• १८ कात्तिक २०८२, मङ्गलबार

वर्षाले धनकुटामा ४१ करोड ६८ लाखभन्दा बढीको बालीमा क्षति

blog

धनकुटाको महालक्ष्मीका कृषकले लगाएको धान खेती । तस्बिर :सन्तोष सुवेदी

सन्तोष सुवेदी 

धनकुटा, कात्तिक १८ गते । केहीदिन अगाडि परेको अविरल वर्षाका कारण धनकुटा जिल्लामा धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । 

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो । 

जिल्लामा दुई हजार ५९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४१५ मेट्रिक टन धान क्षति भएको छ ।

धान बाली कारण ४१ करोड ५२ लाख ९९ हजार रुपियाँ बराबरको क्षति भएको छ ।जसमा काटिसकेको धान चार हजार ५३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको सात हजार ७९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको धान चार दशमलव आठ मेट्रिक टन र पाक्न बाँकी हरियो धान ८६ दशमलव ४ मेट्रिक टन क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना मगरले जानकारी दिनुभयो ।

त्यसैगरी, जिल्लामा १३ दशमलव ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ३० दशमलव सात मेट्रिक टन कोदो बाली क्षतिग्रस्त भएको छ ।

१५ लाख ३५ हजार २ सय ४० रुपैयाँ बराबरको कोदो बाली क्षति भएको छ । धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको १२ हजार ४ सय ४४ मेट्रिक टन धान र कोदो क्षति हुँदा ४१ करोड ६८ लाख ३४ हजार २ सय ४० रुपियाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।