• १ कात्तिक २०८२, शनिबार

घामडाँडामा बहुप्रकोप सूचना प्रणाली जडान

blog

चन्दननाथ–६, घामडाँडामा जडान गरिएको सूचना प्रणाली । तस्बिरः नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), कात्तिक १ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले बुहप्रकोप साइरन उपकरण जडान गरेको छ । चन्दननाथ नगरपालिका–६ घामडाँडामा जडान गरिएको साइरनले करिब एक किलोमिटर वरिपरिका बस्तीका नागरिकलाई सूचना दिने छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अडियो आपतकालीन चेतावनी र सूचना प्रणालीसहितको साइरन जडान गरिएको बताउनुभयो। बाढी, पहिरो, आगलागी, असिनापानी लगायतका विपद्सम्बन्धी सूचना समयमै नागरिकसम्म पुगोस् भन्ने उद्देश्यले साइरन प्रणाली स्थापना गरिएको जानकारी गराउनुभयो । चन्दननाथ नगरपालिकाको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रबाट उक्त उपरकण सञ्चालन गरिएको छ। बुहप्रकोप सूचनाहरूका बारेमा सचेत गराउन साइरन जडान गरिएको हो ।

मौसम पूर्वनुमान, बाढी पहिरो, आगलागी र असिनापानीलगायत विपद्को सूचना दिन बुहप्रकोप सूचना प्रणाली (साइरन) जडान गरिएको बुढथापाले बताउनुभयो । उपकरणमार्फत माइकिङ गर्न मिल्ने, साइरन बज्ने र नागरिकको मोबाइलमा म्यासेज जाने बनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाद्वारा सञ्चालित सुपर परियोजना र चन्दननाथ नगरपालिकाको ६ लाख ९१ हजार रुपियाँमा बुहप्रकोप साइरन जडान गरिएको छ।

वर्षा, बाढीपहिरो, दुर्घटना, आगलागी र असिनापानी जस्ता घटनाको पूर्वसूचना दिने उद्देश्यले बहुप्रकोप सूचना प्रणाली जडान गरिएको नेपाल रेडक्रस सोसाइटी जुम्लाका सुपरपरियोजना जिल्ला परियोजना अधिकृत इशोरा सुवेदीले बताउनुभयो । नगरपालिका भित्रका नागरिकलाई वर्षा, बाढी पहिरो, दुर्घटना, आगलागी र असिनापानीजस्ता आपतकालीन घटनाबारे अग्रीम जानकारी दिने उद्देश्यले बहुप्रकोप सूचना प्रणाली जडान गरिएको हो ।

विपद्बाट हुन सक्ने मानवीय र गैर मानवीय क्षति कम गर्न बहुप्रकोप सूचना प्रणाली जडान गरिएको हो । विपद्बाट जोगिन पूर्व चेतावनी प्रणाली (साइरन) जडानले नागरिकलाई सचेत गराउने नगर प्रमुख राजुसिंह कठायतले बताउनुभयो । साइरन बजेको एक किलोमिटर वरपरसम्म सुन्न सकिन्छ । पूर्व सूचना प्रणाली (साइरन) ले विपद्को जानकारी गराएपछि सर्वसाधारणलाई सचेत हुन सहयोग पुग्ने कठायतको भनाइ छ ।

यसैगरी चन्दननाथ नगरपालिकाले वडा ८ र ९ लाई पनि बहुप्रकोपको सूचना दिने उपकरण (साइरन) बयलकाटियामा पनि जडानको तयारी गरेको छ ।