• १ कात्तिक २०८२, शनिबार

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

blog

काठमाडौँ, कात्तिक १ गते । चालु आर्थिक वर्ष २०८२-८३ को सुरुवाती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । 

कार्यालयका अनुसार असोज मसान्तसम्ममा चालुगत शीर्षकमा वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको छ । यस्तै, पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् एक १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्था शीर्षकमा २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड बराबर खर्च भएको छ ।

यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ असुली भएको हो ।

आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख असुली भएको छ ।

यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकाेमा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख प्राप्ति भएको छ । रासस