहान मगरको कमाण्डमा गोतखोरसहितको टोली त्रिशुली नदीमा खोजतलास भइरहेको जानकारी दिनुभयो ।

अधिकारीलाई स्थानीय, आफन्त र प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजतलास गर्दा समेत सोमबारसम्म पत्ता लाउन नसकिएकाले मङ्गलबार बिहानबाट खोजतलास गर्ने कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उक्त घटनाका कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ ।