• १८ कात्तिक २०८२, मङ्गलबार

आश्रम बनाउन एक करोड सङ्कलन

blog

बागलुङ नगरपालिका–४, निरयघाटमा निर्माणाधीन भवन सम्पन्न गर्नका लागि महायज्ञको बारेमा पत्रकार सम्मेलन गर्दै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), कात्तिक १८ गते । मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि एक करोड सङ्कलन भएको छ । 

भवन निर्माणलाई सार्थकता दिनका लागि आगामी कात्तिक २१ गतेदेखि २८ गते सम्म भवन निर्माण स्थल निरयघाटमा महायज्ञको आयोजना गरिएपनि महायज्ञ पूर्व नै एक करोड रकम सङ्कलन भइसकेको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजीप्रसाद अधिकारी पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । 

आश्रमका लागि बागलुङ नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका र  विभिन्न व्यक्तिले सहयोग गरिरहनु भएको छ । 

महायज्ञबाट सङ्कलन भएको रकमले भवनलाई पूर्णता दिएर अक्षयकोष निर्माण गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा १० करोड भन्दा बढी रकम सङ्कलन गर्ने लक्ष्य लिइएको छ । 

बागलुङ नगरपालिका–३, गुठी घर भई हाल अमेरिका रहँदै आउनुभएका समाजसेवी उज्वल खड्काले भवनको एक कोठा निर्माणका लागि आवश्यक ५ लाख ११ हजार १११ प्रदान गर्नुभएको छ । 

बागलुङ नगरपालिका–३ निवासी स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उहाँको छोरा रामचन्द्र, सुवासचन्द्र, सुरेशचन्द्र र प्रकाशचन्द्र राजभण्डारीले आश्रमको निर्माणाधीन भवनका लागि एक कोठा निर्माणार्थ ५ लाख ११ हजार १११ सहयोग गर्नुभएको थियो । 

यस्तै देउरालीचोक आमा समूहले एक लाख, गलकोट नगरपालिका वडा नम्बर ३ निवासी ससुरा स्वर्गीय तिलबहादुर साहनी, सासू स्वर्गीय डिलकुमारी साहनी तथा स्वर्गीय पति अमरबहादुर साहनीको सम्झनामा लीला साहनी तथा उहाँका छोरा यामबहादुर साहनीले आश्रमको भवन निर्माणका ५० हजार सहयोग गर्नु भएको छ । यस्तै बागलुङ नगरपालिका–३ घर भई हाल अमेरिका निवासी रुद्रा केसीले मानवसेवा आश्रमको भवन निर्माणका लागि ५१ हजार १११ प्रदान गर्नुभएको छ । 

कात्तिक २१ गतेदेखि २८ गते सम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञको प्रचारप्रसारसँगै सहयोग जुट्ने क्रमले तिब्रता पाएको छ ।  

आश्रमको भवन निर्माणका लागि हाल अमेरिका निवासी रेनुका अधिकारी, इन्द्रमणि अधिकारी र मनु अधिकारीले भवन निर्माणका लागि ५० हजार ५९८ सहयोग गर्नुभएको छ ।  

बागलुङ नगरपालिका–४, निरयघाटमा निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित यही कात्तिक २१ गतदेखि २८ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको हो । 

महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने कार्यक्रम तय गरिएको छ । दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । 

मानवसेवा आश्रम बागलुङले साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएको छ । हाल आश्रममा ६४ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरूको पालनपोषण र रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हुने गरेको छ ।

भवन निर्माणका लागि हालसम्म ५ करोड रकम खर्च भइसकेको र निर्माण पूर्ण रूपमा सम्पन्न गर्नका लागि अझै ४ करोड आवश्यक रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । महायज्ञमार्फत आवश्यक रकम सङ्कलन गरेर भवन निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि कोष सुदृढ बनाउने लक्ष्य लिइएको छ ।