• १३ वैशाख २०८१, बिहिबार

चार हजार ३०८ ले दिए जाजरकोटमा एसईई परीक्षा

blog

दुई वर्षपछि भौतिक उपस्थितिमा काठमाडाैंकाे एक परीक्षा केन्द्रमा एसईई परीक्षा दिँदै, तस्विर – सुजन गुरुङ

वासुदेव शर्मा 

जाजरकोट, वैशाख ९ गते । आज शुक्रबारदेखि शुरु भएको एसईई परीक्षामा यहाँस्थित ७४ माध्यमिक विद्यालयका चार हजार ३०८ जना विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । 

विगत दुई वर्ष कोरोना भाइरसको महामारीले सञ्चालन हुन नसकेको एसईई परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा भएको छ । यस परीक्षा वैशाख २० गते सम्म सञ्चालन हुनेछ । 

दुई हजार २४८ छात्र र दुई हजार ६० छात्रा गरी कुल तीन हजार ४०८ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । 

त्रिभुवन माध्यामिक विद्यालय खलङ्गा परीक्षा केन्द्रबाट एक सय ४९ जना मध्ये छात्रा ७६, छात्र ६० जना ग्रेटवृद्धि दुई, प्राविधिकतर्फ २३, शिक्षा तर्फ १११ जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन् ।परीक्षामा छात्र छ र छात्रा सात जना अनुपस्थित भएका छन् ।   

यस वर्ष सम्बन्धित विद्यालयको प्रधानाध्यापक केन्द्र अध्यक्ष रहने व्यवस्था गरेकाले परीक्षालाई मर्यादिन व्यवस्थित गरी परिक्षा प्रणालीलाई सुधार गर्न सरोकारवालसँगको छलफलबाट आवश्यक जनशक्ति व्यवस्थापन गरेको कार्यालय प्रमुख मल्लले बताउनुभयो । 

बीस वटा परीक्षा केन्द्रमा अठ्ठाईस सहायक केन्द्राध्यक्ष, दुई सय नौ जना निरीक्षक र ४२ जना परीक्षा सहायकको व्यवस्था गरेका छाैं, समन्वय एकाइ प्रमुख मल्लले भन्नुभयो ।

बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी दुई सय नौ जना निरीक्षक तोकिएको छ । परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न परीक्षा अवधिभर बीस जना विद्यार्थी बराबर एक जना निरीक्षक रहने गरी प्रत्येक परीक्षा केन्द्रमा १५ जनाको दरले निरीक्षक रहनेछन् । 

परीक्षा हलभित्र निरीक्षकले विद्यार्थीलाई चिट चोराउन मद्दत गरेको, चिट ओसारपसार गरेको सूचना प्राप्त भए निरीक्षकलाई निष्कासन गर्ने उहाँको भनाइ छ । होम सेन्टर नहुँदा टाढाको परीक्षा केन्द्रमा जानुपर्ने भएका कारण विद्यार्थीलाई खाना बस्नाको समस्या हुने गरेको छ ।