• १८ असार २०८१, मङ्गलबार

ताप्लेजुङका दुई स्थानीय तहको आफ्नै प्रशासकीय भवन

blog

सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय भवन ।

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ६ गते ।
ताप्लेजुङमा पाँच वर्षको अवधिमा दुईवटा स्थानीय तहले आफ्नो प्रशासकीय भवन निर्माण गरेका छन् । जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकाले स्थायी प्रशासकीय भवन निर्माण गरेका हुन् ।

सङ्घीय राज्य पुनर्संरचनापछि स्थापना भएको स्थानीय तहले पहिलो कार्यकाल (पाँच वर्ष) मा जिल्लाका दुई स्थानीय तहले प्रशासकीय भवन निर्माण गरेका हुन् । बाँकी सातवटा स्थानीय तहले  आफ्नो प्रशासनिक भवन बनाउन सकेको छैन । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले वडा नं. ७ दोखुको गैरीगाउँमा प्रशासकीय भवन निर्माण गरेको छ ।

फुङ्लिङ नगरपालिकाले कुल सात करोड ६६ लाख रुपियाँ बजेटको लागतमा आफ्नो प्रशासकीय भवन निर्माण गरेको जनाएको छ । कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने २४ कोठे भवन निर्माण भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरिसकेको जानकारी दिनुभयो ।

यसैगरी, फुङ्लिङ नगरपालिकापछि दोस्रो ठूलो स्थानीय तह सिरिजङ्घा गाउँपालिकाले भने आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा कुल पाँच करोड ९४ लाख रुपियाँको लागतमा प्रशासकीय भवन निर्माण सम्पन्न गरी गत माघबाटै सोही भवनबाट सेवा प्रवाह सुरु गरेको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले आफ्नै स्थानीय प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दा धेरै सहज भएको बताउनुभयो ।

यता, सातवटा स्थानीय तहमध्ये केहीँले प्रशासकीय भवन निर्माण गर्न सुरु गरे पनि सम्पन्न भएका छैन । पाथीभरा याङ्वरक गाउँपालिका, मेरिङ्देन गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका लगायतले आफ्नो प्रशासकीय भवन निर्माण गर्न सुरु गरेका छन् ।

यस्तै, आठराई त्रिबेणी गाउँपालिकाले पनि प्रशासकीय भवन निर्माणको तयारी थालेको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले करिब छ महिना अघि नै ठेक्का सम्झौता भए पनि भर्खरैदेखि निर्माण कम्पनीले काम सुरु गरेको जानकारी दिनुभयो ।

मिक्वाखोला गाउँपालिकाले पनि भर्खर मात्र प्रशासकीय भवन निर्माणको प्रक्रिया सुरु गरेको जनाएको छ । गाउँपालिकाका भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख गजेन्द्र थलङले भवन निर्माणका लागि बोलपत्र (ठेक्का) आह्वान भई कामको जिम्मा तथा सम्झौता हुन बाँकी रहेको जानकारी दिनुभयो । सिदिङ्वा र मैवाखोला गाउँपालिकाले भने प्रशासकीय भवन निर्माण गर्नका लागि जग्गा नै प्राप्त गर्न नसकेको जनाएका छन् ।

सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले सुरुमा जग्गादाताबाट आश्वासन भए पनि पछि जग्गा नपाएकाले प्रशासकीय भवन निर्माण गर्न नसकिएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्बाङ (दिवस)ले मैवाखोला गाउँपालिकाले पनि अहिलेसम्म प्रयास गर्दा समेत जग्गा प्राप्न गर्न नसकेपछि प्रशासकीय भवन निर्माण गर्न असम्भव भएको बताउनुभयो ।

यसरी सिदिङ्वा र मैवाखोला गाउँपालिकाले हालसम्म जग्गा प्राप्त गर्न नभएका कारण प्रशासकीय भवन निर्माण गर्न नसकेको जनाएका छन् ।

आफ्नो स्थायी प्रशासकीय भवन निर्माण सम्पन्न गर्न नसकेका अन्य स्थानीय तहले पनि समयमै जग्गा प्राप्तिसहित आवश्यक बजेट व्यवस्था नहुँदा पाँचवर्षे कार्यकालमा भवन बनाउन नसकिएको सम्बन्धित पालिकाका पदाधिकारीले बताउनुभएको छ ।

फुङ्लिङ नगरपालिका–१ र वडा ४ ले भने यही अवधिमा वडा कार्यालय भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह गर्दै आएका छन् । अन्य स्थानीय तहका केही वडाले पनि आफ्नो वडा कार्यालय भवन निर्माण गरिरहेका छन् ।