• ४ कात्तिक २०८२, मङ्गलबार

सल्यानमा ५४ जना फरार व्यक्ति पक्राउ

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक ४ गते ।
जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाम  विभिन्न मुद्दामा फरार रहेका ५४ जना व्यक्तिलाई पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ । तीमध्ये जेनजी आन्दोलनअन्तर्गत फरार रहेका दुई जना कैदी पक्राउ परेका छन् भने अन्य  फैसला कार्यान्वयनका क्रममा फरार रहेका ५२ जना रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सल्यानमा प्रहरीले एक सातामा विभिन्न अवैध गतिविधिमा संलग्न व्यक्ति र सामानहरू नियन्त्रणमा लिएको छ । प्रहरीले ९ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ । छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट लागुऔषध जस्तो देखिने खैरो पदार्थ (ब्राउन सुगर) ९ ग्राम ६५० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ का ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका–२ का २८ वर्षीय संगीत परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरिक्षक डा. हेमबहादुर केसीको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले उनीहरूलाई दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

६८ प्याकेट पटका बरामद
शारदा नगरपालिका–१ श्रीनगर बजारस्थित ‘स्पन्दन गिफ्ट एण्ड कस्मेटिक पसल’ मा बिक्रीका लागि राखिएका विभिन्न ब्रान्डका ६८ प्याकेट पटका बरामद गरिएको छ । बरामद वस्तुमा मुन्ना कम्पनीका ४८ पिस, पाण्डा ४ प्याकेट, उजला ५ प्याकेट, सानो साउण्ड ४ प्याकेट, दप बराम २ प्याकेट, फ्यान्सी रकेट २ प्याकेट, बिग फ्ल्यास १ प्याकेट र ठुलो साउण्ड रकेट २ प्याकेट रहेका छन् ।

४८ केजी रातो च्याउ बरामद
बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजारमा जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ३९३८ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा रातो च्याउ ४८ केजी बरामद गरिएको छ । बर्दिया, बारबर्दिया नगरपालिका–८ का ३२ वर्षीय चालक शुकराज बिक सहित गाडी, सामान र चालकलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय अम्रामा पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, ९ हजार ४सय केजी अवैध सल्लाको आँख्ला बरामद भएको छ । जाजरकोटबाट बाँकेतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख २४९४ र ना.७ ख ९१०० नम्बरका दुई ट्रकबाट कागजात नभएका सल्लाका आँख्ला नौ हजार चार सय  केजी बरामद गरेको हो । दुवै गाडीका चालक र सामानलाई कानूनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक वावुराम वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको छ ।

औषधी बरामद
प्रहरीले घरेमदिरा बनाउन प्रयोग हुने औषधी बरामद गरेको छ । बनगाड कुपिण्डे नगरपालिका–१ सल्ली बजार नजिक सुर्खेत–जाजरकोट सडकखण्डमा सुर्खेतबाट जाजरकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख ७८२ नम्बरको फोर्स गाडी चेकजाँच गर्दा २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने औषधी (मर्चा) बरामद गरिएको छ । उक्त गाडीका चालक सुर्खेत, बिरेन्द्रनगर–९ का ३६ वर्षीय अमर सिजालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।