जनार्जन खत्री
सर्लाही, कात्तिक १ गते । सर्लाहीको हरिपुरमा आयोजित दोस्रो मेयर कपको उपाधि वडा २ ले हात पारेको छ । वडा ३ लाई ३–० ले पराजित गर्दै हरिपुर नगरस्तरीय मेयर कपको उपाधि वडा २ ले जितेको हो ।
हरिपुर नगरपालिका–७, चिताइन खेल मैदानमा आयोजित फाइनल खेलमा वडा–२ लाई च्याम्पियन बनाउन शिवजी कुमर, रोहन बुढाथोकी र दिलिप धामीले एक–एक गोल गर्नुभयो ।
विजेता हरिपुर–२ ले प्रतियोगिताको ट्रफीसहित नगद एक लाख रुपियाँ प्राप्त गरेको छ । उपविजेता हरिपुर–७ ले ५० हजार रुपियाँमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच वडा २ का शिवजी कुमर, म्यान अफ दी सिरिज हरिपुर २ कै विकल्प थापा र सर्वाधिक गोलकर्ता हरिपुर–७ का श्रीतम चौधरीलाई समेत पुरस्कृत गरिएको छ ।
लक्ष्मीनाथ युवा क्लब हरिपुर–७, चिताइनले नगरपालिका कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगिताको विजेता, उपविजेता र खेलाडीलाई संविधानसभा सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, हरिपुर–२ का वडाध्यक्ष निलबिक्रम थापा, हरिपुर–७ का वडाध्यक्ष मनोजकुमार चौधरी, आयोजक क्लबका अध्यक्ष नरहरि धामी, हरिपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख नागेश्वर राय, वरिष्ठ लेखा अधिकृत भूपेन्द्र सिंह, लेखा अधिकृत रञ्जित राय लगायत भएर पुरस्कार वितरण गर्नुभएको छ ।