• १२ साउन २०८१, शनिबार

धरानमा सांस्कृतिक सचेतना अभियान सुरु

blog

निशा राई

धरान, जेठ २ गते । किराती संस्कृतिहरूको गलत प्रयोग विरुद्ध सचेतना अभियान सुरु गरिएको छ । किराँत राई सांस्कृतिक कलाकार सङ्घले किराँती संस्कृतिको गलत प्रयोग भइरहेको भन्दै सांस्कृतिक सचेतना अभियान सुनसरीबाट सुरु गर्न लागेको हो । 

गत वर्ष काठमाडौँबाट सुरु गरेको अभियान यस पटक सुनसरीसहित १ नं.प्रदेशभरिका सबै जिल्लामा अभियान सञ्चालन गर्ने कलाकार संघका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले बताउनुभयो । कलाकार सङ्घले नजिकै आइरहेको साकेला उँधौलीलाई लक्षित गरेर सचेतना अभियानको सुरुवात गर्न लागेको उहाँले बताउनुभयो । मुन्दुम भनेको किरातीहरुको विश्व, जीवन र जगतलाई बुझ्ने दृष्टिकोण हो । यो हजारौँ वर्षको समष्टि र अनुभवहरूको शृङ्खला हो । यो कुनै एक व्यक्तिको ज्ञानबाट निःसृत नभई सामूहिक रूपमा पुर्खाहरूको अनुभवबाट आर्जित विकसित बौद्धिक विरासत रहेको उहाँले बताउनुभयो ।

मुन्दुमलाई किरात संस्कृतिको मुख्य आधार मानिन्छ र मुन्दुमभित्र जन्मदेखि मृत्युसम्मको संस्कार, संस्कृति सहित व्यवहारिक जीवनका राजनीतिक, सामाजिक विकास, आर्थिक प्रणाली, न्याय प्रणाली, सम्पूर्ण सांस्कृतिक जीवन पद्धतिलाई मुन्दुमले निर्देशित गरिएको हुन्छ । मुन्दुम दर्शनमा प्रकृतिको सम्मान प्रकृतिवाद, पितृको सम्मान–पितृवाद, आत्माको सम्मान–आत्मावाद र भौतिकवाद र विज्ञानको समावेश हुने सङ्घले जनाएको छ ।

त्यसले किराती राई संस्कृतिसँग जोडिएर आएको मौलिक बाजागाजा, भेषभूषा, फेटा (पगरी), मौलिक चाड साकेला सिली, मुन्दुमी सामाग्री बाबुक, सोलोया, चिन्डो आदि मूर्त तथा अमूर्त संस्कृतिको प्रयोग गर्दा मुन्दुमी विधि (प्राणप्रतिष्ठा) भएकोले सोही आचारसंहिता अनुसार प्रयोग गर्नु सान्दर्भिक हुने सङ्घले जनाएको छ । किराती संस्कृतिहरूको गलत प्रयोगविरुद्ध र किराती संस्कार संस्कृति प्रयोगमा एकरूपता ल्याउन सुनसरी जिल्लाभरि आयोजना हुने साकेला कार्यक्रमहरूमा पुगेर सचेतना जगाउने गर्छौँ, गलत प्रयोग भएको पाइयो भने सम्झाउने, बुझाउने गर्ने अध्यक्ष राईले बताउनुभयो । 

किराती संस्कार अनुसार चिन्डो, फेटा लगायतको प्रयोग मुन्धुमी मान्यता, व्याख्या र दर्शनको आधारमा हुनुपर्छ । हामीमा यसको गलत प्रयोग भइरहेको पाएका छौँ, यसले हामीमा विचलन ल्याइरहेकोले यसलाई तत्कालै सच्याउनुपर्छ भनेर अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । 

किराती शुद्धताको प्रतीक पवित्र चिन्डो ‘बाबु'लाई प्रयोग गर्दा खाली भुईँमा राख्न नहुने, टेक्न नहुने, अपमान गर्न नहुने पवित्र चिण्डोको प्रतीकलाई कतिपयले साडीको पारीमा प्रयोग गरेको भेटियो, यसले पवित्र चिण्डोको अपमान हुन्छ यसैले चिण्डोको प्रतीक पोसाकमा कम्मरदेखि माथि मात्रै राख्नुपर्छ यसकारण पछिल्लो समय किराती भेषभूषा, फेटा, ढोल झ्याम्टा, चिन्डोलगायतको प्रयोग बारेमा सचेतना गराउने सङ्घले जनाएको छ । 

मौलिक बाजागाजा विभिन्न राजनीतिक दलको कार्यक्रममा प्रयोग भइरहेको भन्दै यो कार्य नगर्न अध्यक्ष राईले अपिल गर्नुभयो । साकेला उँधौली र उँधौलीमा मौलिक भेषभूषा, सांस्कृतिक बाजागाजा, पगरी, फेटा, साकेला सिली, गीत जस्ता मुन्दुमी दृष्टिकोणले प्रयोग हुने मूर्त र अमूर्त संस्कृतिको गलत प्रयोग भइरहेकोले यसलाई रोक्न सचेतना कार्यक्रम गरिने उहाँले बताउनुभयो ।