महेन्द्रनगर, कात्तिक ४ गते । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।
दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी हमासको नियन्त्रणसँगै उहाँको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उहाँको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुग्नुभयो, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलिकी जोशी परिवारको भनाइ छ ।
“बिहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्”, परिवारका सदस्य किशोर जोशीले भन्नुभयो, “लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।” दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन् ।
सोमबार दिउँसो काठमाडौँ पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्याइएको थियो । उहाँको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिनुभयो । उहाँका अनुसार विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ ।
बहिनी पुष्पाको भाइटीका लगाउने सपना अधुरै
दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन । दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् ।
यसपटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हरसम्भव प्रयास गरे । विडम्बना बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेकाबेला विपिन अस्ताएको दुःखद् खबर सुन्नप¥यो । हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकैै दिन कफिनमा घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ ।
विपिनको शव आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य किशोरले जानकारी दिनुभयो । “भाइ फर्किने ठूलो आशा थियो”, उहाँले भन्नुभयो, “तर सबै सपनामाथि बज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।” रासस