जयकृष्ण यादव
इनरुवा, कात्तिक १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिरमा तिहारको अवसरमा कार्तिक ३ गतदेखि ६ गतेसम्म तीन दिने तथा दुई देशीय कुस्तीको तयारी भएको छ । यादव समुदायको बाहुल्य रहेको र तिहारमा रमाइलोसँगै खेलकुद गर्दै आइएकोमा विगतको वर्ष झै यसवर्ष पनि दुई देशीय कुस्तीको तयारी भएको हो ।
काली थान परिसरमा यसवर्ष पनि भव्य धार्मिक तथा सांस्कृतिक मेलासँगै दुई देशीय कुस्तीको तयारी गरेको आयोजक समितिका अध्यक्ष सचेन्द्र यादवले जानकारी दिनुभयो । यादवका अनुसार मौलिक खेलकुद लोपोन्मुख अवस्थामा पुगेको र त्यसमा कुस्ती सङ्कटमै परेकाले प्रतियोगिता र मनोरञ्जन दुवै हुने भएकाले दुई देशीय कुस्तीको तयारी गरेको हो ।
मेलाको विशेष आकर्षणका रूपमा नेपाल र भारतीय कुस्ती दङ्गल (मल्लयुद्ध प्रतियोगिता) आयोजना गरिएको जनाएको छ । यसमा नेपालका विभिन्न जिल्लाका नाम चलेका खलिफा(पहलवान)सँगै भारतको दिल्ली, पन्जाब, हरियाणा र लुधियानाबाट समेत प्रसिद्ध पहलमानहरूको सहभागिता रहने जनाएको छ । भारत र नेपालका पहलवानबिच हुने प्रतियोगितामा ३० जोडी खेलका लागि ६० कुस्ती खेलाडी सहभागी हुने दर्शकलाई निःशुल्क रूपमा प्रत्यक्ष आवलोक गर्न दिने भएको छ ।
कुस्ती प्रतिस्पर्धा हेर्न हजारौं दर्शक आउने आयोजकले अपेक्षा गरेको छ । मेला आयोजना समितिका प्रमुख रामेश्वर मर्वैताले मेला संयोजक सचेन्द्र यादवको संयोजकत्वमा २५ सदस्य समिति बनाएको मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट ठुलो सङ्ख्यामा श्रद्धालु र दर्शकहरू आउने भएकाले व्यवस्थापनका लागि स्थानीय सहित सुरक्षा निकायसँग समेत समन्वय गरेको छ ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रम, झाँकी, स्टल तथा मेला मनोरञ्जनका विभिन्न साधनहरू रहेकाले धार्मिक दर्शक र आन्तरिक पर्यटक समेत आउने अपेक्षा गरिएको छ । मेला समितिका अनुसार मेलाले धार्मिक आस्था मात्र नभई, भाइचाराको सन्देश र सांस्कृतिक एकताको प्रतिकका रूपमा कार्य गर्ने र कुस्तीको छुट्टै आकर्षक रहेको छ । समितिले सबै कुस्ती, दङ्गल प्रेमी तथा दर्शकलाई मेलामा सहभागी हुन आग्रह गरेको छ ।