• ५ जेठ २०८१, शनिबार

संयुक्त लगानी गर्ने प्रतिबद्धता

blog


रमेश विश्वकर्मा

गुल्मी, वैशाख ६ गते । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरुले संयुक्त लगानी गर्नुपर्नेमा प्रतिबद्धता जनाएका छन् । गुल्मीमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यतासम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

जिल्लाको पर्यटन विकासका लागि वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेल, होटल पौवाका प्रमुख कार्यकारी अधिकृत विष्णु ज्ञवाली, पर्यटन व्यवसायी निश्चल श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष श्रीप्रसाद भलामी र कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरलगायतका उपस्थित व्यवसायीहरुले पर्यटन क्षेत्रको विकासका लागि संयुक्त लगानी गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

गुल्मीको पर्यटन माग र साहसिक पर्यटनसम्बन्धी वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा पर्यटन व्यवसायी योगराज कँडेलले जानकारी गराउनुभयो । “पर्यटक आउने र जाने मात्र नभई पर्यटकले खर्च गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ ।” पर्यटन व्यवसायी कँडेलले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा व्यवस्थापन हुनु जरुरी छ । पर्यटन क्षेत्रमा चुनौती भए पनि उत्तिकै फाइदा हुने गर्दछ ।”

गुल्मीको पर्यटनमा लगानी, चुनौती र स्थानीयको भूमिकासम्बन्धी होटल पौवाका प्रमुख कार्यकारी अधिकृत विष्णु ज्ञवालीले जानकारी  गराउनुभयो ।

“सबै मिलेर व्यवसाय गरेमा अनिवार्य सफल हुन सकिन्छ ।” ज्ञवालीले भन्नुभयो, “आन्तरिक कृषिलाई पर्यटनसँग जोड्न आवश्यक छ ।” आफूहरुले देशभर होटल पौवाका एक सय शाखा विस्तार गर्ने गरेर लागेको बताउनुभयो ।

पर्यटन व्यवसाय सञ्चालन, रोजगारी, सम्भावना र व्यवस्थापनसम्बन्धी पर्यटन व्यवसायी निश्चल श्रेष्ठले प्रस्तुति राख्नुभयो । पर्यटन व्यवसायी श्रेष्ठले पर्यटन क्षेत्रले विश्वभर १० प्रतिशतमा रोजगारी दिएको कारणले पर्यटकीय क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो,  “पर्यटन क्षेत्रमा सामान्य लगानीमा पनि राम्रो काम गर्न सकिन्छ । पर्यटनसँग जोडिएका उद्योगहरु सञ्चालन गर्न सजिलो छ ।” पर्यटन क्षेत्रले गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने भएकाले होटल व्यवस्थापन कक्षा जिल्लामा सञ्चालन गर्न आफू तयार रहेको बताउनुभयो ।

लगानीका लागि बैंकर्स एसोसिएसनका तर्फबाट आनन्द उपाध्याय र कालिदास पाण्डेले बैंकले लगानी गर्न तयार रहेको बताउनुभयो । कृषि विकास बैंकका पूर्व महाप्रबन्धक कृष्ण कुँवरले गुल्मीमा पर्यटक नआउने कारणको अध्ययन गर्नपर्ने आवश्यक रहेको बताउनुभयो ।

“हामीसँग भएको स्रोत साधनलाई उच्चतम प्रयोग गरेर पर्यटक ल्याउन सकिन्छ ।” कुँवरले भन्नुभयो, “पर्यटकीय क्षेत्रलाई भत्काउने र बिगार्ने नगरिकन पर्यकटकलाई आकर्षित गर्न सकिन्छ ।” भएको स्रोतसाधनलाई उच्चतम प्रयोग गर्न सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेमा उहाँको दाबी छ ।

टिप्पणीकर्ता उद्योग वाणिज्य सङ्घका गुल्मीका पूर्वअध्यक्ष श्रीप्रसाद भलामीले एक्लो भएर व्यवसाय गर्ने युग हराइसकेकाले सबै मिलेर संयुक्त व्यवसाय गर्नुपर्ने बताउनुभयो । “लगानीकर्तालाई आकर्षित गरेर जिल्लामा व्यवसायलाई अगाडि बढाएर पर्यटनको सङ्ख्या वृद्धि गर्न सकिन्छ ।”  टिप्पणी गर्दै भलाद्मीले भन्नुभयो, “लगानी लगाएर शिक्षा र स्वास्थ्यमा विकास गरेर आन्तारिक पर्यटक र बाह्य पर्यटक भित्र्याउन सबै लाग्नुपर्दछ ।”

उहाँले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।

गुल्मी जिल्ला सामुद्रिक सतहबाट ४ सय ६४ मिटरमा रिडी र २ हजार ६ सय ९० मिटरमा अग्लो थाप्ले लेक रहेकाले पर्यटन क्षेत्रमा थुप्रै सम्भावाना बोकेको जिल्ला हो । जिल्लामा पाल्पा–रिडी–तम्घास–धुर्कोट–मदाने–मालिका–मुसिकोट–रुद्रवेणी–कालीगण्डकी–सिद्धार्थ राजमार्ग, सिद्धार्थ राजमार्ग–रुद्रवेणी–मुसिकोट–इस्मा–मालिका–मदाने–धुर्कोट–तम्घास–रिडी, मध्यपहाडी राजमार्ग–वामीटक्सार–तम्घास–रिडी–रुद्रवेणी, सालझण्डी–ढोरपाटन–मदाने–मालिका–तम्घास–कालीगण्डकी, पाल्पा–रिडी–रुद्रवेणी–खैरेनी–ढोरपाटन र सन्धिखर्क–तम्घास–मजुवा–सालझण्डीलगायतका धेरै पर्यकटकीय मार्गहरु रहेकाले यसलाई जोड दिनुपर्ने पर्यटन व्यवसायीहरुले बताउनुभयो ।

गुल्मी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको चौथो गुल्मी महोत्सवको अवसरमा पर्यटन सम्भावना तथा लगानी सम्भाव्यतासम्बन्धी छलफल गरेको वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।