• ८ जेठ २०८१, मङ्गलबार

उपनिर्वाचन : कांग्रेस उम्मेदवार छनोटमा कमजोर

blog

कोकिला ढकाल
इलाम, वैशाख १९  गते । 
उपनिर्वाचनमा उम्मेदवारी छनोटमा कमजोर भएको नेपाली कांग्रेसको बुझाइ छ । उपनिर्वाचनमा ढिला गरी उम्मेदवार टुङ्ग्याएको कांग्रेसले इलाम–२ मा सोचेजस्तो मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको कांग्रेसको भनाइ छ ।

उपनिर्वाचनमा दोस्रो दल बनेको कांग्रेस जिल्ला सचिव पूर्णप्रसाद गौतमले उम्मेदवारी छनोट प्रक्रिया ढिलो हुँदा कांग्रेस सबै जनताको घरमा पुग्न नसक्दा मतपरिणाम आफ्नो पक्षमा पार्न नसकेको बताउनुभयो ।

उपनिर्वाचनमा नयाँ दल आउनु अस्वाभाविक नभएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘नयाँ दल र स्वतन्त्र उम्मेद्वारहरु थुप्रै आए पनि मतपरिणामले पुराना दललाई काम दिएनन् भन्ने जनमोदन भएन । दलहरूले अवश्य सचिनुपर्छ, जनअपेक्षा सम्बोधन नहुँदा चुकेको हुन सक्छ ।’’

जनतामा कति असन्तुष्टि रहेका भन्ने कुरा मतपरिणामले देखाएको गौतम बताउनुहुन्छ । आफ्नो पार्टीको नसोचेको ढङ्गको मतान्तर रहेको गौतमको भनाइ छ ।

पार्टीको व्यवस्थापकीय पक्ष गतिशील नहुँदा सोचे अनुरूप मत प्राप्त हुन नसकेको धारणा उहाँको छ । यद्यपि, उपनिर्वाचन अत्यन्तै राम्रो ढङ्गले सम्पन्न भएको गौतमले बताउनुभयो ।

उपनिर्वाचनमा पुरानै दलमा आस्था बढी

त्यसो त, इलाम–२ मा सम्पन्न उपनिर्वाचनको मत परिणामलाई हेर्दा पुराना दल अर्थात् नेकपा (एमाले) र नेपाली कांग्रेसमै मतदाताको आस्था बढी देखिन्छ । पछिल्लो समय कोशी प्रदेशमा देखिएको पहिचानको सवाललाई यो निर्वाचनले सहभागी गराएपनि सम्बोधन गर्न नसकेको टिप्पणीकर्ताको भनाइ छ । 

जिल्लामै बसेर लामो समय प्राध्यापन र वकिल पेसामा रहनु भएका जसबहादुर लुङ्गेली यो उपनिर्वाचनलाई लघु जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने बताउनु हुन्छ । ‘‘यो मत परिणामलाई हेर्दा राजासहितको शासनको कुराले बल पाएन, पहिचानमा कोशी प्रदेश नामकरण खारेजले पनि बल पाएन, वैकल्पिक शक्तिको रूपमा आएको रास्वपाले सङ्गठन नहुँदा उसलाई सजिलो भएन ।,’’ लुङ्गेलीले भन्नुभयो, ‘‘पुराना दलमै जनताको आस्था र भरोसा देखायो तर, यी दलहरू कहाँ चुकेका छन् र यिनीहरूबाट छुट्टिएको मत पहिचान तिर गयो भन्ने विषय दलहरूले केलाउनु पर्नै अवस्था देखिन्छ ।’’

पहिचानका पक्षमा परेको मत हेर्दा जनताका आकाङ्क्षा दलहरूबाट सम्बोधन गर्नुपर्ने र पहिचान, भाषा, धर्म र संस्कृतिको सवाललाई नजरअन्दाज गर्न नहुने अवस्था देखिएको लुङ्गेलीको भनाइ छ ।

यता २५ वर्ष देखिको आफ्नो विरासत जोगाएको नेकपा (एमाले)का जिल्ला सचिव उमेश गुरुङले यो उपनिर्वाचनलाई जनमत सङ्ग्रहकै संज्ञा दिनुहुन्छ । ‘‘यो जनमत सङ्ग्रह जस्तै हो, हाम्रो पार्टीको अवस्था बुझ्ने र विश्लेषण गर्ने अवसर यो निर्वाचनले दिएको छ ।’’ गुरुङले भन्नुभयो, ‘‘एमाले कमजोर छैन भन्ने कुरा बाहिर आयो, तर साङ्गठनिक रूपमा मात्र सबल भएर हुँदैन विकास सँग जोडिनु पर्छ भन्ने सन्देश आएको छ ।’’

योग्य उम्मेदवार नपठाउँदा मतदातामा वितृष्णा

निर्वाचनका बारेमा सामाजिक अगुवा धर्म गौतमको विचार भने केही फरक छ । दलहरूले योग्य उम्मेदवार नपठाउँदा मतदातामा एक किसिमको वितृष्णा भएको उहाँको भनाइ छ । त्यसकै कारण रास्वपा र पहिचान पक्षधरलाई केही मतदाताले अङ्गालेको पाइयो । ‘‘अहिले पहिचानको मुद्दा उठ्नु स्वाभाविक हो । यसलाई कसरी लिने भन्ने फरक हो । एकल पहिचानको पक्षमा आला काँचाले बुझेका छन् तर बहुपहिचानको मुद्दा सही हो ।’’ गौतमले भन्नुभयो, ‘‘पहिचानको मुद्दा नराम्रो होइन, यसलाई बेवास्ता गर्न हुँदैन, सम्बोधन गर्नुपर्छ ।’’

वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यसअघि स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।

सुहाङसँगै चुनावी मैदानमा रहनुभएका पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत आएको छ । यस्तै, रास्वपाका मिलन योङहाङ लिम्बुको पाँच हजार ५० मत आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ४०४ मत आएको थियो  । यहाँ ६९ हजार ३७४ मत खसेको थियो ।