चाँदनी आचार्य
घोडाघोडी (कैलाली), कात्तिक १८ गते । जैविक विविधताले महत्त्वपूर्ण तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालमा तिहारपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।
यहाँ घुम्न आउने पर्यटकमध्ये धेरै जसो घोडाघोडी ताललाई नै गन्तव्य मानेर अवलोकनका लागि आउने गरेका छन् भने कतिपय विभिन्न ठाउँ घुम्दै गर्दा बाटोमा पर्ने घोडाघोडी ताललाई पनि समय छुट्याएर अवलोकन गर्ने गरेका छन् ।
बाँकेको कोहलपुरबाट कञ्चनपुरसम्म भ्रमणगरी फर्किएको पर्यटकको एउटा समुह घोडाघोडी ताल पुगेपछि प्राकृतिक ताल वरपर रमाइरहेका देखिन्थे । सोही समुहका सम्झना चौधरीले आफूले पहिलो पटक यती ठुलो प्राकृतिक ताल देखेको सुनाउनुभयोे । उहाँले भन्नुभयो “ सुनेको थिए तर घुम्न आएको थिएन । धेरै ठुलो ताल रैछ । यहाँ त दिनभर घुम्ने ठाउँ रैछ । अब अर्कोपटक आउँदा घोडाघोडी तालमा दिनभर घुम्नेगरी आउनु पर्छ ।”
घोडाघोडी ताल नजिकै पर्यटकका लागि वनभोज स्थलको व्यवस्थासमेत गरिएको छ । टेग्नुवा महिला सामुदायिक वन क्षेत्रमा रहेको वनभोज स्थलमासमेत हिजोआज वनभोज खानेको भिडभाड देखिन्छ। भजनीबाट वनभोज कार्यक्रममा आएका निशा चौधरीले घोडाघोडी ताल घुम्नका लागि वनभोज कार्यक्रम राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “साथीहरूसँग वनभोज कार्यक्रममा खानपिन नाचगानपनि हुने अनी घोडाघोडी तालपनि घुम्न पाइने भएर घोडाघोडी आएका छाैं ।”
घोडाघोडी ताल घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएपछि यहाँका ठेला व्यवसाय पनि राम्रै चलेका छन् भने स्थानीयले तस्बिर खिचेर, पोशाक भाडामा लगाउन दिएर राम्रो आम्दानी लिने गरेका छन् । स्थानीय गीता घर्तिले तिहारपछि पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले दैनिक तीन देखि पाँच हजार रुपियाँसम्म पोशाक भाडामा दिएर र तस्बिर खिचेर आम्दानी हुने गरेको बताउनुभयो ।
घोडाघोडी तालमा घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबापत दस रुपियाँ लिने गरिन्छ । यस अघि घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चले उठाउँदै आएको शुल्क अहिले घोडाघोडी सामुदायिक वन उपभोक्ता समुहले उठाउने गरेको छ ।
उक्त वन समुहका अध्यक्ष दीपक शाहले घोडाघोडी नगरपालिकाले ठेक्कामा दिए पनि कोहि उठाउन नआएपछि सामुदायिक वनले शुल्क उठाउन थालेको बताउनुभयो । उहाँले हाल दैनिक एक हजार देखि दुई हजारसम्म पर्यटक घोडाघोडी घुम्न आउने गरेको जानकारी दिनुभयो । शाहले भन्नुभयो “ अरू दिनभन्दा बिदाका दिनमा अलि बढी भिडभाड हुन्छ । घोडाघोडी नगरपालिकाले हामीसँग समन्वय नगरी घोडाघोडीको आम्दानी उठाउन ठेक्कामा दिएको सुनेका थियौ । मञ्चलेपनि छोडेर गयो । त्यसपछि हामीले शुल्क उठाउन थालेका छौं ।”
शाहले उठेको शुल्कलाई त्यहिँको विकासमा लगाउने बताउनुभयो । उहाँले एक जना मानिसलाई मासिक आठ हजार रुपियाँ दिएर ताल वरपरको फोहर उठाउने जिम्मा दिएको समेत जानकारी दिनुभयो ।
घोडाघोडीमा विभिन्न निकायले शुल्क उठाउँदै आएकोमा घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि घोडाघोडी ताल क्षेत्रको एकद्धार रूपमा राजश्व सङ्कलनका लागि १५ लाख रुपियाँ हाराहारीको ठेक्का आव्हान गरेको थियो । बढीबढाउ ठेक्का रकम ४१ लाख रुपियाँको ठेक्का स्थानीय धनन्जय कठायतलाई परेको र सम्झौता हुन बाँकी रहेको अवस्थामा जेन्जी आन्दोलनका कारण नगरपालिकामा आगजनी भएपछि अहिलेसम्म ठेक्का कार्यान्वयनमा आएको छैन ।