लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक १ गते । जनकपुरधामको सोनारपट्टीस्थित ज्वेलर्स पसलमा प्रहरीले गरेको छापामारीपछि व्यापारी र प्रहरीबिच गएराति भएको झडपमा प्रहरी र उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।
धनतेरशको पूर्वसन्ध्या शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सञ्जय पायल ज्वेलर्समा धनुषा प्रहरीले छापा मार्दा व्यापारी र प्रहरीको झडपमा सङ्घका अध्यक्ष भण्डारी र केही प्रहरी समेत घाइते भएका हुन् ।
व्यापारीहरूका अनुसार प्रहरीको एकतर्फी कारबाहीका कारण व्यापारी समुदाय आक्रोशित बनेका छन् । झडपपछि जनकपुरधामको मुख्य बजार क्षेत्रमा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो।
सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बमको नेतृत्वमा आएको प्रहरी टोलीले सङ्घका अध्यक्ष भण्डारीमाथि ‘साङ्घातिक आक्रमण’ गरेको आरोप लगाएको छ ।
सङ्घका अनुसार असोज ३१ गते साँझ करिब ६ः१५ बजे डिएसपी बमको टोलीले जनकपुरधाम सञ्जय पायल ज्वेलर्समा जबरजस्ती प्रवेश गरी पसलको तिजोरी तथा काउन्टरमा रहेका चाँदीका गहना लुटपाट शैलीमा लैजान खोजेको थियो । व्यापारीले त्यसविरुद्ध आपत्ति जनाएपछि घटनास्थलमा पुगेका अध्यक्ष भण्डारीले प्रहरी टोलीलाई “सामान लैजानु अघि मुचुल्का गर्न, भर्पाइ दिन र कानुनी प्रक्रिया पूरा गर्न” आग्रह गर्दा प्रहरी टोलीले उहाँमाथि लाठी र बुटले कुटपिट गरेको सङ्घले दाबी गरेको छ ।
कुटपिटबाट अध्यक्ष भण्डारी गम्भीर घाइते भण्डारी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो । सङ्घले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै डिएसपी गणेश बम, प्रहरी निरीक्षक मनोजकुमार यादव लगायत संलग्न प्रहरीकर्मीहरूलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग समेत गरेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ, “व्यापारीको सम्पत्ति जबरजस्ती लुटपाट शैलीमा लैजान खोज्ने प्रहरीको कार्य निन्दनीय छ । यस घटनाले जनकपुरधामका व्यापारीहरूमा भय र असुरक्षा उत्पन्न भएको छ ।” सङ्घले दोषीमाथि तत्काल कारबाही नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
यता प्रहरी नायब उपरीक्षक (डीएसपी) बमका अनुसार सञ्जय पायल ज्वेलर्समा छापा मार्ने क्रममा प्रहरीले करिब सात किलो चाँदी बरामद गरेको थियो । बरामद गरिएको चाँदीको मुचुल्का गर्न प्रहरी पक्षले सुनचाँदी व्यवसायी सङ्घका प्रतिनिधिहरूलाई समेत बोलाएको थियो र व्यवसायी सङ्घका पदाधिकारीहरूले सहयोग पनि गरिरहेका थिए ।
“बरामद चाँदीको विवरण तयार गर्न व्यवसायी सङ्घका पदाधिकारीहरूलाई पनि बोलाइएको थियो,” डिएसपी बमले भन्नुभयो, “तर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी आएपछि उहाँले उच्छृङ्खल व्यवहार देखाउँदै प्रहरीलाई काम गर्न नदिने अडान लिँदै प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि झडप भएको थियो ।”
सो घटनालाई नियन्त्रण गर्न बेला प्रहरीले सात राउन्ड हवाई फायर र दुई राउन्ड आश्रु ग्यास समेत छोडेको थियो । सङ्घले सो घटनाबारे शनिबार जिल्ला प्रशासन कार्यालयमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।